भारतीय लोकसभा निर्वाचन: भाजपा एक्लैको भारी बहुमत

भारतका कुल ३० मध्ये १६ राज्यमा काँग्रेस शून्य

शुक्रबार, जेष्ठ १०, २०७६



काठमाडौं । भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) एक्लैले भारी बहुमत ल्याएको छ  । सरकार बनाउनका लागिदुई सय ७२ सिट आवश्यक पर्ने भए पनि भाजपा एक्लैले ३ सय बढी मत ल्याएको छ भने भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स(एनडीए) ले ३५० सिट जितेको छ । भारतीय जनता पार्टी एक्लैले ३०४ स्थानमा जित हासिल गरेको छ ।

१६  राज्यमा कंग्रेस शून्य:

यस्तै प्रतिपक्षमा रहेको काँग्रेसले ९६ स्थानमा मात्रै जित हासिल गरेको छ । उसको कुनै स्थानमा अग्रता देखिँदैन ।

१३५ वर्ष पुरानो  काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले आफ्नो पारिवारिक सिट अमेठीबाट हारेका छन् । उनलाई ५४ हजार सात सय ६७ मतको अन्तरले केन्द्रीय मन्त्री स्मृति इरानीले हराइन् । २००९ र २०१४ मा पनि स्मृतिले राहुललाई चुनौती दिएकी थिइन् । तर, उनको तेस्रो प्रयास सफल भयो । यसपालि राहुलले चार लाख १२ हजार र स्मृतिले चार लाख ६७ हजार मत पाए ।

भारतका कुल ३० मध्ये १६ राज्यमा  काँग्रेस शून्य भएको छ । दिल्ली, हरियाणा, गुजरात, आन्ध्र प्रदेश, राजस्थान, हिमाञ्चल, उत्तराखण्ड, अरुणाञ्चल, उडिसा, त्रिपुरा, मणिपुर, मिजोरम, सिक्किम, चण्डिगढ, लक्ष्यदीप र अन्डेमाननिकोबरबाट कंग्रेसले प्रतिनिधित्व पाएको छैन ।

 कन्हैयाकुमार पराजित:

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कडा आलोचक तथा यूवा नेता कन्हैयाकुमार बिहारको बेगुसरायबाट लोकसभामा पराजित भएका छन्।

भाजपा उम्मेदवार गिरिराज सिंहले भारतीय कम्युनिष्ट पार्टीका कन्हैयाकुमारको भन्दा झन्डै चार लाख बढी मत ल्याएर जित हासिल गरेका छन्।

गिरिराजले ६ लाख ३ हजार २२ मत  पाएका छन् भने कन्हैयाले २ लाख ३६ हजार १३३ मत ल्याएका छन्।

यसैगरी समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठबन्धनले १५ सिट जितेको छ भने तृणमुलले २२ सिटमा जित दर्ता गराएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank