पागल

कथा

मङ्लबार, पुस १५, २०७६



गणेशले आज पनि एक हाफ रक्सी एक्लै पियो । उसले मोनिकालाई फोन गर्‍यो, उसले मनको वह धरै पोख्यो । उ फोनमै रुन थाल्यो । मोनिकाले प्रभु यशुले “सबैको कल्याण गर्नुहुन्छ, तिमी चिन्ता नलिग, सबै ठिक हुन्छ । मैले भोलि हाम्रो नाममा प्रार्थना गर्छु” भनी, उ धेरै नै संयम हुँदै गणेशलाई सम्झाउँदै थिई । गणेशले फोन राख्यो ।

दुई क्वाटर रक्सीले पनि उसलाई आज निद्रा दिन सकेन । उसको मोबाइलमा बाबुको फोन आयो, उसले फोन नउठाई कट गरिदियो । उसले आफ्नो विगत सम्झना थाल्यो ।

हजुरबुबा पण्डित हरिप्रसाद उपाध्याको पाच छोरी भए, जेठी बुढीबाट छोरा नहुने सोचेर उनले कान्छी बुढी भित्राए, आफ्नै ठुली छोरी भन्दा दुई वर्ष कान्छी । कान्छी श्रीमतीबाट पनि दुई छोरी जन्मेर निराश भएका हरिप्रसादको बुढेसकालमा छोरा जन्मियो, बुढेसकालमा जन्मेको छोराको नाम चिरञ्जीवी राखिदिए ।

हरिप्रसादले मर्नुभन्दा अगाडी नातिको मुख हेरेर मर्ने इच्छा व्यक्त गरे र पन्ध्र वर्षकै कलिलो उमेरमा चिरञ्जीवीको विवाह गरिदिए । विवाह गर्दाको जहान भगवती मात्र वर्षकी थिइन । पन्ध्र वर्षमै भगवती गर्भवती भइन् तर सानो उमेरमा गर्भवती भएकोले उनको गर्भबाट जन्मसँगै भएको बच्चाको मृत्यु भयो । उनको लगातार चारवटा गर्भ खेर गए। “नातीको मुख हर्ने नपाई मरिने पो भै’यो” हरिप्रसाद वेला– वेला चिरञ्जीवीलाई दुखेसो पोख्थे । चिरिन्जीवी पनि निकै चिन्तित थिए । आखिर उनीहरू ज्योतिषकोमा भविष्य हेराउन पुगे । “गणेश पुराण लगाएपछि मात्र तपाईँको छोरा जन्मिनेछ ।’’ ज्योतिषको कुरालाई मान्दै चिरञ्जीवीले घरमा गणेश पुराण लगाए । गणेश पुराण लगाएको दुई महिनामै हरिप्रसादको मृत्यु भयो । हरिप्रसादको नातिको मुख हर्ने सपना पुरा भएन । हरिप्रसादको मृत्यु भएको छ महिनापछि भगवतीको गर्भबाट छोराको जन्म भयो । चिरिन्जीविले सात गाउँ सबैलाई डाकी भव्य रूपमा न्वारान गरीदिए, र छोरा गणेश पुराण लगाएर जन्मिएकोले उनले छोराको नाम गणेश राखिदिए ।

गणेशको जन्म पछि भगवतीको कोखबाट अर्को जन्म भएन । तर्थ गणेश निकै माया र स्याहार सुसारमा हुर्कियो । गाउँमा भए पनि खेतीपाती, मेलापात घाँस दाउरा त पुरै जाओस्, उसले सामान्य आफ्नो व्यक्तिगत कार्यहरू पनि कहिल्यै गर्ने परेन । सातवटी फुपुदिदिहरुले उसलाई औधी माया गर्थौ । चिरिन्जीवीले उसको भव्य रूपमा व्रतबन्ध गरेका थिए र विवाह पनि भव्य रूपमा गर्ने भन्दै हिँड्थे ।

सात गाउँले चिन्ने हरिप्रसादको एक्लो नाति पढाइमा पनि निकै तेज थियो । तिहारमा टिका लगाउन आउँदा फुपदिदिहरुले विवाह गर्न आफैले केटी खोजिदिने भनेर झगडा नै गर्थे ।

गणेश हुर्किदे गयो । एसएलसी परीक्षामा पनि राम्रो अकं ल्याएर उत्तीर्ण भयो । चिरिन्जीविको माहिलो दिदीको घर जिल्ला सदरमुकाममा थियो । गणेश फुपूदिदिकोमै बसेर प्लस टू पढ्न सदरमुकाम गयो ।उ सलाई सबै फुपूदिदिहरुले भेट्न आउँथे , सबैले केही सामान ल्याइदिन्थे । नयाँ कपडा किनिदिन्थे र पैसा पनि दिन्थे । उसलाई पैसाको कमी कहिल्यै भएन तर उसले कहिल्यै फर्माइस गरेन । उसले जम्मा गरेर राख्थ्यो र आमा– बा भेट्न आउँदा नयाँ कपडा किनिदिन्थ्यो ।

प्लस टू सकेर गणेश काठमाडौँ स्नातक पढ्न आयो । गणेशको भेट मोनिकासँग भयो-मोनिका विश्वकर्मा । मोनिका गणेशलाई निकै सहयोग गर्थी । काठमाडौँमा भर्खर मात्र आएको गणेशलाई मोनिकाले आफ्नै स्कुटरमा राखेर काठमाडौँ धेरै ठाउँ चिनाइ दिई । उसलाई कोठामा चाहिने सामानहरू सबै उसैले रोजिदिन्थी ।

मोनिकाले धर्म परिवर्तन गरेर क्रिस्चियन भएकी थिई । उ हरेक शनिवार मण्डली जान्थी । उसले एक दुई चोटि गणेशलाई पनि लिएर गएकी थिई । गणेशले मोनिकाको मण्डलीका साथीहरूलाई पनि भेट्दथ्यो ।

मोनिका र गणेशको मित्रता प्रेममा बद्लियो । उनीहरू एक अर्कालाई निकै माया गर्थे। तर गणेशको घरमा उसको प्रेम स्वीकार थिएन ।

उसको प्रेमको बारेमा थाहा पाएपछि बाबुआमा निकै रुष्ट थिए । उसलाई फुपूहरूले पनि पटक-पटक सम्झाएका थिए । यदि उसले मोनिकासँग विवाह गरे कहिल्यै छोरा नभन्ने र ‘हामी बाबुआमा मरे पनि चितामा आगो लगाउन नआएस्’, बाबुले फोनमै धम्कीपूर्ण कुरा गरेका थिए। मोबाइल आएको झसङ्ग भई गणेश होसमा आयो । फेरि बाबुको फोन आइरहेको रहेछ । उसले फेरि फोन नउठाई काटिदियो ।  उसको आँखाभरि आँसु थियो उसले सम्झियो, सात कक्षामा पढ्दा गाउँको रुपा दिदी क्षेत्री केटासँग पोइला जाँदा मैले भएको भए छोरीलाई भित्राउने होइन बाटोको पुलबाट खोलामा हालिदिन्थे । खुब जात फालेको छोरी भित्राउने, भनेको थिए चिरिन्जीविले,  गाउँको हजुरबुबाले तिम्रो पनि छोरा छ सोचेर बोल भन्दा मेरो छोराले जात फाले, मेरो तर्फबाट त्यो त्यही दिनबाट मर्नेछ, उनले रुष्ट हुँदै बोलेका थिए ।

फेरी पनि उसको मोबाइलमा आएको फोनले झसङ्ग भयो । कान्छी फुपूको रहेछ, उसले फोन उठायो, ‘’एउटा केटीको निम्ति जन्म दिएर तलाइ यत्रो बनाएको बाबुआमालाई बेवास्ता गर्ने ? ‘’ उनले सुरुमै त्यही बोलिन, उसले फेरी फोन कट गरिदियो र फोन स्विच अफ गरिदियो ।

उ रातभर सुत्न सकेन । उसको मोबाइल अफ भएकाले, मोनिका बिहानै कोठामा आइपुगी, गणेशलाई अँगालो हालेर रुन थाली । गणेश निकै दुविधामा परेको थियो । उसले केही निर्णय गर्ने सकेको थिएन । आखिर उसको प्रेमको नै जित भयो उसले आफ्नो घर परिवारसँग सम्बन्ध त्यागेर मोनिकासँग जीवनको नयाँ गन्तव्यको थालनी गर्‍यो । विवाहपश्चात् पनि गणेशका फुपूदिदीहरुले मोनिकालाई फोन गरेर सम्बन्ध विच्छेद गर गर्ने दबाब दिन्थे । मोनिका फोन आउँदा निकै दुखी हुन्थी । आफ्नै कारणले एउटा खुसी परिवार बिग्रेको जस्तो सोच्थी । तर गणेशले उसलाई सम्झाउथ्यो ।

गणेशले हिन्दु धर्म र मोनिकाले क्रिश्चयन धर्म मानेतापनि उनीहरूको प्रेममा धर्मले केही असर गर्थेन । तर गणेशको घरमा निकै असर गरेको थियो । उसको बाबुले ऊसँग सम्बन्ध विच्छेद गरेका थिए । त्यो कुराले मोनिकालाई धेरे सताउँथ्यो । एक दिन आफ्नो मण्डलीबाट धर्मको बारेमा ज्ञान फैलाउन जाँदा चोकमा मोनिका माथि अनेक लाञ्छना लगाएर मोबाइलमा भिडियो कैद गरी सामाजिक सञ्जालमा पोस्ट गरिदिए, भिडियो भाइरल भयो । मोनिकाको नाममा अनेक ट्रोलहरु बने, उनको तस्बिरमा पोर्न स्टारको फोटो सम्म जोडियो । मोनिकाले यो सहन सकिन् उसले आत्महत्या गरी । मोनिकाले आत्महत्या गरेपछि गणेश विक्षिप्त भयो । उ निकै दिन सम्म एक्लै कोठामा मोनिकाको फोटो हरेर बितायो । अन्त्यमा उसले धर्मको नाममा हुने संकोचित सोच हटाउने अभियान चलाउने प्रण गर्‍यो ।

उ आज रत्नपार्क अगाडी एउटा अग्लो ठाउँमा उभिएको छ “आदरणीय अर्धज्ञानी जनसमुदाय, यो धर्म कस्तो हो ? धर्मको स्वरूप, प्रकृति कस्तो घातक रहेछ । मानवको हत्या गर्ने धर्म म मान्दिन ।”  धर्म भनेको त मानवता, सद्गुण, सद्विचार सिकाउने मानव सभ्यताको अमूल्य सिर्जना हुनुपर्नेमा अहिले त विनाशको अस्त्र बनाइएको छ । हेर्नुहोस्, इराक, अफगानिस्तान र सिरिया । देशको कुरा पर राखेर हेर्दा पनि व्यक्ती -व्यक्ति, परिवार-परिवारबिच धर्मको नाममा, विदेश, अहंमता सिर्जना भएको छ । जुन धर्म मानेता पनि मानवता साध्य हुनुपर्नेमा यहाँ त मानवाता नै तारो भएको तितो यथार्थ हामी सामु छ ।”

संविधान भन्छ- धर्मनिरपेक्षता, राज्यले कुनै धर्मको साथ नदिई सबै धर्मलाई समान सोचे जस्तै, जनताको कहिले हुने सोचमा परिवर्तन ? जुन धर्मले पनि जतिसुकै बाटो भएर पनि गन्तव्य एउटै हुनुपर्छ भनेझैँ, मानवतालाई किन केन्द्रबिन्दु बनाउन सक्दैनौ ? हामी आफूलाई २१औ शताब्दीको मान्छे भन्छौ सूचना प्रविधिको क्रान्तिको कुरा गर्छौ । तर कसैलाई सामाजिक सञ्जालमा लाञ्छना लगाउँदा, त्यो स्थानमा आफ्नो परिवार, भाइ , बहिनी ,दिदी भएको भए के हुन्थ्यो भनी किन सोच्दैनौ ?

त्यसैले, जुनसुकै धर्म मान्नुहोस्, सूचनाप्रविधिको प्रयोग गर्नुहोस् तर त्यसले मेरो मोनिका जस्तो समाजका कयौँ मोनिकाहरु जाँतोमा पिसिएर मृत्यु वरण गर्न नपरोस्, मानवताको मूल्यमा साटिने रुढीवादीताको खोल ओढेको धर्म म मान्दिन । तसर्थ, मेरो धर्म भनेको मानवताको धर्म हो । प्रकृतिले सृष्टि खातिर बनाएका फरक जैविक संरचनाका नारी- पुरुष जातिका उत्थान बाहेक मानिसले आफ्ना स्वार्थ अनुकूल बनाएका कुनै पनि धर्मरूपी जातका अल्झनमा म उल्झन चाहन्न । धर्मले पनि मानिसलाई मृत्युपश्चात् पुन्यता र पूर्णता प्राप्त गराउँदछ । धर्मको व्यवहारिक रुढीवादिता मानिसले नत्यागे सम्म संविधान ऐन कानुनका धारा, संहिता फगत मृत अक्षर मात्र हुनेछन् ।

तसर्थ, आउनुहोस् मानवताको संरक्षण खातिर धर्मका नाममा हुने सङ्कुचित सोच परिवर्तन गर्न यस महा-अभियानमा साथ दिनुहोस् । सबै धर्मको सार मानवतालाई आत्मसात् गर्नुहोस् । सबैको कल्याण सोच्नुहोस्, सबैको कल्याण गर्नुहोस् धन्यवाद !’’ गणेशले आफ्नो भाषण सकेर फेरी अर्को चोकतिर भाषण गर्न हिडदै थियो, उसलाई देखेर मानिसहरू, ऊ पागल हिँड्यो चोकतिर भाषण गर्न भन्दै थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments