जडिबुटीमा छ प्रतिरोधी क्षमता

बुधबार, फाल्गुन २८, २०७६



वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्।

नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो हो । गाउँघरतिर गुर्जोको लहराका नामले यो चर्चित छ । औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गरिन्छ ।

साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ । पछिल्लो समय मधुमेह, क्यान्सरसम्मका लागि पनि यसको औषधीय गुणको महत्व रहेको आयुर्वेद चिकित्सक दाबी गर्छन।

विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ । हालसम्म खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव पनि विज्ञहरूको छ ।

विश्व स्वास्थ्य सङ्गठनले २० प्रकारका खोपको परीक्षण भइरहेको जनाए पनि त्यो सर्वसुलभ हुन समय लाग्ने बताइसकेको छ । चीनमा पनि परम्परागत औषधीय पद्धतिलाई जोड्दै खोपको परीक्षण भएको सूचना प्रवाह भएको छ ।

वनस्पतिविज्ञ प्रोफेसर प्रमोदकुमार झाले भने, “गाउँमा बिरामी हुँदा मैले नै गुर्जोको रस खाएको छु । ज्वरो आउँदा, रुघाखोकी लाग्दा यसको झोल निकालेर खाँदा फाइदा हुन्छ”

उनका अनुसार नेपालमा आयुर्वेदमा यसको राम्रो उपयोग छ तर आधुनिक चिकित्सामा परीक्षण भएका छैनन् । संस्कृतमा गुडुची वा छिन्नोद्भवा भनेर चिनिने यस वनस्पतिलाई हिन्दीमा गिलोय भनिन्छ ।

यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । फूल फुल्ने र फल लाग्ने श्रेणीविहीन रानुन्कुलालस गणमा यो गनिन्छ । मेनिस्परमासिया परिवार र टिनोस्पोरा वंशमा पर्ने टी कोर्डिफोलिया प्रजातिको जडीबुटी हो ।

भौगोलिक हिसाबले ऊष्ण तटीय क्षेत्रको नेपाल, भारत, चीन, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, मलेसिया लगायतका देशमा यो वनस्पति पाइन्छ । नेपालमा भने यो वनस्पति तराईका जङ्गलदेखि मध्य पहाडी क्षेत्रसम्म फैलिएको छ । वनस्पति विभागका अनुसार पानझैँ फिँजारिएको पातका लहरा ठूला रूखका हाँगामा बेरिएर फैलन्छ । हरियो वा खैरो बोक्रा भएको डाँठ काट्ने हो भने त्यसभित्र चक्राकार स्वरूप देखिन्छ । बर्खामासमा पहेँलो सुन्दर फूल फुल्छ । हिउँदमा यसमा रातो फल लाग्छ।

गुर्जोमा औषधीय गुणको टिनोस्पोरिन, टिनोस्पोराएड, कर्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिन लगायतका बहुउपयोगी रासायनिक तत्व पाइन्छ । मानव कोष र नमुना प्राणीहरूमा गुर्जोको परीक्षणले विभिन्न खाले क्यान्सरका लागि फलदायी हुने विदेशी परीक्षणका क्रममा पत्ता लागेको छ ।

गोरखापत्र दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments