जब चिन्दै नचिनेको व्यक्तिलाई अदालतले श्रीमान् बनाइदियो…

शुक्रबार, बैशाख १४, २०७५

जिन्दगीभर साथ दिन्छु भनेर बिहे गरेका श्रीमान्‌ले पेन्सनपट्टा बनाउने बेलामा सौता ल्याए । तिनैलाई सजाय दिलाउन र छोराछोरीको प्राण धान्न कानुनी उपाय खोज्दा बाग्लुङकी नीरमाया पुनलाई नसोचेको आपत आइलाग्यो । लोग्नेले अर्की लिएर हिँडेको पीडामा छटपटिएकी नीरमायालाई जिल्ला अदालत दाङले अर्कैकी श्रीमती भनी कानुनी ल्याप्चे लगाइदियो । कान्तिपुरबाट

चिन्नु न देख्नु, दाङ हासिपुरका दीपक भनिने फनाधर घर्तीमगरलाई अदालतले उनको श्रीमान् ठहर गरिदियो। उजुरी परेका बेलासम्म दाङमा पाइलासमेत नहालेकी नीरमायालाई कहिल्यै अनुहारसमेत नदेखेको व्यक्तिलाई पति कायम गरिदिने २०७४ जेठ २९ गतेको फैसलाले आकुलव्याकुल बनाएको छ।

‘बालबच्चाको बिचल्ली छ, तिनैलाई स्याहारसुसार गर्ने मेलो होला भनेर अंश र बहुविवाहको मुद्दा लडेकी थिएँ, मलाई त अदालतले अर्कैको श्रीमती भनिदियो,’ आफ्नो पीडा बताउन कान्तिपुर दैनिककै कार्यालयमा आएकी नीरमायाले भनिन्, ‘नखाएको विषसमेत लाग्दोरहेछ। देख्दै नदेखेको व्यक्तिलाई श्रीमान् हो भनिदिएको छ, जाँदै नगएको ठाउँमा बिहे गरेको भनेको छ। म त न्याय खोज्न अदालत गएको, अन्यायमा पो परें।’
२०७२ साउन २७ : जिल्ला अदालत बाग्लुङमा बहुविवाहको मुद्दा दायर
जिल्ला अदालतको फैसलापछि उनले न्यायपरिषदका साथै प्रधानन्यायाधीशको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत उजुरी दिएकी छन्। बालबच्चाको हेरचाहका लागि काठमाडौंमा बहिनीसँग बसेकी उनले दाङ, कास्की र बाग्लुङ गरी ९ वटा मुद्दा झेलिरहेकी छन्।
यस्तो थियो घटनाक्रम
प्रसंग सुरु हुन्छ, भारतीय सेनामा कार्यरत बाग्लुङका प्रेमबहादुर पुनको टुंगिन लागेको लाहुरे जीवनबाट। प्रेमले अवकाश पाउने बेलामा पेन्सनपट्टा बनाउन पत्नी नीरमायालाई भारत लैजान्छन्। त्यस क्रममा प्रेमबहादुरले हकवालामा ‘दुईजना’को नाम राख्न खोज्छन्। त्यसको कारण खोज्ने क्रममा आपसमा बाझाबाझ हुँदा प्रेमबहादुरले अर्को विवाह गरेको र कान्छी श्रीमतीलाई समेत हकवालाका रूपमा राख्न खोजेको रहस्य खुल्छ।
२०७२ असार २२ : विद्यालयबाट अभिभावकको नामसहित बालबालिकाको विवरण तयार
२०५६ असोज ८ गते लगनगाँठो कसेको करिब दुई दशकपछि लोग्ने पेन्सनमा घर फर्केलान् र सँगै दु:खमसुखम गरौंला भनेर पर्खिरहेकी नीरमायालाई छलेर एक छोरी र छोराका पिता प्रेमबहादुरले अर्को विवाह गरे। नीरमायाले नेपाल फर्किएलगत्तै २०७२ भदौमा कास्की जिल्ला अदालतमा बहुविवाह, अंश र छोराछोरीको जिम्मा पाऊँ भनी तीनवटा मुद्दा दायर गरिन्। उनले पति प्रेमबहादुर र कान्छी पत्नी खिममायालाई प्रतिवादी बनाइन्। उनीहरूको स्थायी ठेगाना बाग्लुङ भएकाले बहुविवाह र अंश मुद्दा कास्कीबाट बाग्लुङ जिल्ला अदालत पुग्यो। त्यसकै आधारमा भारतको हिमाञ्चल प्रदेशमा कार्यरत श्रीमान्‌को पेन्सनपट्टासमेत रोक्का भयो। २०७२ साउन २७ गते जिल्ला अदालत बाग्लुङमा दर्ता भएको मुद्दा असोज ११ र कात्तिक ११ गते पेसीमा चढेर साक्षी बुझ्ने आदेश भएपछि घटनाले नाटकीय रूप लियो।
नयाँ पात्रको प्रवेश
२०७२ कात्तिक २२ गते जिल्ला अदालत बाग्लुङमा नयाँ पात्रको प्रवेश भयो। मुद्दामा कुनै साइनो र सरोकार नभएका दीपक भनिने फनाधर घर्तीमगरले प्रेमबहादुर पुनकी पत्नी नीरमायालाई आफूले बिहे गरेको भनी बयान दिए। जिल्ला अदालत दाङबाट प्राप्त मिसिलअनुसार, निमित्त जिल्ला न्यायाधीश शंकर सापकोटाको इजलासमा उनले भने, ‘जाहेरवाला नीरमाया पुन मेरो श्रीमती पर्छिन्। २०६८ भदौ १ गतेका दिन पोखरा रामबजारमा विवाह भई लोग्नेस्वास्नी बनी बसेका हौं।’
२०७२ कार्तिक २२ : नीरमाया आफ्नो पत्नी रहेको दाबी गर्दै फनाधर घर्तीमगरद्वारा बागलुङ अदालतमा बयान
उनले बयानकै क्रममा नीरमाया पछिल्लो समय आफूसँग सम्पर्कविहीन भएको उल्लेख गर्दै भेटघाट र बोलचालसमेत नभएको बताए। आफूलाई २५ दिन कास्की प्रहरीले थुनामा राखेको र त्यसको कारणसमेत थाहा नभएको बयान दिए। बालबच्चाका अभिभावकको नाम, पुरानो घरजमलगायतका विषयमा समेत उनीमाथि अदालतमा सोधपुछ भयो। नीरमायाले आफ्ना पति प्रेमबहादुर र सौता भनी दाबी गरेकी खिममायाविरुद्ध दायर गरेको मुद्दा जिल्ला अदालत बाग्लुङमा चलिरहेको थियो। मुद्दा कहिले सरकारी वकिल त कहिले विपक्षीका कानुन व्यवसायीबाट पटकपटक स्थगित भएको थियो। त्यसै क्रममा प्रेमबहादुरका कानुन व्यवसायीले मुद्दा स्थगितको माग मात्रै राखेनन्, जाहेरी दिने नीरमाया र दीपक भनिने फनाधर घर्तीविरुद्ध नै दाङ जिल्ला अदालतमा बहुविवाहको मुद्दा परेको खबर गरे। नीरमाया छाँगाबाट खसेझैं भइन्।
जिल्ला अदालत कास्कीबाट मुद्दा टुंगो लाग्नु त कता हो कता, उल्टै दाङमा आफूविरुद्ध मुद्दा लागेको थाहा पाएपछि नीरमाया सहयोगी बहिनी विष्णुमाया गुरुङका साथ दाङ पुगिन्। बिनाआधार आफूसँग नाम जोडिएका दीपक भनिने फनाधरकी पत्नी चेमा घर्तीले नीरमाया र फनाधरविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दिई जिल्ला अदालतमा मुद्दा दायर गरेको उनले थाहा पाइन्। त्यस क्रममा नीरमायाका पति प्रेमबहादुर र अरू केही कानुन व्यवसायीको समेत दाङमा ‘दौडधुप’ चलेको उनले थाहा पाइन्।
बहुविवाह गरेको भनी पति र सौताविरुद्ध मुद्दा हालेकी बाग्लुङकी नीरमाया पुनले न्याय पाउनु त कता हो कता, अदालतले उल्टै चिन्दै नचिनेको मान्छेलाई लोग्ने कायम गरिदिने फैसला गर्‍यो
के के भयो, त्यसका लागि सम्बन्धित मिसिल र फैसला नै हेर्नुपर्छ। सायद त्यसमा अपिल भयो होला। नहेरी यसै भन्न सकिएन : चुरामन खडका, न्यायाधीश
त्यस क्रममा अदालतको अवहेलनादेखि गालीबेइज्जतीसम्मका मुद्दा थपिँदै गए। फनाधरलाई अचानक मुद्दामामिलामा प्रवेश गराएको समूहले त्यतिमै चित्त बुझाएन। पोखरा नजिकैको कास्कीको लेखनाथ २९ भण्डारढिकमा रहेको जनप्रकाश माविमा समूह पुग्यो। नीरमायाका छोराछोरीको नामसँग मिल्ने गरी उनीहरूले प्रतिमा पुनलाई ६ र प्रतिम पुनलाई १ कक्षामा भर्ना गराए। अनि बाबुका नाममा दीपक पुन र आमाका नाममा माया पुन लेखाए। उनीहरूले ठेगानासमेत हासीपुर-७, राप्ती दाङ भनी उल्लेख गरिदिए। विद्यालयले कुनै कागजात र प्रमाणपत्रबिना हचुवाका भरमा विद्यार्थी र बाबुआमाको नाम लेख्यो। ती विद्यार्थी एकदिन पनि विद्यालयमा उपस्थित हुनु त टाढाको कुरा, विद्यालयमै पाइलो टेकेनन्।
नखाएको विष लागेपछि…
दाङमा अर्को मुद्दा दर्ता गरेको खबरपछि बाग्लुङ जिल्ला अदालतले मुद्दा मुल्तवीमा राखेका कारणले त्यसको कथावस्तु तत्काललाई टुङ्ग्याइयो। दाङमा दर्ता भएको बहुविवाहको मुद्दामा अदालतले फनाधर घर्तीले नीरमाया पुनसँग बहुविवाह गरेको ठहर गर्‍यो। न्यायाधीश चुरामन खडकाको इजलासले २०७४ पुस २९ गते गरेको फैसलामा फनाधरलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला गर्‍यो भने नीरमायाका हकमा ‘जानाजान बहुविवाह गरेको नदेखिएको’ आधार देखाई कुनै सजाय गरेन। ‘देख्दै नदेखेको मान्छेलाई अदालतले तेरो लोग्ने हो भनेपछि मलाई त सुरुमा हाँसो उठ्यो,’ नीरमायाले भनिन्, ‘यही फैसला लिएर मेरो लोग्ने प्रेमबहादुरले पल्टनबाट रोक्का भएको २० लाख रुपैयाँ र पेन्सनपट्टासमेत निकालेछन्। त्यसपछि बल्ल मलाई यस्तो किन गरिएको छ भन्ने थाहा भयो।’
65 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank