इमरान खानद्धारा प्रधानमन्त्री पदको सपथ ग्रहण

शनिबार, भदौ २, २०७५



काठमाडौँ । पाकिस्तानको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानले शनिबार सपथ ग्रहण गरेका छन् । मुलुकको सवै भन्दा ठूलो पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)बाट प्रधानमन्त्रीको उम्मेदवार भई विजयी भएका खान पाकिस्तानको २२ औँ प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री बन्नका लागि आवश्यक पर्ने १७२ मत मध्ये प्रतिनिधि सभामा शुक्रबार भएको निर्वाचनमा खानले १७६ मत पाएपछि उनलाई शनिबार सपथ ग्रहण गराइएको हो । खानका प्रतिश्पर्धी तथा पाकिस्तान मुस्लिम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका शाहबाज शरिफले भने ९६ मत मात्रै प्राप्त गरेका थिए । सपथग्रहण समारोहमा उच्च पदस्थ व्यक्ति, विदेशी पाहुनाहरुसँगै उनकी श्रीमती बुशरा मेनका पनि सहभागी भएका थिए ।

खानले आफ्नो मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गत जुलाई २५ तारिखमा पाकिस्तानमा भएको आमनिर्वाचनबाट पूर्वक्रिकेटर खानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआइ) ले ११४ स्थानमा जित हासिल गरेर सवै भन्दा ठूलो पार्टी भएको छ ।

सरकार गठनका लागि आफुले मात्रै बहुमत प्राप्त नगरेकाले उनले गठबन्धन सरकार बनाउनु पर्ने छ । विपक्षीहरुले अस्विकारेकाले विवादका बीच निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् ।

सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले प्रधानमन्त्री बनेका हुन् ।

देशमा भ्रष्टाचारविरोधी अभियान चलाउँछुः इमरान खान
यसैबीच शुक्रबार पाकिस्तानको संसदद्धारा प्रधानमन्त्रीमा निर्वाचित र शनिबार सपथ खाएका इमरान खानले देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने बताएका छन् ।

उनले भने मैले विगतदेखि नै पाकिस्तानमा व्याप्त भ्रष्टाचार विरोधी अभियान चलाएको हो र अब देशको नेतृत्व गरेपछि पनि मैले यसलाई थप गति दिनेछु ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata