त्रिशूली जलविधुत केन्द्र पूर्णरुपमा सञ्चालन

सोमवार, साउन १४, २०७५



नुवाकोट ।
आगलागीको कारण उत्पादन रोकिएको त्रिशूली जलविधुत केन्द्रले पूर्णरुपमा विधुत उत्पादन गर्न थालेको छ ।

गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विधुत उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

नेपाल विधुत प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली जलविधुत केन्दको विधुत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा असार २६ गते दिउँसो आगलागी भएको थियो । आगलागी भएपछि विदुर नगरपालिकासहित जिल्लाको अधिकांश भागमा लगातार ३० घण्टा विधुत अवरुद्ध भएको थियो ।

तीन ब्रेकरमा आगो लागेर क्षति भएपछि अहिले दुई वटा ब्रेकर ल्याएर उत्पादन थालिएको केन्द्र प्रमुख भट्टले बताए । “अब पूर्णरुपमा सञ्चालनमा आएको छ । हामीले नेपाल विद्युत् प्राधिकरणकै अर्को शाखाबाट दुई वटा ब्रेकर ल्याएर जडान गरी उत्पादन थालेका छौँ । साविककै अनुसार उत्पादन भइरहेको छ । अहिले दुई वटा ब्रेकरबाट नै काम सञ्चालन भइरहेको छ” केन्द्र प्रमुख भट्टले भने ।

आगलागीपछि एक हप्तासम्म त्रिशूली जलविधुत र सोही केन्द्रबाट पानी गएपछि सञ्चालन हुने देवीघाट जलविधुत केन्द्रको समेत उत्पादन भएको थियो । आगलागीको कारण करीब रु एक करोडको क्षति भए पनि विद्युत् उत्पादन बन्द हुँदा भने करोडौँको क्षति भएको केन्द्रले जनाएको छ ।

विद्युत् उत्पादन बन्द हुँदा कति नोक्सानी भयो भनेर मूल्यांकन गर्न बाँकी रहेको केन्द्र प्रमुख भट्टले बताए । त्रिशूली जलविधुत केन्द्रसहित देवीघाटसमेत बन्द भएको हुँदा करोडौँको विधुत उत्पादन नोक्सानी भएको उनले बताए।

82 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank