जिम्बाबेमा विपक्षीद्वारा मतपरिणाम बहिस्कार

शुक्रबार, साउन १८, २०७५



हरारे । जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) ले वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएको परिणाम आफ्नो गठबन्धनले अस्वीकार गरेको जनाएको छ ।

सो गठबन्धनका प्रमुख नेल्सन चामिसाले यस नतिजालाई फर्जी भनेका छन् । ‘यो निर्वाचन धाँधलीपूर्ण रुपमा गराइएको छ, हामी यस्तो नतिजा अस्वीकार गर्दछौँ’ उनले भने ।

तर पनि जिम्बाबेको निर्वाचन आयोगले निर्वाचन निष्पक्ष रुपमा भएको र कुनै धाँधली नभएको स्पष्ट पारेको छ ।

यो चुनाव सम्पन्न भएपछि नै मतगणना जारी रहेकै बेलादेखि विपक्षी गठबन्धनले निर्वाचन प्रक्रियाको विरोध गरेको थियो । उसको विरोधका कारण देशव्यापी रुपमा हिंसा पनि मच्चिएको थियो ।

गएको नोभेम्बरमा सत्ताच्यूत ९४ वर्षीय पूर्व राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएपछि जिम्बाबेमा पहिलोपटक संसद र राष्ट्रपतिको निर्वाचन भएको हो । मुगाबेलाई पदबाट हटाएपछि मान्गाग्वा नै राष्ट्रपति भएका हुन् । गत सोमबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति मान्गाग्वा नै विजयी भएका, शुक्रबार बिहान निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छ ।

परिणाम अनुसार मान्गाग्वाले २४ लाख ६० हजार ४६३ मत प्राप्त गरेका छन् । यो मत परिणाम यहाँको निर्वाचनमा खसेको कूल मतको ५०.८ प्रतिशत हो ।

त्यसैगरी विपक्षी नेता नेल्सन चामिसाले २१ लाख ४७ हजार ४३६ अर्थात् ४४.३ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगद्वारा सार्वजनिक परिणाममा जनाइएको छ ।

यस परिणामप्रति प्रतिपक्षी दलको औपचारिक प्रतिक्रिया भने आएको छैन । निर्वाचनमा धाँधली भएको भन्दै यहाँको विपक्षी गठबन्धनले मतगणना शुरु भएदेखि नै विरोध गर्दै आएको थियो ।

राजधानी हरारेमा भएको प्रदर्शन दबाउन प्रहरी र सेनाको गोली लागेर छ जनाको मृत्यु भइसकेको छ । लामो समय सत्तामा रहेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई पदबाट हटाइएपछि पहिलो पटक आमनिर्वाचन भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata