श्रम स्वीकृति बिना बैदेशिक रोजगारमा जाने गरेको तथ्याङक सार्वजनिक

बुधबार, पुस ४, २०७५

- पदमराज भट्ट



कैलाली । वैदेशिक रोजगारीमा जाने अधिकांश व्यक्ति श्रम स्वीकृति नलिई रोजगारीमा जाने गरेको एक तथ्यांक सार्वजनिक भएको छ । सुरक्षित आप्रवासन(सामी) परियोजनाले १९ औं अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसरमा मंगलबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा प्रस्तुत प्रेस विज्ञप्तीमा अधिकांश व्यक्ति श्रमस्वीकृति नलिईकनै वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख गरेकाे छ ।

प्रस्तुत  तथ्यांक अनुसार कैलाली जिल्लामा आर्थिक वर्ष २०६७ /०६८ देखि २०७४/ ०७५ सम्म ३६ हजार ८७१ जना मात्रै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । उक्त अवधिमा वाह्य देशका लागि ४५ हजार ८१६ जना पुरुष र पाँच हजार ९५६ महिला गरि ५१ हजार ७७२ जनाले पासपोर्ट लिएका थिए । जस मध्ये ३६ हजार ६४ जना पुरुष र ८०७ जना महिलाले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको तथ्यांकमा उल्लेख रहेको छ ।

त्यस्तै वैदेशिक रोजगारीका लागि २६ हजार ९४३ जनाले सूचना केन्द्रबाट सेवा लिएका छन् । नेपाल सरकारले १ सय १० देश रोजगारीका लागि खुल्ला गरेका छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार हाल सम्म २०७५ कार्तिक मसान्तसम्म ५१ लाख ९९ हजार ४१ जना पुरुष र दुई लाख चार हजार ३७२ जना महिला श्रम स्वीकृति लिई विदेश गएका छन् । श्रम स्वीकृति अभिलेख आव २०५०/०५१ देखि शुरु भए पनि महिला र पुरुषको अभिलेख आव २०६३/०६४ देखि मात्र राख्ने व्यवस्था भएको हो ।

 श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जाँदा गनतब्य मुलुकमा भने अनुसारको काम, कम्पनी र सुविधा नपाउने समस्या हुने आप्रवासी कामदार हकहित संरक्षण मञ्चका अध्यक्ष नारायाण विके बताए । त्यसका साथै वैदेशिक रोजगारीमा जाने कामदार आफ्नै मुलुक र गनतब्य मुलुकमा लागत भन्दा बढी रकम तिर्नु पर्ने, रकम तिरेर गन्तब्य मुलुकमा लामो समय सम्म जान नपाउने, नक्कली भिषा र भिजिट भिषामा पनि अत्यधिक रकम लाग्ने लगायतका समस्या झेल्नु पर्ने अध्यक्ष विक बताए ।

सरक्षित आप्रवासन परियोजनाका पञ्चराम चौधरीले वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि व्यक्तिगत तथा सामूहिक रुपमा सूचना तथा परामर्श सेवा, सामुदाय परिचालन, सीप, कानुनी सेवा, मनो समाजिक परामर्श सेवा, वित्तिय साक्षरता लगायतका काम गरिरहेको बताए । जसले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई सहजता भएको उनले बताए । यसका साथै उनले वैदेशिक रोजगारीमा जाने सबै व्यक्तिलाई सकेसम्म सबै प्रक्रिया बुझेर मात्र जान पनि सुझाए ।

281 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank