मध्यरातमा एमाले नेताको घाँटी रेटेर हत्या

मङ्लबार, अशोज २४, २०७४



सिरहा । राजधानीमा निर्माण व्यवसायी महासंघका अध्यक्षको गोली हानी हत्या भएकै रात सिरहामा नेकपा एमालेका एक स्थाानीय नेताको घाँटी रेटेर हत्या भएको छ ।

सिरहाको कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ बर्षीय शशिभूषण साहको गएराति घाँटी रेटेर हत्या भएको हो । प्रहरीका अनुसार घरमा सुतिरहेका साहको घाँटी काटेर एक समूह फरार भएको छ । हत्यामा संलग्न समूहको खोजी भइरहेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले जानकारी दिएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार सोमबार राति साह आफ्नो काठको दुई तले घरको भुईं तलामा सुतेका थिए भने अन्य सदस्य माथिल्लो तलामा थिए । कर्जन्हा नपा १० मा एमालेको तर्फबाट वडा सदस्य उम्मेवार बनेर पराजित साहमाथि मध्यरातमा आक्रमण भएको हो ।

उनी एक्लै भएकाले आक्रमणको प्रतिकार कसैले गर्न सकेनन् । साहलाई परिवारका सदस्य र छिमेकीले बेहोस् अवस्थामा भेटेका थिए । प्रहरी प्रमुख तथा एसपी कोइरालाका अनुसार अज्ञात समूहले धारिलो हतियार प्रहार गरी घाँटी रेटेर उनको हत्या गरेको छ ।

हत्या कसले र किन गरेको विषयमा अझै खुल्न नसकेको तर, अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । साहको शव पोष्टमार्टमका लागि लहान लगिएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata