अधिकांश पुस्तक पसलहरुले साहित्यिक पुस्तक बिक्री गरेको पैसा लेखकलाई दिँदैनन् :साहित्यकार इन्दिरा प्रसाई

शनिबार, पुस ९, २०७३

loading...


तीसको दसकदेखिकी सशक्त हस्ताक्षर इन्दिरा प्रसाई पछिल्लो समय विभिन्न साहित्यिक सङ्घ सङ्गठनमा व्यस्त हुनुहुन्छ । नेपाली आख्यान साहित्यमा स्थापित र रुचाइएकी प्रसाईका पाँच कविता सङ्ग्रहसहित आख्यानका आठ कृति प्रकाशित छन् । त्यसमध्ये ‘उसका लोग्ने र बिरालो’ उपन्यास अङ्ग्रेजी भाषामा समेत अनुवाद भएको छ ।

साहित्य सृजना र साहित्यिक सत्सङ्गमा एकसाथ सक्रिय प्रसाईले करिव दुई दर्जन स्रष्टामूलक कृतिहरुको सम्पादन गर्नुभएको छ । युवावर्ष मोती पुरस्कार, प्रतिभा पुरस्कार, राष्ट्रिय गौरव युवा सम्मान, भानुभक्त पुरस्कार, प्रबल गोरखा दक्षिणबाहु लगायत दर्जनौँ सम्मान, पुरस्कार र विभूषणबाट उहाँको सर्जक एवं साहित्यिक सङ्गठक व्यक्तित्वको कदर गरिएको छ ।

गोरखापत्र संस्थानको पूर्व अध्यक्षसमेत रहनुभएकी प्रसाई राजतन्त्रको पक्षपोषणमा लागेका कारण केही विवादमा पनि हुनुहुन्छ । वि.सं. २०४७ सालदेखि प्राध्यापनमा रहनुभएकी प्रसाई पछिल्लो पुस्तालाई गम्भीर रूपमा अध्ययन गर्ने साहित्यकारका रूपमा पनि परिचित हुनुहुन्छ ।

मानवीय संवेदनामाथि कलम चलाउने प्रसाई पछिल्ला दिनमा साहित्यिक क्रियाकलापमा बढी सक्रिय हुनुभएको छ । साहित्यिक क्रियाकलपले उहाँको लेखनलाई ओझेल पारेको अनुभव भए पनि उहाँ अनवरत सृजनारत पनि हुनुहुन्छ ।

पछिल्लो पटक संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘शताब्दी पुरूष’ घोषणा र करिब तीन सय स्रष्टा र व्यक्तित्वलाई शताब्दी पुरूषको नामको पदक बाँडेर चर्चामा आएको संस्था ‘त्रिमूर्ति निकेतन’का अध्यक्षसमेत रहनुभएकी साहित्यकार प्रसाईसँग मधुपर्कका लागि साहित्यकार मणि लोहनीले गर्नुभएको भेटवार्ता:

१. हिजोआज कुन कर्ममा बढी व्यस्त हुनुहुन्छ ?
अध्ययन, लेखन र साहित्यिक संस्था परिचालनमा नै लागेकी छु ।

२. पछिल्लो तपाईको सृजना कुन हो ?
‘नरेन्द्रराज प्रसाईकृत भानु जीवनीको मूल्य र मान्यता’ सम्पादन तथा ‘उषा शेरचनको शङ्खघोष’ समीक्षा । अन्य फुटकर कथा,कविता तथा भूमिकाहरु पनि लेखिरहेकै छु ।

३. पछिल्लो पटक तपाईंले पढेको साहित्यिक पुस्तक कुन हो ?
अनुपम रोशीको ‘कालो छाया’ उपन्यास, कवि रावतको ‘राजधानी’ कवितासङ्ग्रह ।

४. तपाई आफैमा राम्रो आख्यानकार पनि हो । पछिल्लो समय नेपाली आख्यानलाई कसरी हेरिरहनु भएको छ ?
राम्रा सम्भावना भएका आख्यानकारहरु नेपाली साहित्यमा आएका छन् । नेपाल बाहिर कृष्ण बजगाईँ, भगवती बस्नेत, नीना राई आदि धेरैका आख्यानकार गतिवान भएर अघि बढेको पाएकी छु । नेपाल भित्र निरुपा प्रसुन, आन्विका गिरी लगायत थुप्रै कथाकारहरु कथाका विराट संभावना बोकेर अघि बढेको पाएकी छु ।

५. समकालीन कविताहरुबारे तपाईको धारणा के छ ?
धेरै राम्रा कविहरु आएका छन् । नेपाली कविताको भविष्य उज्यालो देखेकी छु ।

६. पछिल्लो समय तपाईका सृजना भन्दा धेरै साहित्यिक संघसंस्थामा तपाईले पुर्‍याउनु भएको योगदानको ज्यादा चर्चा हुन थालेको जस्तो अनुभव हुन्छ नि ?
सत्य हो, म साहित्यिक संघसंस्थामा पनि उतिकै लगनशील र सक्रिय छु ।

७. साहित्यिक संघसंस्था सञ्चालन र साहित्यको प्रचारप्रसारमा तपाईले खेल्नु भएको भूमिकाको साहित्यिकवृत्तमा कत्तिको मूल्याङकन भएको ठान्नुहुन्छ ?
मैले कर्म गर्ने हो । मलाई आत्मसन्तुष्टि हुने कर्म म गरिरहेकी छु । त्यसको सही मूल्याङ्कन हुँदा म रमाउनु अनौठो कुरा पनि होइन । तर त्यसको मूल्याङ्कन हुनै पर्छ भन्ने मान्यता पनि म राख्दिन । मानिसले अरुलाई नबिगार्ने गरी आफूलाई ठिक लागेको कर्म रमाएर गर्नुपर्छ । म त्यसै गरिरहेकी छु ।

८. तपाईले यतिका पुरस्कार गुठीहरुको अध्यक्षता गर्नुभएको छ तर सबै पुरस्कार र सम्मानका अगाडि ‘नइ’ नै जोड्नुको कारण चाहिं के हो ?
नइ प्रकाशनको विधानअनुसार नइ अर्न्तर्गत सञ्चालित सम्पूर्ण पुरस्कारका नाउँमा नइ नै जोडिनु पर्ने प्रावधान रहेको छ ।

९. सयौ जनालाई एउटै नामको पदक लाईन लगाएर बाड्नुको औचित्य के हो ? माग्नेहरुलाई हार्न नसकेर कि आफ्ना पछि लाग्नेहरुको जामत बढाउन ?
हरेक कुराको सकारात्मक र नकारात्मक पाटो हुन्छ । द्रष्टाको दृष्टि, विचार र औकात अनुरुप कर्म र बस्तुको मूल्याङ्कन गरिन्छ । नइ प्रत्यक्ष संलग्न भएर नेपाल सरकारबाट प्रदत्त भानुभक्त पदकका साथै त्रिमूर्ति पदक, देवकोटा शताब्दी पदक, विश्व नारी नेपाली साहित्य पदक र सत्यमोहन जोशी शताब्दी पदक नेपाल लगायत विश्वका २५ राष्ट्रका झन्नै एक हजार महानुभावहरुमा विभिन्न समयमा समर्पण गरिसकिएका छन् । नकारात्मक सोच भएका मानिसहरु ‘किन यसरी धेरैलाई पदक बाँडिएको’ भन्छन्, सकारात्मक सोच भएकाहरु ‘साह्रै राम्रो काम भयो । सबैलाई काम गर्ने हौसला, प्रेरणा र प्रोत्साहन भयो’ भनिरहेका छन् । राज्यले नहेरे पनि नइले हेरेको छ भनिरहेका छन् । नपाउनेहरु ‘यति धेरै जनामा पनि म आँटिन’ भन्ने गुनासो पनि गरिरहेका छन् । समारोहलाई विशिष्ट उचाईमा पुर्‍याउने औचित्य अनुरुपले पदकहरु र्समर्पण गरिएका हुन् । अझ हाम्रो औकातले नभ्याएर पो त, नत्र हामीले पदक वा पुरस्कार दिनैपर्ने धेरै व्यक्ति पदक प्राप्त गर्नबाट वञ्चित भएकोमा हामी दुःखी छौँ ।

हामी चुनाव जितेर पद खानका लागि मानिस पछि लगाउने वर्गका होइनौँ । हामी आबद्ध संस्थामा पुरस्कार र पदक माग्न आउनेलाई कालो सूचीमा राख्ने गरेका छौँ । त्यस्ताले हामी संबद्ध संस्थाबाट कहिल्यै पुरस्कार पाउँदैनन् ।

१०. एक पटक कल्पना गरौ, तपाईहरुको यो जोडी एक्लाएक्लाई भएको भए त्यो अवस्था कस्तो रहन्थ्यो होला ? यतिधेरै साहित्यिक कर्महरु हुन्थे होलान् ?
त्यसको त न्यून संभावना देख्छु ।

११. बाहिर गाली गर्नेहरु पनि पुरस्कार र सम्मान लिन चाहिं चाकरीमा धाउछन भन्ने सुनिन्छ नि ?
हामीकहाँ सम्मान र पुरस्कार लिन चाकरी गर्न कोही आएका छैनन् । हामीले हामीलाई गाली गर्ने वा चाकरी गर्ने व्यक्ति विशेषलाई दिने पुरस्कारको स्थापना नै गरेका छैनौँ । पुरस्कार त काम, योगदान र प्रतिभाले पाउने हो । पुरस्कारका लागि योग्य व्यक्ति गाली र चाकरीको सेरोफेरोमा हुँदैन ।

१२. एकै पटकमा दर्जन/डेढ दर्जन पुस्तक निकाल्नु हुन्छ तिनीहरुले बजार पाउँछन ?
हेर्नुस् , नेपाली पुस्तकको बजार मुटि्ठभर व्यक्तिका हातमा छ । अधिकांश पुस्तक पसलहरुले साहित्यिक पुस्तक बिक्री गरेको पैसा लेखकलाई दिँदैनन् । केही पसलले हाम्रै पुस्तक बिक्री गरेका लाखौँ रुपियाँ पचाई दिएकाछन् । हाम्रो व्यापारिक क्षेत्रमा पकड पनि छैन । व्यापार हाम्रो विषय पनि होइन । त्यसैले हिजोआज हामीे पनि पुस्तक प्रकाशन गरेर बजारमा पुर्‍याउनुको साटो योग्य पाठकका हातहरूमा नै पुर्‍याउन रुचाउँछौँ । खास गरेर हाम्रो सर्म्पर्कमा आउने गाउँगाउँका पुस्तकालयहरु र विदेशमा जानेहरूमध्ये लानेलाई निशुल्क पुस्तक उपहार गरेर नै हामीले आत्मसन्तुष्टि लिने गरेका छौँ ।

१३. गुठी ब्यवस्थापक बन्दा आफ्नो सृजनामा के कस्तो असर वा सहयोग पुगेको छ ?
असर भनेको चाहिँ ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै हो । विविध खाले अनुभूति ग्रहण गर्न पाएकी छु । यसलाई सहयोग नै भन्नुपर्छ ।

१४. तपाईंहरुको संस्थाबाट पुरस्कार र सम्मान लिनेहरु तपाईंहरुसँग सन्तुष्ट छन भन्ने ठान्नुभएको छ ?
हाम्रो संस्थाले पुरस्कार र सम्मान प्रदान गरेको कर्मजिवीहरुको सन्तुष्टिका लागि हो । व्यक्ति गौण कुरा हो । हामीले सकेसम्म राम्रो गर्नुपर्छ । हाम्रा सामुन्ने आएर सबैले सन्तुष्टि व्यक्त गर्छन् । पर्दा पछाडिका कुरा सुन्नु पनि हुन्न । सुने पनि विश्वास गर्नु हुन्न । कसैकसैले असुन्तुष्टि व्यक्त गरिहाले नै भने पनि हामीलाई केही फरक पर्दैन । किनभने हामी हाम्रो कामबाट चुक्ने प्रयासै सकेसम्म गदैनौं ।

१५. नेपाली साहित्यका त्रिनारीरत्नको सालिक राख्ने कुरा कहाँ पुग्यो ?
नेपाली साहित्यका प्रतिनिधि त्रिनारीरत्न प्रेमराजेश्वरी, गोमा र पारिजातका पूर्ण कदका सालिक वरिष्ठ मूर्तिकार ओम खत्रीद्वारा निर्माण सम्पन्न गरिएर उहाँकै जिम्मामा छन् । अहिले हामी ती सालिकहरु स्थापना गर्ने उपयुक्त स्थलको खोजिमा छौँ ।

१६. एउटा सन्दर्भको कुरा गरौं- सात महिना जेठो राष्ट्रकवि माधव घिमिरे हुँदाहुँदै सस्कृतिविद् सत्यमोहन जोशीलाई मात्र सताब्दी पुरुष घोषणा गर्नुभयो, दुबैलाई एकसाथ गरेको भए के घाटा हुन्थ्यो ? नेपाली साहित्यका लागि झनै गौरवको अनुभुति हुने थिएन र ?
कविवर माधव घिमिरेलाई राजतन्त्रात्मक व्यवस्थामा राज्यबाट एउटा कविले पाउनु पर्ने सम्पूर्ण पदवी, जागीर र व्यवस्था प्राप्त भएकै हो । नेपाली साहित्यकारमा व्यक्ति र सरकारबाट सबैभन्दा धेरै सुविधा र सम्मान प्राप्त गर्ने साहित्यकारको नाउँ लिनुपर्दा माधव घिमिरेको नाउँ नै अग्रपङतिमा आउँछ । प्रजातान्त्रिक व्यवस्थामा पनि नइ प्रकाशनकै पहल, समर्पण र सिफारिसमा उहाँलाई ‘राष्ट्रकवि’ बनाइएको हो ।

समान प्रकृतिका एकै व्यक्तिलाई मात्र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको कुलपति, गोरखा दक्षिणबाहु प्रथम, सार्क स्तरीय भूपालमानसिंह कार्की प्रज्ञापुरस्कार, राष्ट्रकवि र त्यसमाथि फेरि उपरीमाथि थुपरीका पद, मान र उपाधि प्रदान गर्नु कति हदसम्म न्यायोचित हुन्छ – त्यसैले विविध विधाका शिर्षथ स्रष्टा अर्थात् कवि, कथाकार, नाटककार, निबन्धकार, प्रबन्धकार, अन्वेषक र संस्कृतिविद् सत्यमोहन जोशीको योगदान माधव घिमिरेको भन्दा धेरै छ या थोरै छ ? त्यतिमात्र नभएर जोशीले एकातिर नेपाली राष्ट्रभाषाको गुण या थलो जुम्लाको सिंजा भनेर पत्ता लगाएर त्यसबारे ठुलठुला ठेली पनि लेखे र अर्कातिर अरनीकोको खोज गरेर नेपाली माझ मात्रै नभई सम्पूर्ण विश्वसामु चिनाई दिए । यी धेरै कारण जोडिन जाँदा जोशीलाई नै ‘शताब्दी पुरुष’का रुपमा रोजिएको हो ।

देशभित्र मात्र होइन, विदेशमा समेत नेपालको राष्ट्रिय गरिमा अभिवृद्धिमा लागिपरेका, शताब्दी प्रवेशमा पनि जागरुक सत्यमोहन जोशीले नेपाली भाषासाहित्यमात्र नभएर नेपाल भाषासाहित्यमा समेत अथक साधना गर्दै नेपाल भाषासाहित्यको संस्थागत विकासमा पनि योगदान गर्नुभएको छ । वर्तमान नेपालको परिस्थितिमा राष्ट्रिय एकताको सम्बर्द्धनका लागि समेत उहाँको महिमा गानको विशेष महत्व भएकाले नै पनि उहाँलाई ‘शताब्दी पुरुष’द्वारा सम्मान गरिएको हो ।

हाम्रो नेपालीे संसारमा राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशी उतिकै सशक्त हुनुहुन्छ । नेपाली साहित्यमा राष्ट्रकवि र शताब्दी पुरुष निर्माणका लागि नइले महत्वपूर्ण भूमिका निर्वाह गरेको बेहोरामा हामीले गौरवान्वित महसुस गरेका छौँ ।

१७. अबको योजना के छ ?
हाम्रो संस्थागत नियमित कार्यक्रमबाहेक अब हामी ‘नेपाल-भारत विश्वविद्यालयका नेपाली भाषासाहित्य प्राध्यापकहरूको बृहत् सम्मेलन’ गर्दैछौँ । यसका लागि त्रिमूर्ति निकेतनका मानार्थ सदस्य प्रा.डा. महादेव अवस्थी अध्यक्ष र डा. लक्ष्मणप्रसाद गौतम तथा डा. रजनी ढकाल उपाध्यक्ष रहेको समिति पनि गठन भैसको छ र त्यो समिति आफ्नो योजना र कार्यक्रममा सक्रियतापूर्वक कार्यरत छ ।
मधुपर्क मासिकका लागि मणी लोहनीले तयार गरेको अन्तवार्ता हामीले समकालीन साहित्यबाट साभार गरेका हौं ।

650 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom