जेसीज सप्ताहमा महिला दौड र स्लो स्कुटी रेश

शनिबार, साउन १२, २०७५



बिर्तामोड।
वीरता जेसीज र वीरता लेडी जेसीजको जेसीज सप्ताह सन् २०१८ अन्तर्गत शनिबार खुल्ला महिला दौड र खुल्ला स्लो स्कुटी रेस प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति झापाका उपाध्यक्ष प्रशान्त भण्डारी भेषराजले प्रतियोगिताको उद्घाटन गरेका थिए । वीरता जेसीजका अध्यक्ष एकराज गिरी र वीरता लेडीकी अध्यक्ष नम्रता ढकालको अध्यक्षतामा भएको प्रतियोगिताको निर्णायकको भूमिका एथलेटिक्सका वरिष्ठ प्रशिक्षक लोकप्रसाद ओलीले निर्वाह गरेका थिए ।
स्लो स्कुटी रेसतर्फकी कार्यक्रम संयोजक युनिता दवाडीले स्वागत र अर्का संयोजक कुशल खतिवडाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महिला दौडकी संयोजक स्वस्तिका आचार्यले गरेकी थिइन् भने जेसीज आस्था वाचन अर्का संयोजक पुकार बरालले गरेका थिए । समारोहमा जेसीज आई मिसन भिजनको वाचन वीरता जेसीजका उपाध्यक्ष युवराज कुँवरले गरेका थिए ।
खुल्ला महिला दौडतर्फ बिर्तामोडकी दिपा अधिकारी प्रथम, सञ्जु राई द्वितीय र अर्जुनधाराकी सुरक्षा खनाल तृतीय भएको वीरता जेसीजका महासचिव विनोद पाण्डेले जानकारी दिए । २५ जनाभन्दा बढी महिलालाई सात सय मिटर दौडमा उछिन्दै उनीहरु विजेता बनेका हुन् ।
त्यस्तै स्लो स्कुटी रेसमा महिलातर्फ जुनु उप्रेती प्रथम, रुपा श्रेष्ठ द्वितीय र संगीता गिरी तृतीय भएको वीरता लेडी जेसीजकी महासचिव सरु खनालले बताइन् ।
त्यस्तै स्लो स्कुटी रेसमा पुरुषतर्फ उमँग राजवंशी प्रथम, सरोज बस्नेत द्वितीय र खेमराज बराल तृतीय भएको वीरता जेसीजका शाखा सम्पादक तुलसीप्रसाद निरौलाले जानकारी दिए । वाल्मिकी एजुकेशन फाउण्डेशनमा भएको दुबै प्रतियोगितामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्राविधिक सहयोग गरेको थियो ।
प्रतियोगिताका विजेताहरुलाई नगद र प्रमाणपत्रसहितका पुरस्कार जेसीज सप्ताह समापनका अवसर प्रदान गरिने बताइएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सदस्य बलराम कार्की, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, वीरता जेसीजका दीर्घकालीन योजना सभापति राजकुमार पोखरेल, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्ष राधा सुब्बा, रजनी बजगाई, निवर्तमान अध्यक्ष नैनकला भट्टराई, होटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उप्रेती, पत्रकार महासंघका सहसचिव केशव भट्टराई, इप्रका बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइराला, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक कालीदास रेग्मी, रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटी, वीरता जेसीजका पूर्व अध्यक्ष आनन्द बस्नेत लगायतको आतिथ्य रहेको थियो ।
जेसीज सप्ताह अन्तर्गत आइतबार खुल्ला फुटसल प्रतियोगिता तथा पुरस्कार वितरण र समापन रहेको छ ।

161 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank