आयोजक इंग्ल्यान्ड सेमिफाइनलमा,पाकिस्तान संकटमा पर्ने खतरा

बिहिबार, असार १९, २०७६



एजेन्सी । बुधबार राति भएको खेलमा न्यजिल्यान्डमाथि ११९ रनको फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न आयोजक इंग्ल्यान्ड सफल भएको छ ।  यस जितसँगै विश्वकप क्रिकेटको सेमिफाइनलमा इंग्ल्यान्ड प्रवेश गरेको छ  ।

इंग्ल्यान्ड दिएको ३०६ रनको चुनौती पछ्याएको न्युजिल्यान्ड खराब प्रदर्शन गर्दै ४५ ओभरमा १८६ रनमा समेटियो ।

न्युजिल्यान्डका लागि टोम नाथमले ५७ रन बनाए भने रोस टेलरले २८ र कप्तान केन विलियम्सनले २७ रन बनाए । स्कोरबोर्डमा एक रन हुँदा पहिलो विकेट गुमाएको न्युजिल्यान्डले १४ रन हुँदा दोस्रो विकेट गुमाएको थियो ।

रिभरसाइड ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोनी बेयरेस्टो र जासोन रोयले उत्कृष्ट प्रदर्शन गर्दै १२३ रनको साझेदारी गरे । बेयरेस्टोले ९९ बलमा १५ चौक र एक छक्का प्रहार गर्दै १०६ रन बनाए भने रोयले ६० रनको योगदान दिए ।

कप्तान इयोन मोर्गन ४२ र जोय रुटले २४ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, मट हेनरी र जेम्स निसामले समान २–२ विकेट लिए ।

जितसँगै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । पराजित न्युजिल्यान्डको पनि सेमिफाइनल पुग्ने सम्भावना बलियो छ । अब शुक्रबारको खेलमा बंगलादेशले पाकिस्तानलाई हराएमा न्युजिल्यान्ड पनि सेमिफाइनलमा पुग्नेछ ।

तर बंगलादेशमाथि पाकिस्तानले फराकिलो अन्तरको जित हात पारेमामात्रै न्युजिल्यान्डको अघिल्लो चरणको यात्रा रोकिन सक्छ । तर सो सम्भावना निकै कमजोर छ । किनकि पाकिस्तान रनरेटमा न्युजिल्यान्डभन्दा धेरै पछि छ ।

इंग्ल्यान्ड लिग चरणमा ९ खेलमध्ये ६ खेलमा जित र तीन खेलमा हार व्यहोर्दै  १२ अंक बनाएर विश्वकपको सेमिफाइनल पुगेको हो । अष्ट्रेलिया र भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank