अदालतमा बयान दिएलगत्तै इजिप्टका पूर्व राष्ट्रपतिको मृत्यु

मङ्लबार, असार ३, २०७६



एजेन्सी । इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको निधन भएको स्थानीय संचार माध्यमले जनाएको छ । खबरका अनुसार  एक अदालतमा बयानका लागि उपस्थित भएका उनी बेहोस भएर ढलेका थिए । त्यसपछि लगतै उनको  मृत्यु भएको हो ।

 सन् २०१३ मा सेनाले  ‘कू’ गरेर उनलाई सत्ताच्यूत गरेको थियो । ६७ वर्षका मोर्सीमाथि जासुसीको आरोप थियो । मुस्लिम ब्रदरहुडका नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित थिए।

सन् २०१२ मा राष्ट्रपति बनेका उनलाई एक वर्षमा नै सेनाले अपदस्थ गरेर विभिन्न अभियोगमा जेलमा राख्दै आएको थियो । एकान्त काराबासमा राखिएका उनलाई वकिल र परिवारलाई समेत कमै मात्रै भेट्न दिइन्थ्यो ।

सन् २०११ मा अरब वसन्त भनिने आन्दोलनका क्रममा होस्नी मुबारकलाई विस्थापित गर्दै मोर्सी सत्तामा आएका थिए । मुस्लिम ब्रदरहुडका प्रवक्ताले मुर्सीलाई उपचार सेवा समेत उपलब्ध नगराइएको बताएका छन्।

जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दाको सुनुवाई राजधानी काहिरामा चलिरहेको थियो । बयान दिए लगत्तै उनी बेहोस भएका थिए।

बाहिरको आवाज सुन्न नसकिने साउन्डप्रुफ सिसाको पिँजडाभित्रबाट उनले पाँच मिनेट बयान दिएका थिए। उनले अदालती कारबाहीमा बाधा नपुर्‍याउन् भनेर त्यस्तो पिँजडामा राखिएको दाबी गरिएको थियो । उनको मृत्युको कारण भने बताइएको छैन । तर प्रारम्भिक रिपोर्टमा उनको शरीरमा चोटपटकका कुनै ताजा निसान नभएको जनाइएको छ।

उनको निधन इजिप्टमा अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिता शुरु हुनुभन्दा केही दिन अगाडि भएको छ। मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले मुर्सीको निधनबारे निस्पक्ष छानबिनको माग गरेको छ।

हिरासतमा राखिएका बन्दीप्रति अत्यन्त खराब व्यवहारका निम्ति इजिप्ट कुख्यात रहेको उसले बताएको छ। मुस्लिम ब्रदरहुडले भने मोर्सीको हत्या भएको आरोप लगाएको छ ।

टर्कीका राष्ट्रपति रेजेप ताय्यिम अर्दोआनले इजिप्टका नेता अब्देल फतेह अल सीसीलाई जिम्मेदार ठहर्‍याउँदै मोर्सीलाई मृत्युको मुखमा पुर्‍याउने निरंकुश शासकलाई इतिहासले नबिर्सने चेतावनी दिएका छन्।

सन् २०१२ मा मोर्सी इजिप्टको पहिलो जननिर्वाचित राष्ट्रपति बनेका थिए । तर एक वर्ष पश्चात नै सेनाले हटाएर उनी विरुद्ध विभिन्न तीन वटा मुद्दामा ४५ वर्ष जेल सजाय सुनाएको थियो । तर उनले अदालतको वैधानिकतामाथि नै प्रश्न उठाउँदै आएका छन् ।

उनका समर्थकहरूले ती मुद्दा राजनीतिक पूर्वाग्रह प्रेरित रहेको भन्दै सैनिक ‘कु’ लाई वैधानिकता प्रदान गर्न त्यस्ता आरोप लगाइएको बताउने गरेका छन् ।

यो घटनाले तनाव सिर्जना हुने अनुमान गरिएको छ । टर्कीका राष्ट्रपतिले उनलाई सहिद घोषणा गरेका छन् भने कतिपयले उनका विरुद्ध भइरहेका अदालती कारबाहीप्रति प्रश्न उठाएका थिए।

गत वर्ष बेलायती संसदको एक समितिले उनलाई दिनको २३ घण्टा एकान्त कारावासमा राखिएको र त्यो यातना भएको जनाएको थियो। त्यसबेला नै समितिले उनलाई यसरी नै राखिए चाँडै ज्यान जाने चेतावनी दिएको थियो ।

गत वर्ष अक्टोबरमा उनका कान्छा छोरा अब्दुल्लाले एपी समाचार एजेन्सीसँगको कुराकानीमा उनका पितालाई एक्लै राखिएको र उच्च रक्तचाप र मधुमेहबाट पीडित उनको उपचारमा कुनै ध्यान नदिएको बताएका थिए ।

पाँच महिना अघि अब्दुल्लाले वासिङ्टन पोष्ट पत्रिकाको सम्पादकीयमा भनेका थिए कि ‘इजिप्टको प्रशासन उनलाई चाँडोभन्दा चाँडो मरेको हेर्न चाहन्छ, उनको मृत्यु प्राकृति देखाउनका लागि उनीहरु यसो गरिरहेका छन् ।’

उनका छोराले मोर्सी को शवलाई परिवारिक चिहानस्थलमा गाड्न समेत अधिकारीहरूले अनुमति नदिएको बताएका छन् । उनको निधनपश्चात देशमा हिंसा भड्कने डरले उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata