जेल जिर्ण, कैदी कोचाकोच

आइतवार, साउन ५, २०७६



प्रदेश १ का कारागारमा रहेका कैदी बन्दीले सजिलोसँग बस्न, सुत्न र खान पाएका छैनन्। उनीहरू बिरामी हुँदा औषधिउपचार सेवाबाट वञ्चित छन्। सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने योजना बनाए पनि कार्यान्वयन नहुँदा उनीहरूले सास्ती पाएका हुन्।

सामुदायिक सेवाअन्तर्गत कैदी बन्दीले विद्यालय, अस्पताल, स्थानीय निकाय, देवालय, वृद्धाश्रम, अनाथालयलगायत अन्य सामाजिक संघसंस्थाले सञ्चालन गरेका प्राकृतिक तथा सामाजिक संरक्षणका कार्यमा सेवा गर्नुपर्ने व्यवस्था छ। कारागार व्यवस्थासम्बन्धी ऐन २०६६ ले समुदायमा सेवा गर्न चाहने कैदी बन्दीलाई लक्षित गरी खुला कारगार सेवाको अवधारणा ल्याएको थियो।

प्रदेश १ का कैदी बन्दीले भवन चर्किएर ढल्न लाग्दा वर्षात्को समयमा रातभर सुत्न नपाएको गुनासो गरेका छन्। मोरङ कारागार विराटनगरका कैदी बन्दी केही दिनअघि अत्यधिक वर्षा भएका कारण पानीमा चोबलिएर बसे। २ सय ५० जनाको क्षमता भएको कारागारमा ८ सय ५९ जना कोचिएका छन्। तीमध्ये ४ जना आश्रित बालबालिका छन्।

गर्मीमा पंखा र बाढीमा जोगिने ठाउँ नहुँदा कैदी बन्दी व्यवस्थापनमा समस्या भएको कारागार व्यवस्थापन शाखाकी नासु कल्पना श्रेष्ठ बताउँछिन्। धेरै कैदी बन्दी कोचिएर राख्नुपर्दा उनीहरूमा छालाको रोग देखिएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments