देश (कविता)
सोमवार, मंसिर २०, २०७३
- जयन्ती थापा मगर ‘सरगम’

निलो गगनका ऐनमा
हेरेर स्निग्ध अनुहार
मन्त्रमुग्ध भएको छु म
हेरेर बादलको छमछ्मी नृत्य
लटामा रङ्गिएका रङसँगै
देखिरहेछु गुडिरहेको मेधाबी तस्वीर
र मौन/चुपचाप
अँगालिरहेको समयको कोमल मेघ
आफैले ओढेको निश्चल आकाशमुनि
नाँच्नुछ छमछ्मी खुसीको नाँच
खोज्नुछ हरेकपल उज्यालो मिर्मिरे
छिचोल्नुछ जिन्दगीका अनगिन्ती गरा
हो, सजाउँला धर्तिमा बसेर
जिन्दगीका हरेक गरा
नाँचौला रोधिघर बसेर
जिन्दगीका हरेक ताल
तर झुपडीको पुर्ख्यौली भोकविरुद्ध
बाँकी नै छ लड्न यहाँ
आकाशका मेघगर्जनहरुसँग
बाँकी नै छ जुध्न यहाँ
त्यसैले,
निलो गगनका ऐनामा
हेरेर स्निग्ध आफ्नै अनुहार
हुर्काउनुछ निर्माणको नयाँ संकल्प
हुर्काउनुछ युगको नयाँ विकल्प
र सजाउँनुछ त्यहिबाट
मेरो सगरमाथाको देश ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments