ह्याकरहरु हामीले टाइप गरेको आवाज सुनेरै पासवर्ड पत्ता लगाईरहेका छन् !

बिहिबार, भदौ ५, २०७६



एजेन्सी । आफ्ना डिजिटल अकाउन्टको पासवर्ड व्यवस्थापन अहिले सबैभन्दा जटिल विषय हो । व्यक्तिका विभिन्न खाले अनलाइन अकाउन्ट हुन्छन् र यस्ता अकाउन्टको पासवर्ड चयनमा धेरैले सजिलो बाटो रोज्दछन् ।

आफ्नो पासवर्ड आफैले भुल्ने डरले धेरै मानिसले सजिलो खालको पासवर्ड राख्दछन् । जसका कारण जो कोहीले पनि सजिलै पासवर्ड पत्ता लगाउन सक्दछन् । अझ अरुका अकाउन्ट ह्याक गर्ने दाउ रचिरहेका ह्याकरहरुका लागि यस्ता सजिला पासवर्डले झनै सजिलो पारिदिन्छ ।

बेलायतको नेसनल साइबर सेक्योरिटीले गरेको  सर्भे अनुसार विश्वको सबैभन्दा कमजोर पासवर्ड १२३४५६ रहेको छ । करोडौँ मानिसहरुले आफ्नो अकाउन्टमा यहीँ १२३४५६ लाई पासवर्डको रुपमा राखेका हुन्छन् ।

रिपोर्टअनुसार २ करोड ३२ लाख प्रयोगकर्ताले १२३४५६ लाई पासवर्डको रुपमा प्रयोग गरेका छन् । त्यस्तै १२३४५६७८९ लाई पासवर्डको रुपमा प्रयोग गर्ने मानिसको संख्या ७७ लाख रहेको छ । त्यस्तै querty, password तथा १११११ लाई पासवर्ड बनाउनेको संख्या पनि निकै धेरै छ ।

सर्भेका अनुसार आफुलाई सबैभन्दा मन पर्ने सुपरस्टारको नामलाई पासवर्डको रुपमा प्रयोग गर्नेको संख्या पनि कम छैन । यस अनुसार पासवर्डमा सबैभन्दा धेरै प्रयोग भएको पात्र superman हो । त्यस्तै naruto, trigger, pokemon तथा batmanलाई पनि उल्लेख्य मात्रामा पासवर्डको रुपमा प्रयोग गरिएको छ ।

कमजोर पासवर्डको चर्चा चलिरहेको यस बखत अर्को आतंकले जन्म लिएको छ । ‘ह्याकरहरु हामीले टाइप गरेको आवाज सुनेरै पासवर्ड पत्ता लगाईरहेका छन् ।’ स्मार्टफोनमा हुने माइक्रोफोनको मद्दतले उनीहरुले हामीले किबोर्डमा टाइप गरिरहेको पासवर्ड सुन्ने र सहजै थाहा पाउन सक्ने एक अध्ययनले बताएको छ । अनुसन्धानकर्ताहरुका अनुसार माइक्रोफोनको मद्दतले अत्यन्तै कोलाहलमय सार्वजनिक स्थलमा समेत ह्याकरहरुले पासवर्ड थाहा पाउन सक्छन्  ।

टेक्ससस्थित साउदर्न मेथोडिस्ट युनिभर्सिटी, एसएमयु का अध्ययनकर्ताले किबोर्डले निकाल्ने विभिन्न ‘साउन्ड वेभ’को विश्लेषण गर्ने क्रममा यस्तो पत्ता लगाएका हुन् । यसरी ‘एकस्टिक सिग्नल’ प्रोसेस गरिसकेपछि उनीहरुले टाइप गरिएका अक्षर सजिलै थाहा पाएका हुन् । यो तरिकाले पासवर्ड मात्र नभएर मान्छेको व्यक्तिगत इमेल र मेसेजहरु पनि ह्याक गर्न सकिने बताइएको छ ।

स्मार्टफोनमा प्रायः कुनैपनि एप डाउनलोड गर्दा त्यसले माइक्रोफोन लगायत हाम्रो डिभाइसका विभिन्न टुलको पहुँच पाउन ‘पर्मिसन’ मागिरहेको हुन्छ । यो कतिपय अवस्थामा एप सञ्चालनका लागि आवश्यक भएपनि ह्याकरहरुले सहजै दुरुपयोग गर्न सक्ने वा उनीहरु आफैँले त्यस किसिमको एप निर्माण गर्न सक्छन् । त्यस्तै गोप्य रुपमा हाम्रो मोबाइलको माइक्रोफोन हाइज्याक गर्न फोनमा भएका एप ह्याक गर्न पनि सक्ने बताइएको छ ।

यस अनुसन्धानमा मद्दत गरेका एसएमयुका असिस्टेन्ट प्रोफेसर एरिक लार्सनले भनेका छन्, “हामीले सुरक्षा प्रणालीका कमजोरीबारे अध्ययन गरिरहेका थियौँ । यस्तोमा हामीले स्मार्टफोनमा हुन सक्ने ‘अल्वेज अन’ अर्थात सधैँ अन रहने ‘सेन्सिङ डिभाइस’ फेला पारेका हौँ । यसपछि हामीले किबोर्ड वा ल्यापटपमा टाइप गरेका कुरा थाहा पाउने कोशिश गर्यौँ । र आश्चर्यजनक रुपमा केबल एउटा एपकै मद्दतले टाढाको टेबलमा राखिएको मोबाइल फोन मार्फत टाइप भएका कुरा थाहा हुन सक्छ भन्ने पत्ता लगाएका छौँ ।”

यस्तोमा अनुसन्धानकर्ताहरुले पीडितलाई आफ्नो डिभाइस ह्याक भइरहेकाबारे कुनै खबर नहुने चेतावनी दिएका छन् । तर यसका पनि केही सिमित परिस्थिति हुन्छन् जस्तै ह्याकरलाई हामीले टाइप गरिरहेको टेबलबारे थाहा हुनुपर्छ किनकी फलाम र काठले निकाल्ने साउन्ड वेभ प्याटर्न फरक हुन्छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata