नेपालको एकमात्रै जनकपुर-जयनगर रेलमार्ग पुनःसञ्चालनको लागि नयाँ मोडालिटी प्रस्ताव तयार

शनिबार, अशोज २८, २०७४

loading...


काठमाडौं । सरकारले नेपालको एकमात्रै जनकपुर-जयनगर रेलमार्ग पुनःसञ्चालनको लागि नयाँ मोडालिटी प्रस्ताव गरेको छ ।

लिक बिछ्याउने अन्तिम तयारी भइरहेको समयमा रेल्वे विभागले रेल चलाउन ‘आटसोर्सिङ’ मोडालिटी प्रस्ताव गरेको छ । विदेशका अनुभवी कम्पनीलाई ३ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङको अवधारणा बनाइएको हो ।

ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि आउटसोर्सिङको तयारी गरिएको रेल्वे विभागका बरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायले  जानकारी दिए ।

‘हामीसँग रेल चलाउने अनुभवी मान्छे पनि छैनन् । मर्मतका लागि प्राविधिक पनि छैनन् । स्टेशन म्यानेजरदेखि कुनैपनि जनशक्ति पनि रेल्वेमा अनुभव हासिल गरेका छैनन्,’ उपाध्यायले भने, ‘यो अवस्थामा कसरी हामी आफैं रेल चलाउन सक्छौं होला ? त्यसैले केही वर्ष बाहिरका कम्पनीलाई व्यवस्थापनको जिम्मा दिनुपर्छ ।’

३ वर्षका लागि आउटसोर्सिङ गर्दा नेपालीलाई रेल सञ्चालनको सबै सीप कम्पनीले नै सिकाउनुपर्ने सर्त राख्ने योजना विभागको छ ।

कुर्ता-जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिँदैछ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भइरहेको छ । सन् २०१४ बाट यसको सुरुवात भएको थियो, यसैकारण जनकपुर-जयनगर रेल सेवा विगत ३ वर्षदेखि बन्द अवस्थामा छ ।

ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम सकिएको रेल्वे विभागका बरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायले जानकारी दिए । पुल तथा कल्भर्ट बनिसकेका छन् । स्टेशनहरुको निर्माण पनि सकिएको छ । देशको एकमात्र रेल सेवा ‘जनकपुर-जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने भएको छ ।

३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइँदैछ । भारतीय कम्पनीले कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृह पनि बनाइसकेको छ ।

कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेलमार्गलाई ल्याउने योजना रेल्वे विभागको छ । यो रेलमार्गलाई बर्दिवासमा पूर्वपचिश्म रामार्गसँग जोड्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनिसकेको छ ।

कुर्ता-जनकपुर-जयनगर खण्डतर्फ भने लिक तयार गर्ने काम सुरु भएको बरिष्ठ इञ्जिनियर उपाध्यायले बताए । त्यसका लागि आवश्यक सामान तथा उपकरण आयात भइरहेको छ ।

यसअघि आगामी फागुनसम्म ब्रोडगेजका सबै काम सकिने गरी गरी काम भएपनि बाढीका कारण ०७५ को बैशाखसम्म धकेलिन सक्ने अनुमान विभागको छ । ‘पहिले मार्चसम्म काम सक्ने जानकारी हामीलाई भारतीय पक्षले दिएको थियो । तर, बाढीका कारण केही ठाउँमा समस्या आएका छन्’ इञ्जिनियर उपाध्यायले भने,’त्यसैले कम्तिमा अबको वैशाखसम्म काम सकिन्छ भन्ने अपेक्षा छ ।’

तर, अहिलेसम्म लिकमा गुडाउन रेल र डिब्बा कसले, कुन प्रक्रियाबाट ल्याउने भन्ने निर्णय भएको छैन । विभागले अर्थ मन्त्रालयसँग रेल र डिब्बाका लागि ३ अर्ब रुपैयाँ लागत अनुमान लाग्ने जानकारी गराइसकेको छ ।

अर्थ मन्त्रालयले भने लिक नै तयार नभई बजेट मागिएको भन्दै तत्काल बजेट दिन नसकिने बताइसकेको छ । यो वर्ष रेल विभागले ४ अर्ब रुपैयाँ बजेट पाएको छ । पूर्वपश्चिम रेलमार्गको पनि काम गरिरहेको विभागलाई जनकपुर-जयनगरमा रेल चलाउन यो वर्ष बजेट आएको छैन ।

त्यसैले पूर्वाधार तयार हुनासाथ रेल चलाउन नसकिने अवस्था आउन सक्ने विभागको आँकलन छ । तर, कुर्ता-जजकपुर-जयनगर रेलमार्गमा रेल चलाउन भारतीय सरकारले पनि चासो देखाएको छ ।

आउँदो हप्ता यसै विषयमा छलफल गर्न केही भारतीय रेल्वे अधिकारी नेपाल आउँदैछन् । उनीहरुले यो रेलमार्ग सञ्चालनका लागि आफ्नो सहयोगसहितको ठोस प्रस्ताव गर्ने अपेक्षा गरिएको छ ।अनलाइनखबर

146 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv