चौतर्फी विरोधपछि मेयर/उपमेयरले बल्ल भत्काए आफ्नो घर

सोमवार, चैत्र १२, २०७४



जनकपुर । प्रदेश २ को अस्थायी राजधानी जनकपुरलाई व्यवस्थित बनाउन सडक विस्तार तथा नाला व्यवस्थापनअन्तर्गत सडक आसपासका घर–टहरा भत्काउन थालिएको छ । दक्षिण एसियाली विकास बैंकको ऋण सहयोगमा बजार क्षेत्रका सडक विस्तार र नाला व्यवस्थापनको कार्य अगाडि बढाइएको हो ।

आयोजनाअन्तर्गत जनकपुर उपमहानगरपलिकामा १० किलोमिटर सडक र ३१ किलोमिटर नाला निर्माणको कार्य भइरहेको आयोजना प्रमुख गंगाप्रसाद यादवले बताए । उनका अनुसार जनकचोकदेखि भानुचोकसम्म सडकलाई ५२ फिट चौडा गरिनेछ । एकीकृत सहरी विकास आयोजनाको सुरुवाती अवस्थामै जनकपुर उपमहानगरपालिकाले जनकपुरधाम परिक्रमा क्षेत्रको सडकको छेउमा परेका घर भत्काउन सूचना जारी गरेको थियो । विस्तारका लागि चिह्नसमेत लगाइएको थियो । तर, घरधनीहरूले सूचनाअनुसार घर भत्काउन मानेनन् ।

उपमहानगरपालिका जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले जोखिम मोल्न चाहेनन् । स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरूले समेत चासो देखाएनन् । जनकपुर परिक्रमा सडक क्षेत्रका धनीहरूले घर भत्काए पनि बजार क्षेत्रका धनीहरूले भने घर भत्काउन चासो देखाएनन् ।

उनीहरूले उपमहानगरपालिकाविरुद्ध अदालतमा मुद्दा नै दायर गरे । अदालतले विकास निर्माणमा प्रभाव नपर्ने गरी भत्काउन आदेश दिएपछि अधिकांशले घर भत्काए पनि केहीले अटेर गरिरहेका थिए । मेयर लालकिशोर साहले समेत आफ्नो घर नभत्काएपछि चौतर्फी आलोचना भएको थियो ।

त्यसपछि मेयर साहले घर भत्काउने कार्यमा सहयोग गर्न जनकपुर उद्योग वाणिज्य संघलाई आग्रह गरे । संघका अध्यक्ष ललित साहले बैठक राखेरै सडक विस्तारमा पूर्ण समर्थन रहेको भन्दै प्रेस विज्ञप्ति नै निकाले । उपमहानगरपालिकाले फेरि एक हप्ताको म्याद दिएर घर भत्काउन सूचना जारी गर्यो । घरधनीले नभत्काए उपमहानगपालिकाले भत्काउने र सो बापतको रकम उपमहानगरपालिकाले असुल गर्ने चेतावनी दियो । त्यसपछि मेयर साहले हस्पिटल रोडमा पर्ने आफ्नो घर भत्काउन लगाए । उपमेयर रिता झाले पनि आफ्नो घरअगाडि सडकमा पर्ने संरचना भत्काउन लगाइन् ।

उपमहानगरपालिकाका वडा अध्यक्षहरू डोजरसहित बजारमा निस्केपछि घरधनीहरूले धमाधम आफैँ घर भत्काउन थाले । उनीहरूको सुरक्षामा जनपद र सशस्त्र प्रहरी खटिएका थिए । भत्काउन आनाकानी गर्ने धनीको घरमा नगरपालिकाले डोजर लगाएको थियो । जनकचोकदेखि भानुचोक, भानुचोकदेखि मिल्स एरिया, शिवचोकदेखि कदमचोकसम्म सयौँ घर भत्काइएको छ ।

249 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank