पाकिस्तानको लज्जास्पद हार, भारत ८९ रनले विजयी

सोमवार, असार २, २०७६



एजेन्सी । आइतबार राती सम्पन्न आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तान फेरि एक पटक भारतसँग पराजित भएको छ । भारतले पाकिस्तानलाई डीएल पद्दतिका आधारमा ८९ रनले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

विश्वकप क्रिकेटकै सर्वाधिक महत्वका साथ हेरिने यी दुई चीर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेलमा हालसम्म सधैं भारत हाबी हुने गरेको छ ।

पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३६ रनको विशाल योगफल बनायो ।

पटक पटक बर्षाका कारण प्रभावित खेलको ४६.४ ओभरमा भारतले ४ विकेट गुमाएर ३०४ रन बनाएको अवस्थामा आधा घन्टासम्म रोकिएको थियो ।

पाकिस्तानको कमजोर फिल्डिङका कारण सुरुवाती समयमा नै आउट हुनबाट जोगिएका रोहित शर्मा पाकिस्तानका लागि भारी साबित भए । उनले १ सय ४० रन बनाए भने अर्का ओपनर केएल राउलले ५७ रन जोडे ।

कप्तान विराट कोहलीले ७७ रन र हार्दिक पाण्ड्याले २६ रनको योगदान दिए ।

पाकिस्तानका मोहम्मद आमिरले ३ विकेट लिँदा हसन अलि र वहाव रियाजले एक एक विकेट लिए । जवाफमा ३३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले खराब सुरुवात गर्यो । उसका ओपनर इमाम उल–हक सस्तैमा आउट भए ।

पाकिस्तानका लागि फकर जमानले ६२ रनको अर्धशतकीय पारी खेले भने बाबर आजमले ४८ तथा इमाद वासिमले अविजित ४६ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् ।

पाकिस्तानले ब्याटिङ गरिरहँदा पुनः बर्षा भएपछि खेल ४० ओभरमा घटाइएको थियो । जसमा पाकिस्तानले डीएल पद्दतिका आधारमा ३ सय २ रनको नयाँ लक्ष्य पायो ।

३५ ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन मात्रै बनाएको पाकिस्तानले त्यसपछि खेल जित्न ५ ओभरमा १ सय ३५ रनको असम्भव लक्ष्य पायो । जसमा इमाद वासिम र शादव खानले अन्तिम समयसम्म खेल्दै २१२ रनसम्म पुर्याए र पाकिस्तान ८९ रनले पराजित भयो ।

भारतका विजय शंकर, हार्दिक पाण्डया र कुलदिप यादवले २२ विकेट लिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank