मुन्नी बदनाम हुईको धून र ‘तृषित’हरू

शनिबार, पुस १६, २०७३

loading...

- जयदेव भट्टराई



मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए … चाबेलबाट रत्नपार्क आउने क्रममा चढेको माइक्रोबसमा धन्किरहेको यो गीत र गीतसँगै नजानिंदो पाराले झुमिरहेका यात्रु देख्दा भर्खरै चाबेल मैजुबहालमा भेटिनुभएका डा. राममान ’तृषित’को गीत सम्झन पुगेँ ।

’मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ

मुन्नी बदनाम हुई, शीला कि जवानी जस्ता गीतहरू एक्कासी चर्चामा आउँछन् र छोटो समयमै बिर्संदै जान्छन् तर डा. राममान ’तृषित’ जस्ताका गीतहरू सधैँ सम्झिरहन्छौँ हामी ।

यौटा तारा झर्दा पनि आकाश सिङ्गै रित्तो लाग्छ
यौटा गल्ती भएकोत्यो जिन्दगी नै तीतो लाग्छ

यस्तै यस्तै असङ्ख्य चर्चित गीतहरू एकताका नेपाल रेडियोमा खुब बज्ने गर्थे, धेरैले गुन गुनाउने गर्थे । समय फेरिएको छ । अचेल गीतभन्दा बढी सङ्गीत बज्ने गर्छ, गीत ओझेल परेको छ, राममान ’तृषित’जस्तै । मुन्नी बदनाम हुईमा झुम्मिने स्रोताले डा. राममान ’तृषित’को गीतको शिखर आरोहण गर्नै चाहँदैन र ऊ फेदीमै बसेर कुम हल्लाएर झुमिरहन्छ मुन्नी बदनाम हुई … मा ।

७० वर्षको उमेर नटेक्दै डा. राममान ’तृषित’लाई रोगले दुःख दियो, ७० काटेपछि त झन् उहाँका दुबै मृगौलाले काम गर्न छाडेपछि उहाँ अचेल कष्टकर जीवन बाँचिरहनुभएको छ । पार्कन्सस डिजिज, कान कम सुन्ने, राम्ररी हिँड्न नसक्ने, दुबै मिर्गौलाले काम गर्न छाडेपछिको अवस्था अनि सातामा दुईपटक डायलोसिस गर्नुपर्ने सबै समस्या एकसाथ आइपरेजस्तो जीवनका अधिकांश समय अरूको उपचारमा संलग्न भएर कहिले भक्तपुर अस्पताल, कहिले वीर त कहिले पाल्पा अस्पताल पुग्ने डा. राममान ’तृषित’ यतिखेर आफैँ उपचार गराइरहनुभएको छ । मैजुबहाल चाबेलस्थित घरमा आफ्नी श्रीमती पार्वती, छोरा बुहारीका साथ बसिरहनुभएका ’तृषित’को जन्म काठमाडौँको ओमबहालमा भएको हो वि.सं. १९९७ सालको माघ महिनामा ।

हिसाबले ७१ वर्ष लाग्नु भएका ’तृषित’ले १७ वर्षको उमेरमै तारादेवीको आवाजमा २०१३ सालमा नेपाल रेडियोबाट प्रसार गर्नुभयो । २०१३ मै औपचारिक रूपमा थालिएको उहाँको सिर्जना यात्राले ५५ वर्षको समयमा अनेकौँ उपलब्धि हासिल गरिसकेको छ ।

फूल थरिथरिका (२०३३) एक मनको अनेक मृत्यु (२०३७), शोरा (२०४७), मनदेखि मनसम्म (२०६५) गीत सङ्ग्रह । क्षितिजको पृष्ठभूमिमा (२०५०) राममान ’तृषित’का कविता (२०५४), बहुलाको हातमा बन्दुक (२०५६) कविता सङ्ग्रह । प्रेयसीका आँखासित पिरतीका कुरा (२०५४ गजल सङ्ग्रह), अनुत्तरित प्रश्न (२०५७ लघुकविता सङ्ग्रह) बन्दुकको नालबाट बाँसुरीको धून (२०५७), आज मान्छे खोज्नुपर्ने भएको छ (२०५७) मुक्तक सङ्ग्रह, भजनका नयाँ पाइला (२०६४ भजन सङ्ग्रह, लामबाहिर (निबन्ध सङ्ग्रह २०६१), सर्जक ’तृषित’का विचार शृङ्खला र कृति समीक्षा (२०६४) अनि ६ वटा गीति एल्बम प्रकाशित भइसकेका छन् उहाँका ।

आँसु झर्दाखेरि पनि रूवाई भन्न सकिएन
तिमी मेरो होइनौ पनि पराई भन्न सकिएन

कस्तो माया लाइएछ आफ्नै मन मारिदिने
कस्तो बत्ती बालिएछ रातै लामो पारिदिने

यस्तै यस्तै गीतका रचयिता डा. राममान ’तृषित’ले जीवनमा दुई पटक बिहे गर्नुभयो । पहिलो पटक आफ्ना लागि र दोस्रो पटक २०४७ सालमा आफ्नो छोराका लागि । अहिले उहाँ यही परिवार हेरेर रमाउनुभएको छ । गएको मङ्गलबार उहाँसँग उहाँका परिवारसँग उहाँको घर मैजुबहालमा भएको कुराकानीमा ’तृषित’ले आफ्नो त्यतिबेलाको निर्णयले यतिबेला पनि आफूलाई आनन्दित बनाइरहेको अनुभूति सुनाउनुभयो ।

सङ्गीत जगत्का अग्रज नातिकाजीले आफ्नै घर छेउ घर बनाउन लगाएपछि नातिकाजीसँग नजिक बन्न पुग्नुभएका ’’तृषित’’ सङ्गीत क्षेत्रमा पनि नातिकाजीसँग त्यत्तिकै नजिक रहनुभयो ।

नातिकाजीको योगदान, सहृदयता सरलता र सहयोग सम्झेर अझै पनि भक्कानिएर रून छाड्नुभएको छैन ’तृषित’ले । एउटा पारखीलाई अर्को पारखीले चिनेजस्तै । यतिखेर हामी राममान ’तृषित’लाई सम्झेर पनि बिर्सिरहेका छौँ । मुलुकको ढुकुटीबाट विदेश भ्रमण गरेर करोडौँ सकाउनेहरूको नाममा स्रष्टा साधकको नाम परेको थाहा छैन ।

स्रष्टाको उपचारमा राष्ट्रले कमै मात्र चासो लिन्छ । राममान ’तृषित’ले सिर्जनाबाट नाम कमाउनुभयो, आफ्नो कामबाट दाम कमाउनुभयो र अहिले आफ्नो उपचार आफैँ गराउनसक्ने हुनुभएको छ । राष्ट्रका लागि योगदान दिनेको उपचारमा राष्ट्रले चासो दिनुपर्छ । राष्ट्रका लागि केही नदिनेका लागि मात्र लगानी गर्नुको अर्थ नै के रहन्छ र ?

बासु शशी स्मृति परिषद्का अध्यक्ष, नातिकाजी स्मृति समाजका अध्यक्ष ’तृषित’ले छिन्नलता गीत पुरस्कार २०४७, व्यथित काव्य पुरस्कार २०६७, नातिकाजी विशेष सङ्गीत सम्मान २०६६, सुरभि नवरत्न स्रष्टा सम्मान २०६७, नेपाली साहित्य समिति विराटनगरबाट २०५३ मा सम्मानित, महाकवि देवकोटा सम्मान २०६६, गो.द.वा. चौथो २०४०, रेडियो नेपाल, हिमशिखर फाउण्डेशन, देवकोटा स्मृति सभा, सुगन्ध परिवार आदिबाट सम्मानित राममान ’तृषित’ एक सफल र सहयोगी चिकित्सक, समर्पित गीतकार सक्रिय सर्जकका रूपमा समाजमा सम्मानित जीवन बाँच्नुभएको छ उहाँ ।

“गीतको निकटम सम्बन्ध हृदयसँग हुन्छ । मान्छेसँग हृदय हुनुको स्थिति नै प्रेम हो, सत्य हो । प्रेम प्रायः गीतमा छर्लङ्गन्िछ । असल गीत लेख्नु पनि प्रेम गर्नुजस्तै हो । प्रेम गर्नु र गीत लेख्नु भनेको एउटै सत्यका दुई पक्ष हुन् । मनको वैज्ञानिक व्याख्या वा विश्लेषण हुनसक्तैन । यसैले मन लेख्नु, गीत लेख्नु र सत्य लेख्नु भनेको एउटै कुरा जस्तो लाग्छ ।“ (२०५२।२।८, साहित्यकार परिचय र अभिव्यक्ति २०५४)

गीतबाट ख्याति कमाउनुभएका ’तृषित’ गीत, कविता, निबन्ध, गजल मुक्तकका माध्यमबाट नेपाली भाषा र साहित्यमा योगदान दिने स्रष्टामा दरिनुभएको छ । नेपाली गीत सङ्गीतमा मर्मस्पर्शी र स्तरीय गीतका माध्यमबाट योगदान दिने ’तृषित’ जस्ता स्रष्टाहरूलाई वास्ता नगर्ने हो भने त मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए … गीत गुनगुनाएर बित्छन् आउँदा दिना मुन्नी त बदनाम भई भई अब आफ्नै स्रष्टालाई बेवास्ता गर्ने भनेर हामी आफैँ त बदनाम हुने होइनौँ ?

चिकित्सक पेशामा आवद्ध भएर व्यस्त जीवन बाँच्ने ’तृषित’ले नेपाली भाषा र साहित्य, गीत सङ्गीतको क्षेत्रमा दिनुभएको योगदान साँच्चै प्रशंसनीय छ । रोगले गाँजे पनि व्यस्त जीवन बाँचे पनि गीत सङ्गीत साहित्य संस्कृतिलाई सम्झिने र यसैमा लागिपर्ने ’तृषित’लाई अब सम्झने जिम्मा हामीमा आएको छ । ब्रायन एडम्सको सङ्गीतमा मरिहत्ते गर्ने सङ्गीत प्रेमी र मुन्नी बदनाम हुईमा कुम हल्लाउनेहरूको भीडमा यतिखेर नेपथ्यमा गीतकार राममान’ तृषित’को उही मीठो र चर्चित गीत नारायण गोपालको स्वरमा गुञ्जिरहेको छ  ।

‘मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ’

एउटा मीठो यथार्थ के भने यस्ता गीतहरू उहिले पनि बजे, अहिले पनि बज्दैछन् र आउँदा दिनमा पनि बजिरहने छन् । तर मुन्नी बदनाम हुई … धेरै बज्दैनन् ।

फागुन १४, २०६७
शनिबार, गोरखापत्रबाट साभार

1253 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv