महोत्तरीमा जीविकोपार्जनका लागि सहयोग स्वरुप २० लाख रुपैंया प्रदान

सोमवार, चैत्र १२, २०७४



गौशाला । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलियाका गरीब, दलित, अल्पसंख्यक र पिछडिएका महिलाको जीविकोपार्जनका लागि एक संस्थाले आज रु २० लाख प्रदान गरेको छ ।

नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामीण पुनःनिर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रमको आर्थिक सहयोगमा भटौलियाका २० वटा नागरिक सचेतना केन्द्रका सदस्यलाई जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत प्रत्येक समूहलाई रु एक लाखको दरले २० वटा समूहलाई रु २० लाख प्रदान गरिएको हो ।

संस्थाले आज आयोजना गरेको रकम हस्तान्तरण कार्यक्रममा एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला साहले २० वटै समूहका महिला सदस्यलाई घुम्ती कोषका रुपमा रु २० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

भटौलियामा संस्थाकै सहयोगमा सञ्चालन गरिएको ५२ हप्ते रिफ्लेक्ट कक्षामा सहभागी भएका स्थानीय २० वटै नागरिक सचेतना केन्द्रका महिलाले आफैँले छलफल र निर्णयबमोजिम खोलिएका सानातिना खुद्रा पसल, हाट बजारमा गर्ने पसल, होटल, पशुपालन, हाँस कुखुरा पालन, सिलाइ बुनाइ, कृषिलगायतका व्यवसाय गर्दै आएकामा जीविकोपार्जनका लागि उनीहरुलाई रु २० लाख प्रदान गरिएको हो ।

प्रत्येक समूहले प्राप्त गरेको रकम आफ्नो समूहभित्रका सदस्यमा एक निश्चित तोकिएको अवधिपछि हस्तान्तरण गर्दै जाने र त्यसमा सानो आकारको ब्याजसहित उपलब्ध गराउने व्यवस्था छ ।

यसरी गरीब, दलित, अल्पसंख्यक र पिछडिएका महिलाले संस्थालाई नफर्काउने गरी आफ्नो जीविकोपार्जनका लागि संस्थाबाट रु २० लाख घुम्ती कोषका रुपमा पाएर निकै खुशी भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank