आकाशबाट पानी मात्रै होइन ‘प्लास्टिक पनि परिरहेको छ !’

मङ्लबार, भदौ ३, २०७६



एजेन्सी । वातावरणीय पक्षलाई दिनानुदिन कुरूप बनाइरहेको प्लाष्टिकजन्य प्रदुषणको प्रकोप चुलिँदो क्रममा छ । प्लाष्टिकजन्य पदार्थहरू पेट्रोलियम वा प्राकृतिक ग्याँस जस्ता अनवीकरणीय उर्जाका स्रोतबाट निर्माण हुन्छन्। जसको प्रत्यक्ष प्रभाव हाल विश्वमा व्याप्त जलवायु परिवर्तनलगायतका समस्याहरुमा देख्न सकिन्छ ।

यसैक्रममा अमेरिकी आन्तरिक विभाग र युएस जिओलोजिकल सर्भेका वैज्ञानिकहरुले गरेको एक अध्ययनले दुनियाँ मा खैलाबैला मच्चाएको छ । वर्षायाम लागेसँगै  पृथ्वीको भू-भागहरु रिचार्ज हुने क्रममा वैज्ञानिकहरुले यस्तो तथ्य सार्वजनिक गरे । जसले विश्वलाई आतंकित बनाइदियो । आकाशबाट पानीसँगै प्लाष्टिक पनि परिरहेको कोलोराडोको वर्षा सर्वेक्षण गरिरहेका अनुसन्धानकर्ताहरुको निष्कर्ष निकालेका छन्  । ‘प्लास्टिक परिरहेको छ’ शीर्षकको सो अध्ययनमा फेला परेका प्लाष्टिक फोहोर र कपडाहरुबाट हुन सक्ने बताइएको छ ।

नाङ्गो आँखाले देख्न नसकेपनि बाइनोकुलर माइक्रोस्कोपबाट हेर्दा उनीहरुले ९० प्रतिशत स्याम्पलमा प्लाष्टिकका ससाना टुक्रा फेला पारेका हुन् जुन रङ्गीचङ्गी भएको बताइएको छ । सबैभन्दा धेरै नीलो रङ्गका प्लाष्टिक थिए भने त्यसपछि रातो, चाँदी रङको र बैगुनी, हरियो, पहेँलो लगायत थुप्रै रङ्गका प्लाष्टिकहरु फेला परेका हुन् । यसरी विश्वव्यापी रुपमा प्लाष्टिकजन्य प्रदुषण नयाँ समस्या बनिरहेका बेला सो प्लाष्टिक कसरी पानीमा आयो भन्ने स्पष्ट नभएको उनीहरुले बताए ।

विश्वभरका श्रोतबाट आउने प्लाष्टिकका टुक्रा अन्त्यमा समुद्रमै मिल्ने गर्दछ जसले माछा लगायत पानीमा बस्ने जीवहरुलाई गम्भीर नोक्सान पुर्याइरहेको छ । तथ्यांकका अनुसार , प्रत्येक वर्ष विश्वमा ५०० बिलियन प्लास्टिक ब्यागहरू प्रयोग हुन्छन्। प्रत्येक वर्ष कम्तिमा ८० लाख टन प्लाष्टिक समुन्द्रमा मिसाइएको छ। यो भनेको प्रत्येक मिनेट एक ठूलो ट्रकभरीको प्लाष्टिकको मात्रा हो।

रोनाल्ड गेयर नामक अनुसन्धानकर्ता र उनको टिमले गरेको अनुसन्धानले भन्छ, ‘हालसम्म ८.३ खर्ब मेट्रिक टन प्लाष्टिकको उत्पादन भएको छ, जसले ६.३ खर्ब मेट्रिक टन फोहोर पदार्थ पैदा गरेको छ।’

साइन्स एड्भान्सेस् नामक जर्नलको २०१७, जुलाई अंकमा प्रकाशित अनुसन्धान अनुसार संसारमा कुल उत्पादन भएको प्लाष्टिकको करिब ७९ प्रतिशत फोहोरको रुपमा फालिन्छ, १२ प्रतिशत जलाईन्छ र बाँकी ९ प्रतिशत मात्र पुनःप्रयोग गरिन्छ।

यअसघिको खोजमा मान्छेले हरेक हप्ता एटिएम कार्ड जत्रै अर्थात्  ५ ग्राम प्लाष्टिक निलिरहेको पत्ता लागेको थियो । तर पनि अझै यसले हाम्रो स्वास्थ्यमा पुर्याउन सक्ने हानिबारे भने कुनै जानकारी प्राप्त नभएको वैज्ञानिकहरु बताउँछन् ।

विज्ञहरुका अनुसार एसिया र विशेषगरी चीनबाट  अत्याधिक धेरै सङ्ख्यामा प्लाष्टिक आइरहेको छ ।  समुद्रमा देखिएका प्लाष्टिक अरु देश र अन्य विभिन्न श्रोतबाट त्यहाँसम्म पुगेका हुन् । अन्य राष्ट्रहरुले यसलाई राम्रो व्यवस्थित गरिरहेका छैनन् । यसरी पानी, हिउँ गर्दै बिस्तारै प्लाष्टिक वातावरणकै एउटा हिस्सामा परिणत भइरहेकाप्रति वैज्ञानिकहरुले गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् ।  द गार्जियनबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata