इन्द्रध्वजोत्थान गर्दै शुरु भयो पुरानो चाड इन्द्रजात्रा

मङ्लबार, भदौ २४, २०७६



इन्द्रजात्रा पर्व आज(मंगलबार)बाट शुरु भएको छ । मङ्गलबार बिहान ९:१७ बजेको साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।

इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ।

किम्बदन्ती

आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा हामी इन्द्रजात्रा मनाउँदछौँ। त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन। त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ। पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे । इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोग र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो । आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा बस्न थाल्यो।

जात्रा विधि

इन्द्रध्वजोत्थान

इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। इन्द्रध्वजोत्थान इन्द्रजात्राको महत्वपूर्ण दिन हो । भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राकोे लिङ्गो शुक्रबार बिहान ९ः३५ बजे भोटाहिटीबाट वसन्तपुरतिर प्रवेश गराइएको थियो । पहिलेपहिले भोटाहिटीभन्दा भित्रको क्षेत्रलाई मात्र नगर भनिने गरेकाले लिङ्गो नगर प्रवेश गराउने भन्ने गरिएको छ ।

यही भदौ १५ गते बिहान ११ः७ बजे वनयात्रा गरी त्यसै दिन राति ८ः१ बजे विधिपूर्वक बलि पूजासहित लिङ्गोका लागि रुख काट्ने साइत दिइएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । समितिले दिएको साइतअनुसार नै लिङ्गोका लागि रुख काटेर ल्याइएको हो ।

इन्द्रध्वज पातन

भदौ २८ गते शनिबार माथिल्लो टोलमा रथयात्रा हुनेछ । भदौ ३१ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा गराइने संस्थानले जनाएको छ । त्यसै दिन राति करीब ८ः०० बजे जीवित देवी कुमारीसँग राष्ट्रपति भण्डारीले टीका प्रसाद ग्रहण गर्नेछिन् । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले खड्ग साट्ने परम्परा छ । आगामी असोज १ गते बिहान ५ः३५ बजे लिङ्गो ढाल्ने (इन्द्रध्वज पातन) साइत दिइएको समितिले जनाएको छ ।

इन्द्रजात्राको मुख्य दिन यही भदौ २७ गते दिउँसो ४ः०० बजे श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा शुरु हुन्छ । त्यसदिन राष्ट्रपति विद्यादेवी भण्डारीले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गरी दान दक्षिणापछि रथयात्रा शुरु गर्न अनुरोध गर्नुहुने परम्परा छ । त्यस दिन तल्लो टोलमा कुमारी यात्रा गराइनेछ ।

लिङ्गो ढालेपछि वसन्तपुरबाट तानेर टेकुदोभान लगी वाग्मतीमा सेलाइनेछ । यसरी असोज १ गते तीन हप्ता लामो इन्द्रजात्रा समाप्त हुनेछ । इन्द्रजात्राका लागि संस्थानले मात्र रु ३० लाख खर्च गर्ने जनाएको छ । भक्तपुरबाट लिङ्गो किनेर ल्याउनेदेखिका काममा बजेटको आवश्यकता पर्छ । जात्रामा संलग्न हुनेलाई काठमाडौँ महानगरपालिकाले पनि बजेटको व्यवस्था गर्ने गरेको छ ।

१२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन्। इन्द्रजात्रा र लिंगो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata