तीजमा पशुपति जाँदै हुनुहुन्छ ? यी यस्ता व्यवस्थाहरू भएका छन्..

हरितालिका तीज विशेष

शनिबार, भदौ १४, २०७६



काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको महान चाड तीज घर दैलोमा आएसँगै पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका दर्शनार्थी भक्तजनको प्रवेशका लागि वैकल्पिक रुपमा प्रयोग गर्न खुला गरिने बताएको छ  ।

तीज, बाला चतुर्दशी, महाशिवरात्रि, साउनको सोमबारजस्ता बढी भीड हुने पर्वमा पूर्वी ढोका खुला नगर्दा धेरै समय लाममा बस्नुपरेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले यस्तो व्यवस्था गरेको हो । लामो समयदेखि पशुपति मन्दिरको यस ढोका मन्दिरमा जल ल्याउन मात्र उपयोग गरिदै आइएको थियो ।

तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए ।

भदौ १६ गते सोमबार भाद्र शुक्ल तृतीयाका दिन पशुपति मन्दिर प्रवेश गर्न मुख्यरूपमा तीन स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ ।

पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट,

दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै पश्चिम ढोकाबाट,

तेस्रो लाम एयरपोर्ट–पिङ्गलास्थान–चार शिवालय हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको सदस्यसचिव ढकालले बताएका छन्  ।

वैकल्पिक रुपमा पूर्वी ढोका पनि उपयोग गर्दा भक्तजनले छिटो दर्शन गरेर फर्कन सक्ने कोषको विश्वास छ ।

यसैगरी नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा तीज पर्वलाई ध्यान दिँदै आजैदेखि सादा पोशाकका प्रहरी खटाइसकिएको छ । मेला अवधिभर चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिनेछन् । शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा गरगहना नलगाई आउन कोषले भक्तजनमा आह्वान गरेको छ ।

सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ । कोषले भदौ १६ गते बिहान ६ बजेअघि नै पशुपतिका नित्य दर्शनार्थीलाई दर्शन गरिसक्न पनि आह्वान गरेको छ ।

६ बजेपछि महिला भक्तजनको भीड बढी हुने भएकाले पुरुष दर्शनार्थीलाई यस्तो आह्वान गरिएको हो । तीजका अवसरमा भदौ १६ गते बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata