कम्युनिष्टहरु छिन्नभिन्न हुँदा देशले समृद्धि भेटिएन: रक्षामन्त्री पोखरेल

बिहिबार, पुस २४, २०७६



कास्की । उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको बताएका छन् ।

नेकपा कास्कीद्वारा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले ठूलो सङ्ख्यामा रहेका नेपालका कम्युनिष्टहरु छिन्नभिन्न हुँदा देशले समृद्धि र विकासमा अपेक्षित गति लिन नसकेका कारण आम जनताको चाहनाअनुसार दुई ठूला पार्टी एकीकरण गरिएको बताएका हुन् ।

बितेका कुराले कुनै पनि फाइदा नहुने तर त्यसबाट शिक्षा लिएर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिँदै उनले मतमात्र होइन, मनसमेत मिलाउनुको विकल्प नरहेको उल्लेख गरेका छन् ।

पार्टी एकीकरणका अधिकांश काम सकिएको बताउँदै मन्त्री पोखरेलले आगामी माघ १५ मा बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकले बाँकी काम टुङ्ग्याउने विश्वास व्यक्त गरे। मुलुकमा लामो समयको अस्थिरताका कारण समृद्धि र विकासले अपेक्षित गति लिन नसकेको वास्तविकतामा बनेको वर्तमान स्थिर सरकारले दीर्घकालीन सोचका साथ काम अगाडि बढाइरहेको उनले स्पष्ट पारे ।

नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले ट्रष्टको विद्यमान नीति नियमअनुसार यसको सम्पत्ति, शिक्षा, स्वास्थ्य, पर्यटन र व्यवसाय अभिवृद्धिमा उपयोग गरिने व्यवस्था रहेकाले अन्य प्रयोजनका लागि नदिइने स्पष्ट पारे । ट्रष्टमा हालसम्म २१ हजार ५०० रोपनी जग्गा र रु एक अर्बभन्दा बढी र शेयरसमेत रहेको जानकारी दिँदै उनले पोखराका रत्नमन्दिर, हिमागृहजस्ता सम्पदा प्रदेश सरकारसँग समन्वय गर्दै बृहत् हितमा उपयोग गरिने तयारी भइरहेको बताए ।

सीमालगायतका राष्ट्रियतासँग जोडिएका विषय सबैको साझा सरोकारको विषय भएको बताउँदै उनले यस सम्बन्धमा देखिएका समस्या समाधानका लागि नेपाल र भारतबीच औपचारिक छलफलको प्रक्रिया शुरु भइसकेको बताए ।

आगामी माघ ९ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य पदको उम्मेदवारीका लागि पार्टीले आवश्यकता, औचित्य एवं योगदानका आधारमा तय गरेको जानकारी गराए । सरकारको बाँकी कार्यविधि जनताले अनुभूति गर्ने किसिमले काम गर्ने बताउँदै उनले संविधान कार्यान्वयन पनि सोही गतिमा अघि बढेको जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments