सन् २०२७ सम्ममा भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक बन्दै

एक्काइसौं शताब्दीको अन्त्यसम्म विश्वको जनसंख्या ११ अर्ब पुग्ने,

बुधबार, असार ४, २०७६



एजेन्सी । संयुक्त राष्ट्र संघको पछिल्लो रिपोर्टअनुसार छिमेकी मुलुक भारत सन् २०२७ पछि विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक हुने उल्लेख गरिएको छ ।  आगामी ८ वर्ष भित्र भारत चीनलाई उछिन्दै २७३ मिलियन जनसंख्या थप्ने छ । अहिले र सन् २०५०को बीचमा भारतमा थपिने भनिएको २७३ मिलियन जनसंख्याले भारतलाई विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक बनाउँदै छ ।

‘द वोर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०१९ः हाइलाइट्स’ नामको अस्ति (सोमबार) प्रकाशित रिपोर्टमा विश्वको जनसंख्या आगामी ३० वर्षमा अहिले रहेको ७ दशमलब ७ बिलियन(७अर्ब ७० करोड)बाट बढेर सन् २०५० सम्ममा ९ दशमबलब ७ बिलियन (९ अर्ब ७० करोड)पुग्ने जनाइएको छ । यो शताब्दिको अन्त्य सम्ममा विश्वको जनसंख्या ११ बिलियन(११ अर्ब) पुग्ने समेत अध्ययनले देखाइएको छ ।

सन् २०५० सम्ममा उच्च जनसंख्या बृद्धि हुने ९ मुलुकमा भारत,  नाइजेरिया, पाकिस्तान, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इथियोपिया, तान्जानिया, इण्डोनेसिया, इजिप्ट र अमेरिका हुने जनाइएको छ । सन्  २०५० सम्ममा नाइजेरियामा २०० मिलियन मानिस बढ्ने जनाइएको छ । भारत र नाइजेरियाको मात्रै जनसंख्या त्यतिबेला विश्वको २३ प्रतिशत जनसंख्या हुने समेत रिपोर्टमा उल्लेख छ ।   यसअघि संयुक्त राष्ट्र संघको प्रतिवेदनमा भारत, चीन भन्दा बढी जनघनत्व भएको मुलुक  सन् २०२२ सम्ममा नै हुने र जनसंख्याको हिसाबले सन् २०२४ मा उछिन्ने जनाइएको थियो ।

चीनमा अहिले १ दशमलब ४३ बिलियन मानिस रहेका छन् भने भारतमा १ दशमलब ३७ बिलियन मानिस रहेका छन् । यी दुई देश विश्वका धेरै जनसंख्या भएका मुलुकमा पर्छन । चीनले विश्वको जनसंख्याको कूल १९ प्रतिशत र भारतले १८ प्रतिशत अ‍ोगटेका छन् । त्यसपछि अमेरिका ३२९ मिलियन र इण्डोनेसिया २७१ मिलियन जनसंख्या रहेका मुलुक भएको  २०१९ को रिपोर्टमा उल्लेख छ ।

सन् २०५० सम्ममा भारतको जनसंख्या १ दशमलब ५ बिलियन हुने र चीनमा १ दशमलब १ बिलियन, नाइजेरियामा ७३३ मिलियन, अमेरिकामा ४३४ मिलियन र पाकिस्तानमा ४०३ मिलियन जनसंख्या हुने अनुमान गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank