दसैंमा हिंसा होइन, शान्ति खोज्छन् लाङटाङबासी

मङ्लबार, अशोज १४, २०७६



देशभर दसैंको उत्साह छाइरहँदा रसुवाको पर्यटकीय स्थल लाङटाङ भने अझै सुनसान छ । बजारमा हजारौंको संख्यामा बलिका लागि राँगो, खसी, परेवा, कुखुरा तयारी अवस्थामा राखिएका छन् ।

तर, लाङटाङमा भने दसैंमा जनावरको बलि होइन, दियो बालेर शान्ति कामना गर्दै सामूहिक प्रार्थना गर्ने गरिन्छ ।

छुट्टै धर्म र परम्परा लाङटाङका विशेषता हुन् । लाङटाङलाई दसैंंमा न हतारो छ न चटारो नै । आफ्नै गति र दिशामा स्थानीयको जीविका चलेको छ । देवता खुसी बनाउन दसैंंमा जनावरको बलि चढाउँदैनन् बरु दियो जलाएर शान्तिको कामना गर्छन् । यो उनीहरूको विशेषता हो ।

जहाँ मालाश्रीको धुन बच्दैन न देवता खुसी पार्न जनावरको बलि हुन्छ । जहाँ शान्तिको कामना गर्दै ‘ॐ माने पदमे होम’ भनेर ध्यान र साधना गरिन्छ । आफ्नै संस्कति र परम्पराअनुसार उनीहरूले चाडपर्व मनाउँदै आएका छन् ।

दसैंं मनाउने शैली पनि शेर्पा समुदाय र लामाहरूको आआफ्नै छ । उनीहरू बलिलाई सधैं निषेध गर्छन् । सेतो टीका लगाएर एक आपसमा रमाइलो र नाचगान गर्छन् । रातो टीकालाई उनीहरू निषेध गर्छन् ।

दसैं बिदामा सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक र गैरसरकारी संस्था बन्द हुने भएकाले लाङटाङका स्थानीय बालबालिका र अभिभावक घर फर्कन्छन् । लाङटाङमा कतिपय होटल व्यवसायीले त कामको व्यस्तताले दसैंं मनाउन पाइरहेका हुँदैनन् ।

आफ्नै रीति र परम्पराअनुसार टीका लगाएर एक आपसमा रमाइलो गर्ने गरेको लाङटाङका स्थानीय होटल व्यवसायी फिन्जो तामाङले टेलिफोनमा बताए । ‘परापूर्वकालदेखि नै लाङटाङमा वन्यजन्तुको बलि वञ्चित छ,’ उनी भन्छन्, ‘बलि दिएर देवता खुसी हुने होइन बरु रिसाएर विपत्ति आउँछ भन्ने मान्यता छ ।’

‘बलिरहित दसैं लाङटाङको विशेषता हो,’ फिन्जो भन्छन्, ‘हामी वन्यजन्तुको संरक्षण गर्छौं । बलि दिएर पाप गर्दैनौं ।’ लाङटाङवासी दसैं आउँदा खुसी हुने एउटा पाटो भनेको घरबाट टाढा गएका आफन्त र नातागोता जमघट हुनुलाई मान्छन् ।

परिवारसँग लामो समय छुट्टिएर बसेका आफन्त एकै ठाउँमा बस्ने वातावरण दसैंंमा मात्रै मिल्छ । अरू समय सबै आफ्नो दैनिकीमा व्यस्त हुन्छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata