हाइटीमा राष्ट्रपति पदको पहिलो चरणको निर्वाचनमा मोइज विजयी

मङ्लबार, मंसिर १४, २०७३



पोर्ट औ प्रिन्स, १४ मङ्सिर । हाइटीका पूर्व राष्ट्रपति मिसेल मार्टेलीले समर्थन गरेका व्यापारी जोभेनेल मोइजले राष्ट्रपति पदको पहिलो चरणको निर्वाचनमा विजय हासिल गरेको सोमबार पछिल्लो औपचारिक नतिजामा देखिएको छ ।

अस्थायी निर्वाचन परिषद्का प्रमुख उडर एन्टोनले मोइजले प्रतिपक्षी लापे पार्टीका जड सेलेस्टनभन्दा बढी मत प्राप्त गरेका बताए । मोइजले ५५।६७ प्रतिशत तथा सेलेस्टनले १९।५२ प्रतिशत मत प्राप्त गरेको देखिएको छ । मोइज जँ चाल्र्सले ११.०४ प्रतिशत तथा मेरिज नसिसले ८.९९ प्रतिशत मत प्राप्त गरेका छन् ।

खसेको मतको आधाभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी मानिन्छ । हाइटीको कानुनले राष्ट्रपति तथा संसदीय निर्वाचनको नतिजालाई निर्वाचन अदालतमा चुनौती दिनसक्ने अवसर उम्मेदवारलाई दिएको छ । अन्तिम नतिजा डिसेम्बर २९ मा प्रकाशन हुनेछ ।

यस मुलुकमा निर्वाचनको नतिजा घोषणा गर्ने अवस्थामा पुग्नु पहिले रक्तपातपूर्ण हिंसा हुने गरेका थिए र त्यसले हाइटीको राजनीतिक उथलपुथल गराउँथ्यो । अन्तरिम नेता जोसेलर्म प्रिभर्टले निर्वाचनको नतिजा प्रकाशन नभएसम्म शान्तिका लागि आग्रह गरेका छन् ।

यस निर्वाचनका लागि ६२ लाख मतदाता रहेका थिए भने २७ जनाले उम्मेदवारी दिएका थिए । पहिलो चरणको निर्वाचनको नतिजा घोषणा नभएसम्म चार उम्मेदवारले आफू विजय भएको दाबी गरिसकेका छन् । यस्तो कार्यको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका छन् ।

हाइटीमा वास्तविक निर्वाचन सन् २०१५ को अक्टोबरमा भएको थियो र प्रतिपक्षीको विरोध तथा स्वतन्त्र आयोगले व्यापक धाँधली भएको फेला पारेपछि त्यसलाई खारेज गरिएको थियो । यसअघि सन् २०११ को मेमा मार्टेली राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments