लम्बियो हिउँदे वर्षा, सुदूरपश्चिममा चौथो पटक हिमपात

शुक्रबार, माघ ३, २०७६



बझाङ । गतसाता भएको भारी हिमपातले सेताम्य बनेका बझाङका उच्च भू–भागमा फेरि हिमपात शुरु भएको छ । हिउँ पर्न थालेपछि जिल्लाका उच्च भेगका बासिन्दाको जनजीवन कष्टकर बनेको छ ।

जिल्लाको दहबगर, सुर्मा, दौलीचौर क्षेत्र, साइपाल क्षेत्र लगायतका अधिकांश गाउँमा अझै पनि हिउँ नपग्लिदा जनजीवन कष्टकर बनेको हो । ‘काम केही गर्न सकिँदैन, चिसो छ,’ छविसपाथिभेरा गाउँपालिका–७ का बुडखोरीका कर्ण धामीले भने, ‘हिउँले धेरै अप्ठ्यारो भयो ।’

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालमा मौसम बदली भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालमा अझैं एकसातासम्म वर्षात् हुने सम्भावना छ ।

जिल्लाका उच्च भेगमा सालिम, खरले छाएका घरका छाना हिउँले सेताम्मे छन् । खेतमा पनि हिउँ जमेकै छ । हिउँ नपग्लिदा वस्तुभाउलाई दानापानी खुवाउन असहज भएको छ । केदारस्युँ गाउँपालिका–७, कोटेलीका मकर धामीले यसपाली धेरै हिउँ परेको बताए । कर्णाली र सुदूरपश्चिममा यो चौथो पटक हिउँ परेको हो ।

‘एक हप्ताअघि परेको हिउँ पग्लीएको छैन, फेरी हिमपात सुरु भएको छ । मेलापातको गर्न त परै जाओस् । पानी पँधेरो गर्न पनि मुस्किल भएको छ’, उनले भने । किसान भने धेरै खुसी छन् । सिँचाई अभावका कारण हिउँदेबाली सप्रिनेमा ढुक्क नभएका किसान पटक–पटक परेको हिँउदे बाली सप्रिने आश गरेका छन् । हिमाली क्षेत्रमा फलफूल, तरकारी लगाउने सिजन सुरु हुन लागेकाले हिउँबाट फाइदा पुग्ने किसान बताउँछन् ।

अझै एकसाता हिउँदे वर्षा लम्बिने

हिउँदे वर्षा लम्बिँदै गर्दा देशका विभिन्न भेगमा फेरि वर्षा भएको छ । चौथो चरणको हिउँदे वर्षाको यो शृङ्खला गएको सोमबार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको हो । नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो ।

त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भूभागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिनभर बद९लीको अवस्था रही देशका विभिन्न भेगमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी उच्च पहाडी भेगमा भारी हिमपात हुनेछ ।

आउँदो २४ घण्टा चिसो हुने हुनाले आम सर्वसाधारणलाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । शनिबारदेखि भने मौसममा सुधार आउने छ तर अर्को साता फेरि फाट्टफुट्ट वर्षा हुने संकेत देखिएको महाशाखाले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments