इजराइलका प्रधानमन्त्री नेतन्याहू चुनाव जितेर पनि सरकार बनाउन असफल, पुनः चुनाव हुने

बिहिबार, जेष्ठ १६, २०७६



एजेन्सी । इजरायलमा सेप्टेम्बर १७ तारिखमा पुनः चुनाव हुने भएको छ । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहू गठबन्धन सरकार बनाउन असफल भएपछि इजरायली सांसदले संसद भंग गर्ने पक्षमा मतदान गरेका हुन् ।

एक महिना अघि मात्रै भएको चुनाव पश्चात नेतन्याहू नयाँ दक्षिणपन्थी गठबन्धन बनाउने विषयमा सम्झौता गर्न असफल भएका थिए ।

इजराइलको इतिहासमा चुनिएका प्रधानमन्त्रीले गठबन्धन सरकार बनाउन असफल भएको यो पहिलो घटना हो ।

गतिरोधको कारण के ?

गठबन्धन गर्नका लागि  बुधबार रातीसम्मको समय सीमा पूरा भएपछि पेश गरिएको संसद भंग गर्ने प्रस्तावको पक्षमा ७४ मत खस्यो भने ४५ ले यसको विरोधमा भोट हाले ।

अप्रिलमा भएको चुनावमा १२० मध्ये ३५ सिटमा नेतन्याहूको लिकुड पार्टीले जित हासिल गरेको थियो ।

नेतन्याहूले पाँचौ पटक प्रधानमन्त्रीको रुपमा कार्यकाल पूरा गर्ने  अनुमान गरिएको थियो तर उनी पूर्व रक्षामन्त्री एविग्दोर लिबरम्यानसँग सम्झौता गर्न असमर्थ भए । उनको समर्थन बिना सरकार बनाउन सम्भव थिएन ।

राष्ट्रवादी दल ‘इजराइल बेतेन्यू पार्टी’सँग सम्बन्धित एविग्दोर लिबरम्यानले अति–रुढिवादी यहूदी दललाई अनिवार्य सैन्य सेवामा छुट दिने आफ्नो मस्यौदामा परिवर्तन गर्नुपर्ने शर्त राखेका थिए ।

नेतन्याहूको पार्टीसँग गठबन्धनमा भएको अति–रुढीवादी यहूदी दल पुरातनवादी कट्टर यहूदीलाई अनिवार्य सैन्य सेवाबाट पाएको छुटमा कुनै परिवर्तन होस् भन्ने चाहँदैन । तर लिबरमन यसको समीक्षा चाहन्छन् ।

एविग्दोर लिबरम्यान

नेतन्याहूको प्रस्तावः

इजरायली राष्ट्रपतिले संसदका अन्य सदस्यलाई सरकार बनाउने निम्तो दिनुअघि नै नेतन्याहूले पुनः चुनाव गराउनका लागि संसद भंग गर्ने प्रस्ताव गरे ।

संसदमा भएको मतदानपछि नेतन्याहूले पत्रकारसँग कुरा गर्दै भने, ‘म एक अस्पष्ट चुनाव अभियान चलाउनेछु जसले हामीलाई जिताउनेछ । हामी पुनः जित्नेछौं । हामी जित्नेछौं र हामीसँग जनताको पनि जीत हुनेछ ।’

प्रधामन्त्रीमाथि धोकाधडी र भ्रष्टाचार गरेको आरोप पनि लागेको छ  । साथै उनले आफूलाई मुद्दाबाट बचाउने कोसिस पनि गरेको आरोप लागेको छ ।

उनले अमेरिकी व्यवसायीबाट उपहार लिएको र उनले मिडियामा उनीबारे सकारात्मक समाचार सम्प्रेषणका लागि सहयोग पुर्‍याएको आरोप लागेको छ । यता नेतन्याहूको भने आफूले केही गलत नगरेको जिकिर छ ।

-बीबीसी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments