नवीकरणबिनै चल्दै ५० शय्यामुनिका अस्पताल

बुधबार, पुस १६, २०७६



५० शय्यामुनिका स्वास्थ्य संस्था नवीकरणबिनै सञ्चालन भएको पाइएको छ । प्रादेशिक संरचनाअनुसार स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० परिमार्जन हुन नसक्दा ती स्वास्थ्य संस्था नवीकरणबिनै सञ्चालन भएको पाइएको हो ।

निर्देशिकामा सरकारी, निजी, सामुदायिक, गैरसरकारी वा सहकारीस्तरमा स्थापना हुने स्वास्थ्य संस्थाको सेवा विस्तार, स्तर वृद्धि, स्वास्थ्य सेवा सञ्चालन गर्दा पालन गर्नुपर्ने मापदण्ड तथा स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रदान गर्ने उल्लेख छ । तर, पनि सो निर्देशिका प्रभावकारी तवरबाट कार्यान्वयन हुन सकेको छैन ।

यद्यपि, ५० बेडमाथिका ८० बढी अस्पतालमा भने नवीकरणमा समस्या नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

निजी अस्पतालमा नवीकरणको काम प्रभावकारी ढंगले अघि बढ्न नसकेको हो । मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले निर्देशिका परिमार्जन भएपछि समस्या समाधान हुने बताए ।

उनले भने, ‘५० बेडमाथिका अस्पतालको नियमित नवीकरण हुँदै आएको छ । प्रादेशिक संरचनामा गएपछि स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० परिमार्जन नहुँदा अप्ठ्यारो परेको हो ।’

स्वास्थ्य मन्त्रालयले भने नवीकरण गर्न परिपत्र पठाएको बताएको छ । विशेषज्ञ तथा तृतीय तहका अस्पतालको अनुमति, दर्ता, नवीकरण, स्तरोन्नति तथा नियमनसम्बन्धी कामका लागि सहजीकरण गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयको हो ।

निर्देशिकाबमोजिम स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त स्वास्थ्य संस्थाले सेवा सञ्चालन अनुमतिको अवधि समाप्त भएको मितिले तीन महिनाभित्रअनुमति प्रदान गर्ने निकायसमक्ष नवीकरणका लागि निवदेन दिनुपर्ने उल्लेख छ । यस्तै, तीन वर्षका लागि स्वास्थ्य संस्थालाई सेवा सञ्चालन अनुमतिको नवीकरण गरिदिनसक्ने निर्देशिकामा उल्लेख छ । राजधानी दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments