हङकङस्थित विश्वविद्यालय प्रहरीको घेराउमा

सोमवार, मंसिर २, २०७६



एजेन्सी । हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबीच रातभरी झडप भएको छ । हङकङ पोलिटेक्निक विश्वविद्यालय परिसरमा गएरात भर झडप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम, ढुंगा र घातक हतियार प्रयोग गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो । यससँगै सोमबार बिहानैदेखि पुनः तनाव बढेको छ ।

प्रदर्शनकारीहरूले प्रहरीलाई लक्षित गर्दै पेट्रोल बम र बाण प्रहार गरेपछि विश्वविद्यालयका प्रवेशद्वारहरूमा आगो लागेको थियो । हाल विश्वविद्यालय क्षेत्र  प्रहरीको नियन्त्रण रहेको छ । सुरक्षाकर्मीले हिंसात्मक आन्दोलन र आक्रमण नरोके गोली प्रहार गर्ने प्रहरीले चेतावनी दिएको छ ।

सोमबार बिहान युनिभर्सिटीका प्रमुख प्राध्यापक जीन गुआङ्ग तेङ्गले प्रदर्शनकारीलाई सम्बोधन गर्दै एक भिडियो सन्देश सार्वजनिक गरेका थिए । उनले प्रदर्शनकारीले बल प्रयोग नगरेमा उनीहरु निस्केर जान सक्ने र प्रहरीसँग आफूले कुरा गर्ने जनाएका थिए ।

सोमवार भएको झडपमा प्रदर्शनकारीले प्रहार गरेको बाण खुट्टामा लागेर एक प्रहरी अधिकारी घाइते भएका छन्।

करिब ६ महिनादेखि हङकङमा जारी प्रदर्शनका कारण त्यहाँको जनजीवन नै अस्तव्यस्त बन्न थालेको छ । चीनको विशेष स्वायत्त क्षेत्र हङकङमा सुपुर्दगी विधेयकको विरोधमा शुको प्रदर्शनले उग्ररुप लिँदै गएको हो । सरकारले यसअघि नै सो विधेयक फिर्ता लिएपनि आन्दोलनकारीले अनेक माग राख्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata