नेपालले जारी गरेको नक्सा स्वीकार्य हुँदैन – भारत

बिहिबार, जेष्ठ ८, २०७७



काठमाडौँ । भारतले नेपालले एकतर्फी रुपमा नयाँ नक्सा जारी गरेको भन्दै त्यो आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ । बुधबार नेपालले सार्वजनिक गरेको नयाँ नक्साका बारेमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले एकतर्फी रुपमा भारतीय भूमि आफ्नो नयाँ नक्सा समेटेको आरोप लगाए ।

उनले भनेका छन्, “”नेपालले सार्वजनिक गरेको संशोधित नक्सामा भारतीय भूभाग समेटिएको छ । नेपालले गरेका एकतर्फी कार्य कुनै ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन ।”

भूभागको यस्तो कृतिम विस्तारलाई भारतले स्वीकार नगर्नेसमेत विज्ञप्तिमा भनिएको छ ।  यो कार्य सीमा विवादलाई द्विपक्षीय कूटनीतिक वार्ताका माध्यमद्वारा हल गर्ने पूर्व प्रतिबद्धताको पनि विपरीत भएको जनाइएको छ ।

यो विषयमा भारतको पहिलेदेखिको स्थिर अडानबारे नेपाललाई जानकारी भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “हामी नेपाल सरकारलाई भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं । साथै सीमा मामिलाको समाधान गर्नका लागि नेपालको राजनीतिक नेतृत्वले सकारात्मक वातावरण बनाउने भारतले आशा राखेको छ ।”

सरकारले बुधबार दिउँसो नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments