हेरिजाओ सडक बटुवा

बुधबार, कार्तिक २७, २०७६

- प्राचार्य ज्ञानचन्द्र उपाध्याय



लक्ष्मी नारायण जगतका श्रृष्टिका जन्मदाता
लीलारूपी हयमुख हयग्रीव औतार त्राता ।
घोडाघोडी प्रकृति पुरुषै छत्रछाया उज्यालो
पार्दै जाऊँन् भुवन तलमा सत्य बाली दियालो ।।१।।

घोडाघोडी परमपद हुन् विष्णु पादस्थली यी
श्री लक्ष्मीका नयनजल हुन् श्राप मुक्ती बली यी ।
औतारी श्रीहयमुख हयग्रीवको मातृभूमि
ढोगी जाओ सडक बटुवा श्रेष्ठ हो नम्र बानी ।।२।।

वैकुण्ठैका सरि गुण यहाँ मिल्दछन् पूजनीय
वर्दानी हो स्थल अनि महादेवको दर्शनीय ।
विश्वासैले प्रभुपद भजी भक्तले लक्ष काचा
ढोगी जाओ सडक बटुवा श्रेष्ठ हो नम्र बानी ।।३।।

मर्यादा यी पुरुष भगवान् राम छन् पर्वतै जाँ
सीताकुण्डै अति निरमली तीर्थ छन् उत्तरैमा ।
कालीन्दी जो विमल जल ली बग्दछिन् पश्चिमै ता
पूर्वै बग्छिन् कलकल नदी सूक्तकारा डुणा ता ।।४।।

चल्छन् गाडी भ्रमण बटुवा दक्षिणै राजमार्ग
जस्का आणै परमपद छन्  पुण्यधामै पवित्र ।
यस्कै मध्ये वन छ हरियो जङ्गलै देश सारा
घोडाघोडी सर परिसरै रम्यताको किनारा ।।५।।

ताक्दै हेर्छन् सडक बटुवा धर्मभूमि वगान
घोडाघोडाी प्रकृति रचना श्रृष्टिको यो मुहान ।
यज्ञै शाला नरहरि कृतै कोटिहोमै निशान
ढोगी जाओ सडक बटुवा हिन्दुको पूज्यथान ।।६।।

घोडाघोडी वन थल बडो तालरेखा किनारै
श्रृङ्गारै छन् प्रकृतिमयका छैन कृत्यै चिनारै ।
पाँचै कुनै प्रकृति रचना तालको मध्य ढाँचा
जस्तै लाग्छन् ठिक युवतिका लाम्चिला दूध फाँचा ।।७।।

मत्ताउँछन् जलथल बसी आपसी चूच चुम्दै
ढिप्का डाँणा वरपर सरी चर्दछन् ताल रिङ्दै ।
पन्छी बस्छन् यस सरमहाँ चार सौ जात माथि
मांसाहारी जलज बिरुवा एक छन् यी प्रजाति ।।८।।

पानी भित्रै विचगुँड रची खेल्दछन् पक्षिहेरु
चोर्छन् अण्डा मनुज सहितै सर्प आदि जलेरु ।
तर्छन् पानी खुरुखुरु हिँडी हाँस सङ्गी जलेवा
हेरी जाओ सडक बटुवा माथि उड्छन् परेवा ।।९।।

चतुर्फैमा कलरव सितै भज्दछन् कृष्ण नाम
क्वैली साथै मधुर स्वरली वन्य पन्छी वथान ।
नाच्छन् माछा जल थरचरै पुष्पका डाँठ तौली
हेरी जाओ सडक बटुवा तालका भृङ्ग माति ।।१०।।

राता सेता कमल कुमुदै फुल्दछन् ताल बौला
झुल्छन् नौला किसलय तरु पल्लवैका सुनौला ।
हावासङ्गै परिमल सुदी वासनाको जमर्को
सुङ्दै जाओ सडक बटुवा नाक सौगन्ध लर्को ।।११।।

गोही माछा जलज कछुवा सर्प जूका गड्यौला
भ्यागुत्ता ती विविध गँगटा ओत ग्राहै सिपी ता ।
बस्ने पानी विच सतहको बाह्रमासे निवासी
हेरी जाओ सडक बटुवा नाउदै दृष्टि फ्याकी ।।१२।।

बस्छन् क्यारे रँग विरँगका जन्तु रङ्गी विरङ्गी
गर्छन् आफ्नो हरि भजनता वन्य चल्लाचुरुङ्गी ।
बाल्दै वत्ती सब जुनकिरी साँझ द्यूसो बिहाना
सेवा गर्छन् प्रभुपद भजी आरती दिव्यता ।।१३।।

निन्नेरा औ झुरुभुरु किरा भर्दछन् व्यञ्जुतान
हेर्दै चल्छन् शुभ समयमा मागली रम्य गान ।
फर्फनेजा गजुर विचका दर्शनार्थी जनैमा
फट्काउँछन् हृदय पटले स्वागतै आउनेमा ।।१४।।

लाखौँ लाखौँ जलचर सबै जीवनै पाल्नलाई
बादै(हर्दम्) पानी सहत तलमा हेर बस्छन् रमाइ ।
हेर्दै झन्झन् मन अति अझै हेर्नेमा उत्सुकाउ
हेरी जाओ सडक बटुवा दिव्य तालै तलाउ ।।१५।।

चन्द्रै तारा पवन लहरी सूर्यका रश्मि हेर
शोभा छर्छन् उदयचलमा एक साथै मिलेर ।
अच्चम्मैका वनचर जहाँ डुल्दछन् जङ्गलैमा
हेरी जाओ सडक बटुवा पाउँछौ मङ्गलैयाँ ।।१६।।

देवी द्यौता रमण थल हो भूमिमाता गुहारी
पूजा गर्छन् प्रति दिन सदा चाड पर्वै तिहारी ।
टीका थाप्छन् दरशन गरी साधु सन्तात्म सारा
हेरी जाओ सडक बटुवा धर्मको रम्य पारा ।।१७।।

टाडाटाडा शहर परका गाउँले जत्थिएर
वर्षेनीता प्रतिदिन वनैभोज हुन्छन् जुटेर ।
नाच्दै खेल्दै मन रहरका सौम्य गाना बजाना
हेरी जाओ सडक बटुवा वन्यभोजै खजाना ।।१८।।

बाह्रैमासै वर युवतिका व्याहा आठै प्रकारे
हुन्छन् वैज्ञानिकै किसिमका सोह्र संस्कार क्यारे ।
संगी जोड्ने विविध थरिका जाति देशी विदेशी
हेरी जाओ सडक बटुवा हिन्दु संस्कार रीति ।।१९।।

केटा केटी तरुण तरुणी बालिका बाल वृद्ध
घुम्दै लिन्छन् हृदय भरिको सौख्यता पूर्ण शुद्ध ।
यी हुन् चिन्तामणि जगतका दुःख नाश्ने निकासी
हेरी जाओ सडक बटुवा सृष्टिको दृश्य राशि ।।२०।।

हाँसो ठट्टा प्रणय मुखका प्रेमिका प्रेम प्रेमी
लाप्पा खेलै विरह विरही आम रोमाञ्च श्रेणी ।
अल्लारे क्वै सतकरमका भक्त छन् भ्रष्ट क्वैता
हेरी जाओ सडक बटुवा सप्रिने विग्रिने ता ।।२१।।

वेपत्तैका मठ विच बसी गर्दछन् ता विपत्ति
भाग्यै हारी जनमभरका अर्ध पग्ला विरक्ति ।
दुःखै नाश्ने दुखित झलमा यी मनोरञ्जनै ता
हेरी जाओ सडक बटुवा कर्मका बन्धनै ता ।।२२।।

हर्रो बर्रो खयर अमला शाल अम्बा बयेरै
गुर्जो बेलै वर पिपल यी ढाँक पिप्ली धयेँरै ।
तित्री आँकै कमल दलका केशरी औ सिघाडा
हेरी जाओ सडक बटुवा ओखती वन्य सारा ।।२३।।

देखिन्छन् ता झलक भगवान् बिम्बितै सत्य ढाँचा
आत्मा साँची अमर थल हुन् मन्दिरै देवताका ।
पूर्णै होला मनरथ सबै लक्ष्य राखी चिताको
आशीर्वादै लिइकन हिँडे दिन्दिनी देउताको ।।२४।।

प्राचार्य ज्ञानचन्द्र उपाध्याय
विराट सनातन धर्म संस्कृत वेद विद्याश्राम घोडाघोडी ताल कैलाली

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata