भारतद्वारा पाकिस्तानमाथि हमला, आइसीसी खेल प्रभावित हुने सम्भावना

मङ्लबार, फाल्गुन १४, २०७५



कश्मीरको पुलवामा हमलाको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तान विरुद्ध ठूलो कारवाही गरेको छ । मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा पार गरी पाकिस्तान प्रशासित कश्मीरमा छिरेर चरमपन्थी गुटमाथि कारवाही गरेको छ । १२ वटा मिराज विमानले हजार किलो बम बर्साएर विभिन्न चरमपन्थी क्याम्प ध्वस्त भएको भारतीय मिडियाले दाबी गरेको छ ।

स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले भनेको छ, ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा जैश-ए-मोहम्मदको नियन्त्रणमा रहेका इलाका ध्वस्त भएको छ । बालाकोट पाकिस्तानको प्रान्त खैबर पख्तूनख्वाहमा अवस्थित छ । हमला भएको स्थान नियन्त्रण रेखाभन्दा करिब ५० किलोमिटर टाढा छ ।’

कश्मीरमा हालै भएको आक्रमणमा ४० जना भारतीय सैनिकको मृत्यु भएपछि भारतले उक्त हमलाको जवाफी कारवाही गर्दै मिराज-२००० ले बम खसालेको भारतीय मीडियाले जनाएका छन् । भारत यस हमलामा पाकिस्तानको हात रहेको आरोप लगाइरहेको छ भने पाकिस्तानले भने घटनामा कुनैपनि प्रकारको सग्लग्नता नरहेको बताउँदै आइरहेको छ ।

भारत र पाकिस्तानको चर्को विवादसँगै आगामी मे ३० देखि जुलाई १४ तारिखसम्म इङ्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेट खेल प्रभावित बन्ने भएको छ । तथापी आइसीसीले खेलमा कुनै प्रभाव नपर्ने जनाएको छ ।

भारतले विश्वकपमा पाकिस्तानसँग नखेल्ने धम्की दिएको छ । अधिकांश भारतीयले पाकिस्तानविरुद्धको खेल रद्द गरिनु पर्ने माग गरिरहेका छन् । तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भने आगामी विश्वकपमा भारत र पाकिस्तानबीच म्यानचेस्टरमा तय भएको खेल रद्द नहुने बताएको छ । ‘हामी विश्वकपमा सहभागी सदस्य राष्ट्रको अवस्था अध्ययन गरिरहेका छौँ । दुःखद घटनाले हामी सबैलाई प्रभावित बनाएको छ । खेलकुद, त्यसमा पनि क्रिकेटसँग यस्तो अचुक क्षमता छ । जसले सबै देशका मानिसलाई एक ठाउँमा जोड्न सक्छ । हामी सदस्य राष्ट्रसँग यही आधारमा काम गर्नेछौं,’ आईसीसीले भनेको छ ।

बीसीसीआईले भने आतंकवाद जन्माउनेसँगको नाता तोड्नुपर्छ भन्दै आईसीसीलाई घुर्की देखाइरहेको छ । भारतीय कप्तान विराट कोहलीले सरकार र क्रिकेट बोर्डले गर्ने निर्णय खेलाडीलाई सर्वस्वीकार्य हुने बताएका छन् ।

विश्वकपमा भारत र पाकिस्तानबीचको खेल जुन १६ तारिखमा परेको छ । विश्वकप सम्म आईसीसीले पाकिस्तान र भारतलाई मैदानमा मिलाउन सक्ला कि नसक्ला भन्ने चासो दिन-प्रतिदिन बढ्दै छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments