कमरेड योगेशलाई बोकाइएको भारी !

नेपालपाटी टिप्पणी

बिहिबार, साउन १६, २०७६

- दीपेन्द्र पाण्डे



दार्शनिक नित्सेको भनाई छ, ‘जब हामी थाक्छौ,तब हामी तिनै विचारद्वारा आक्रमणमा पर्दछौ΄। जसलाई हामीले धेरै पहिला जितिसकेका थियौ। नित्सेको उक्त भनाई प्रधानमन्त्री ओलीमा हु-बहु मिल्न पुगेको छ। सरकार बनाउन कमरेड ओलीले दुई तिहाईको सफलता हात पारे तर सरकार चलाउन दुई तिहाइ कै कमजोरी देखाए । निर्वाचनपुर्व जनतासँग जे- जे बाचा गरियो । आफ्नै बलबुतामा असंख्य अपेक्षा सिर्जना गरियो ।

जनअपेक्षा शतप्रतिशत सम्बोधन गर्न स्वयम महादेव नै धर्ती आए पनि असम्भव  हुने बुझेका प्रधानमन्त्रीले आफैले देखेका र देखाएका मुर्छित सपनालाई पुरा गर्न चाहिने चुस्त दुरुस्त राजनीतिक टिम निर्माण गर्न अल्छी मानिदिए । जसको कारण थुप्रै अनुकुलताकोबीच सरकारले स्वर्णिम अवसर खेर फालिरहेको मिडिया र पार्टी भित्रकै केही युवाहरुले पटक -पटक बोली रहे। लेखी रहे । भाषणबाट प्राप्त शक्तिलाई निरन्तरता दिन जनतालाई नतिजा पस्कन ढिला गरेको कारण प्रधानमन्त्री ‘सकसपुर्ण’ अलोकप्रियता भोग्न विवश भए। एक्लै हिडने रोगले थला परेको ढिलो गरी बुझेका प्रधानमन्त्रीले बाध्यात्मक कदम चाल्दै कमरेड योगेश माथी भरोषा गर्न बाध्य भए।

२००७ साल देखी मुलुकले अत्यन्त छोटो समयमा अनेकौं राजनीतिक परिवर्तन भोग्यो। हरेक परिवर्तन पछी मुलुक भित्र  ‘नव एलिट΄को जन्म हुन पुग्यो।जनताको अपेक्षा र जीवनस्तरमा कुनै सकारात्मक परिवर्तन आएन । प्रजातन्त्रका बीपी देखी लोकतान्त्रीक गणतन्त्रका प्रधानमन्त्री ओलीसम्म आइपुग्दा जनताको अपेक्षा अभिभावक बिना टुहुरो बनेको छ ।

यस्तैमा दुई तिहाइको बोझले थलिएका प्रधानमन्त्री ओलीले कमरेड योगेशलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सुम्पेसँगै मिडियाले मन्त्री योगेश भट्टराईको काँधमा विशाल भारी बोकाएको छ।०६२/ ०६३ को राजनीतिक परिवर्तनको दौरान गुमाएको सार्वभौम सत्ताको कारण मुलुक आम जनताको पक्षमा काम गर्न करिव कठिन अवस्था सिर्जना भएको समयमा एउटा सामान्य मन्त्रालय समाल्दै सिंहदरबार प्रवेश गरेका नवनियुक्त मन्त्री योगेश भट्टराईबाट गरिएका अपेक्षाले देशको हालत कुन अवस्थामा पुगेको रहेछ भन्ने संकेत गरेको छ। मुलुकको परिवर्तन गर्न आवश्यक संसदीय अंकगणित सहित सिंहदरबारको कुर्चीमा विराजमान प्रधानमन्त्री ओलीले ‘ राजनीतिक छलाङ’ मार्न नसकेको अवस्थामा मन्त्री योगेशको थाप्लोमा राखिएको भारी कतै उनको निम्ति महंगो नबनोस भन्नु आजको आवश्यकता बनेको छ ।

सन् १९९४ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आदेशमा भारतीय मूलका एक बेलायती नागरिक दिनेश धमिजालाई राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको टिकट युरोपभर बेच्नका लागि एजेन्ट नियुक्त गर्दै राष्ट्र लुटन शुरु गरियो । ततपश्चात लाउडा, चेज एयर हुँदै वाइडबडी सम्म राष्ट्रिय दोहनमा परेको वायुसेवा निगमलाई पुनर्जीवन दिन करिव असम्भव अवस्थामा कमरेड  योगेश मन्त्रालय समाल्न आइपुगेका छन । नैतिकरुपले टाट पल्टेको सुस्त , अल्छी कर्मचारीतन्त्र हावी भएको मुलुकमा मन्त्री योगेशको कार्यकुशलताको परिक्षा अवश्य हुनेछ ।

मन्त्री योगेशले तत्काल यूरोपेली युनियनको प्रतिवन्ध फुकाउन,अलपत्र विमानस्थल पूर्वाधार द्रुत गतिमा निर्माण गर्न ठूलो मेहेनत र होसियारी देखाउनु पर्नेछ । हरेक पाइलामा मुलुकको दुश्मनहरु जम्काभेट हुने अवस्थामा कमरेड योगेश सकुशल निस्कन करिव हम्मे पर्नेछ। राजनीतिक विचारमा प्रधानमन्त्रीसँग फराकिलो दूरी रहेको अवस्थामा प्रधानमन्त्रीलाई सफल बनाउन थुप्रै सम्झौता गर्नु कमरेड मन्त्रीलाई बाध्यता आइलाग्ने छ । स्वदेशी विदेशी मात्र हैन पार्टी भित्रकै केही विचौलिया, दलाल र मध्यस्थकर्ताको स्वार्थ सम्बोधन गर्न चर्को दवाब मन्त्री योगेश माथी पर्ने छ । सबै बिग्रेको समयमा उनी माथी राखिएको ठूलो अपेक्षाको बोझले मन्त्री योगेश कुशलता पुर्वक निस्कन असफल रहे युवावर्ग माथी गरिएको भरोषा टुट्न जानेछ ।

आफ्ना अग्रजसँग सल्लाह लिएर अघि बढने प्रतिवद्धता सहित रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा यहाँ आउँदा हिनताबोध होइन मलाई गौरव लागेको छ भन्दै  ‘इनिङ ‘शुरु गरेका मन्त्री योगेशलाई आम युवायुवती नेपाली वाम आन्दोलनको ‘गाइड्’ मान्दै छन । म यहाँ काम लगाउनका लागि आएको होइन सिक्नका लागि आएको हुँ । खादा–माला अहिले होइन यो मन्त्रालय छाडेर जाँदा लगाउनु भयो भने म त्यसलाई मेरो सफलता ठान्ने छु भन्ने नवनियुक्त मन्त्री योगेशलाई पढेर भविश्यमा कति युवायुवती वाम आन्दोलनसँग जोडिन तयार हुन्छ्न।यसैमा कमरेड योगेशको सफलता जाँचिने छ।

 विद्यार्थीकालदेखी देखेका,भोगेका र सुनेका अनेकौं आरोह- अवरोहलाई खुला विश्वविद्यालयको पुस्तक मान्दै सफलताको सुत्र लिपीबद्ध गर्न सफल भए ‘गाइड’ योगेश ‘थेसिस’मा बदलिने छन । म यस कारण दुखी छैन कि तिमीले झुटो बोल्यौ। म यस कारण दुखी छु कि अब तिमी माथी विश्वास गर्न सक्दिनँ भन्ने नित्सेको भनाईबाट कमरेड योगेश जोगिन सफल भए नेपाली राजनीतिमा युवा र वाम आन्दोलनको भविश्य चम्किने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata