बहुलट्टी र सनकी राजा ‘रणबहादुर शाह’का पालामा पनि गुठीहरण र आन्दोलन भएको थियो !

आइतवार, असार १, २०७६



काठमाडौं । सरकारले संसद्‌मा दर्ता गराएको गुठी विधेयकलाई विभिन्न  व्यक्तिहरूले रणबहादुर शाहको नीतिसँग तुलना गर्न थालेका छन्। धेरैजसो नेपाली इतिहासकारले ‘बहुलट्टी र सनकी’ राजाका रूपमा प्रस्तुत गरेका रणबहादुर शाहका पालामा भएको गुठी र बिर्ता हरणको सम्झना गर्दै धेरैले अहिलेको गुठी विधेयकलाई त्यससँग तुलना गरेका हुन्।

विक्रम संवत् १८६२ सालमा भएको बिर्ता र गुठी हरणमा रणबहादुरको वा भीमसेन थापा कसको हात धेरै थियो भन्नेमा इतिहासकारबीच मतभेद पाइन्छ।

गुठी विधेयकको विवाद अहिले बाहिर आएपछि धेरैले नेपालको इतिहासमा ‘बासठ्ठीहरण’का रूपमा चिनिने उक्त घटनालाई स्मरण गरिरहेका छन्।

त्यसकै उदाहरण दिँदै कतिपयले  अहिलेको केपी शर्मा ओली नेतृत्त्वको कम्युनिष्ट सरकारलाई ‘रणबहादुरको अर्को रूप’ का रूपमा समेत चित्रित गर्न थालेका छन्।

विवादको घेरामा रणबहादुर

रणबहादुर शाहलाई नेपालको इतिहासमा सबैभन्दा बढी विवादित राजाहरूमध्ये एकका रूपमा लिने गरिन्छ। पृथ्वीनारायण शाहका नाति उनी पिता प्रतापसिंह शाहको मृत्यु भएपछि अढाई वर्षको हुँदा नहुँदै राजगद्दीमा बस्न पुगेका थिए।

गुठी विधेयक
हाल संसद्‍मा दर्ता भएको गुठी विधेयकको विरोध गर्दै उपत्यकावासी

विसं. १८३२ मा जन्मिएका उनले गद्दीमा बसेको करिब-करिब १८ वर्षपछि मात्र शासनसत्ता आफ्नो हातमा लिएको इतिहासकारहरूले लेखेका छन्।

इतिहासकार बाबुराम आचार्यले विभिन्न पुस्तकमा लेखे अनुसार रणबहादुर शाहले वि.सं. १८५१ वैशाखमा नयाँ भारदारी सभा गठन गरेर शासनसत्ता आफ्नो हातमा लिएका थिए।

त्यसअघि उनकी आमा राजेन्द्रलक्ष्मी र काका बहादुर शाहले नायबी शासन चलाएका थिए।

त्यसबीच उनले तत्कालीन परम्परा विपरीत गएर एकजना मिश्र थरकी ब्राह्मण विधवा महिला कान्तिवतीसँग विवाह गरे र उनैबाट जन्मिएका पुत्र गीर्वाण युद्धविक्रमलाई युवराज घोषणा गरे। त्यसले दरबारियाबीच विभिन्न मतभेद उत्पन्न गराएको इतिहासकारहरूले लेखेका छन्।

रणबहादुरले अन्तत: विसं. १८५५ मा आफ्ना १७ महिनाका छोरालाई राजगद्दी सुम्पेर सन्यास लिएर कान्तिवती सहित बनारस जाने निर्णय गरेका थिए।

तर त्यसको पाँच वर्षपछि विसं. १८६० मा भीमसेन थापा सहित बनारसबाट नेपाल फर्किएर उनले शासनसत्ता आफ्नो हातमा लिने कोसिस गरेको इतिहासकारहरूले लेखेका छन्।

त्यसक्रममा मूलकाजी दामोदर पाँडेलगायतका मानिसहरूलाई शुरुमा कैद गरेर पछि हत्या गरिएको थियो।

त्यसपछि नै नेपालको सत्तामा शक्तिशाली व्यक्तिका रूपमा भीमसेन थापाको उदय भएको हो।

बिर्ता र गुठी हरण

नेपाल आएपछि रणबहादुरले आफ्नै छोराबाट मुख्तियारी अर्थात् राजप्रतिनिधिको उपाधि लिए। र, अहिले विभिन्न व्यक्तिहरूले गुठी विधेयकसँग तुलना गरेको गुठी र बिर्ताहरण उनले आफू राजा भएका बखत नभएर छोराबाट मुख्तियारी लिएका बखतमा गरेका थिए।

त्यसबेला सैन्य सेवाको उच्च तहमा रहेका व्यक्ति, भीमसेन थापाका आफन्त, थापा खलक, अन्य केही प्रभावशाली व्यक्ति र उनीहरूका आफन्त बाहेक धेरैको बिर्ता र गुठी हरण भएको इतिहास छ।

गुठी विधेयक
नेपालमा अहिले पनि विभिन्न मन्दिरहरूका नाममा गुठी जग्गाहरू छन् र त्यसैको आम्दानीले मन्दिरहरूको पूजा खर्च जुटाइन्छ ।

कतिपयले रणबहादुरले ब्राह्मण महिलासँग विवाह गर्दा ब्राह्मणहरू रुष्ट भएको र उनीहरूकै कारण आफू सत्ताच्युत हुनुपरेको झोँकमा उनले त्यस्तो गरेको लेखेका छन्।

तर त्यसबेलाका विभिन्न प्रमाणका आधारमा त्यो कुरा पुष्टि नहुने देखिएको इतिहासकारहरूको मत छ।

रणबहादुर शाहले नेपाल आएर शासन सम्हालेपछि नेपाल र ब्रिटिश-भारतसँग सम्बन्ध बिग्रिएको भन्ने विवरणहरू विभिन्न पुस्तकमा पाइन्छन्।

त्यसकारण जुनसुकै बेला हमला हुनसक्ने स्थिति बनेकोले रणबहादुरले नेपाली फौजलाई बलियो पार्न ‘ब्राह्मणहरूको बिर्ता र देवी देवताको गुठी हरण गरेको’ इतिहासकार चित्तरञ्जन नेपालीको दाबी छ।

उनले आफ्नो पुस्तक ‘श्री ५ रणबहादुर शाह’ मा लेखेका छन्, “… त्यस बखतको सरकारी कोषको साधारण आयबाट मात्र फौजलाई पुनर्गठन गरी सुसङ्गठित गर्न तथा नयाँ ढङ्गबाट तालिम दिलाउन आवश्यक खर्च पुग्न सक्दैन थियो (पृ. ७५)।”

नेपालीले आफ्नो पुस्तकमा शाहको कदमको बचाउ गरेका छन्।

उनी लेख्छन्, “त्यस बखतको अधिकांश जग्गा या त देवदेवताको गुठीमा या ब्राह्मणहरूको बिर्तामा दरिएको हुन्थ्यो। सोही बिर्ता हरण गर्ने उनले विचार गरे।”

गुठी विधेयक

पक्षपात

रणबहादुर शाहले त्यसबेला सबैखाले बिर्ता र गुठीको हरण भने गरेका थिएनन्।

उनले छानेर केहीको बिर्ता र केही गुठी हरण गरेको नेपालीकै यो लेखाइबाट पनि पुष्टि हुन्छ- “त्यस बखत अरू काजी सरदारहरूको पनि बिर्ता नभएको होइन, तर पनि फौज सम्बन्धी काममा खर्च गर्नका निमित्त हरण गर्ने जुन उद्देश्य थियो, त्यसबाट काजी, सरदार आदि फौजका उच्च पदाधिकारीहरूकै बिर्ता हरण गरेमा सो उद्देश्य पूरा हुनुको साटो उल्टो प्रतिक्रिया पर्न जाने सम्भावना भएकाले उनीहरूको बिर्तालाई नछोईकन केवल ब्राह्मणहरूको बिर्ता र देवदेवताको गुठी मात्र हर्ने निर्णय गरिएको होला, जुन कि वीरताका आधारमा अर्जित पनि थिएन (पृ. ७५)।”

अझ नेपालीले त ‘ब्राह्मणहरूले खुसी मनले दिन राजी भएपछि रणबहादुरले त्यस्तो कदम चालेको’ दाबी समेत गरेका छन्। तर त्यसरी हरण भएको बिर्ताको पछि सट्टाभर्ना दिइएको प्रमाणहरू भेटिएको इतिहासकारहरूले लेखेका छन्।

गुठी विधेयक
इतिहासकार बाबुराम आचार्यले ‘नेपालको संक्षिप्त वृत्तान्त’मा लडाइँका लागि सैन्य शक्ति बलियो बनाउनका भीमसेन थापाको योजनामा ‘बासट्ठीहरण’ भएको उल्लेख गरेका छन्

वि.सं. १८६२ मा रणबहादुरले हरण गरेको बिर्ता र गुठी जग्गाको जङ्गबहादुरको सिफारिसमा राजा राजेन्द्र विक्रम शाहले वि.सं. १९०३ मा सट्टाभर्ना गरिदिएको त्यसबेलाको लालमोहरमा उल्लेख छ।

नेपालीकै पुस्तकमा प्रकाशित उक्त लालमोहरको नक्कलमा लेखिएको छ, “… ६२ मा हरण भयाका तिमिहेरूका विर्ता र (देव देवता) का गुठी षेत पाषाको मध्येश पहाडका वैरान पर्ती वाझा जमिनमा हाम्रा हुकुमले लाल मोहर भै बंद भयाका जग्गा र गौचर सन्धी सर्पन पर्न्या जग बाहिरका जगामा सट्टा लिनु भनी जगा अवाद गर्नालाई यथाशक्ति रुपैया बक्स्यौ…. (पृ. ७६-७७)।”

योजना रणबहादुर कि भीमसेन थापाको?

कतिपय इतिहासकारका अनुसार नेपालमा त्यसबेला रणबहादुर शाहमा शासनसत्ताको खासै अधिकार नभएकाले उक्त कदमको सबै योजना मुख्तियार भीमसेन थापाले बनाएका थिए।

इतिहासकार बाबुराम आचार्यले त्यस्तै सङ्केत गर्दै ‘नेपालको संक्षिप्त वृत्तान्त’ मा लडाइँका लागि सैन्य शक्ति बलियो बनाउन भीमसेन थापाको योजनामा ‘बासट्ठीहरण’ भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “लडाइँका निमित्त मोर्चा खोल्ने तथा बिर्ताहरूको अपहरण गर्ने काम पनि ‘जनरल’ भीमसेन थापाले गरेका थिए र पक्षपात पनि यिनबाट नै भएको थियो। तर यसको दोष जति त्यतिवेला स्वामी महाराज रणबहादुर शाहमाथि थोपरिएको थियो। यथार्थमा यतिबेला स्वामी महाराज रणबहादुर शाहमा न कसैलाई बिर्ता दिनसक्ने अधिकार रहेको थियो, न त अपहरण गर्नसक्ने अधिकार नै यिनमा रहेको थियो (पृ. ३४५)।”

त्यसबेला भीमसेन थापाले किन यस्तो गराउनु पर्‍यो भन्नेमा आचार्यले पनि सैन्य बल कमजोर भएर नै त्यस्तो गरिएको लेखेका छन्।

उनका अनुसार, ‘विसं. १८६२ मा कागँडा राज्यमाथि आक्रमण गर्नका निमित्त थप सैनिकहरू पठाउन सैनिकहरूको सङ्ख्यामा वृद्धि गर्नुपर्ने आवश्यकता अनुभव हुन आएको’ थियो।

त्यसबेला सैनिकलाई मासिक रूपमा नगद तलब दिने चलन थिएन। त्यसको सट्टा ‘खान्गीका रूपमा जग्गाहरू दिने प्रचलन चलिआएको’ आचार्यले लेखेका छन्।

उनका अनुसार, ‘राज्यको विस्तारको साथसाथै सैनिकहरूको सङ्ख्या पनि निरन्तर बढाउँदै ल्याउन आवश्यक हुँदा राज्यका सम्पूर्ण रैकर जमिनहरू खान्गीहरूका रूपमा वितरण गरिसकिएका’ थिए।

आचार्यले लेखेका छन्, “जगेडा रैकर जमिनहरू प्राय: छदैँ थिएनन्। यस परिस्थितिमा बिर्ताका रूपमा वितरण गरिएका जमिनहरू अपहरण गर्नुभन्दा बाहेक अर्को विकल्प नेपाल सरकारसँग बाँकी थिएन। यसैले ब्राह्मणहरूको ‘कुश-विर्ता’ तथा देवदेवीका गुठीहरू समेत-‘पछि फिर्ता गर्ने’ शर्तमा जफत गरिए। यसरी अपहरण गरिएका बिर्ता तथा गुठी जग्गाहरू सबै नै रैकरमा परिणत गराई सैनिकहरूलाई खान्गीहरूका रूपमा दिइएका थिए।”

उसबेला पनि आन्दोलन:

रणबहादुर शाहको पालामा पनि गुठी र बिर्ता खोस्दा आन्दोलन भएको इतिहासकारहरूले लेखेका छन्।

नेपालको अर्थ-राजनीतिका इतिहासकार एवम् म्यागसेसे पुरस्कार पाउने प्रथम नेपाली नागरिक महेशचन्द्र रेग्मीलाई उद्धृत गर्दै त्यसबेला पनि बिर्ता र गुठी खोसिनेहरूले विरोध जनाएको भूमी सम्बन्धी अध्येताहरूले उल्लेख गरेका छन्।

गुठी विधेयक
अहिलेको गुठी विधेयक जस्ताको तस्तै पारित भए एकखाले सम्पदा र सभ्यता नै मासिने विरोध प्रदर्शनमा सहभागीको दाबी छ

अङ्ग्रेजी भाषामा नेपाली अर्थ-राजनीतिक इतिहासका धेरै पुस्तक लेखेका उनले त्यसबेला विशेषगरेर बिर्तावालाहरूले विरोध जनाएको लेखेको अध्येताहरूले उल्लेख गरेका हुन्।

उनको पुस्तक ‘अ स्टडी इन नेपाली इकोनोमिक हिस्ट्री, १८६८-१८४६’ मा ‘बासठ्ठीहरण’ विरुद्ध पश्चिम नेपालको तनहुँलगायतका पहाडी जिल्लाहरूमा विरोध भएको उल्लेख गरिएको अध्येताहरूले लेखेका छन्।

‘ल्यान्ड पोलिटिक्स एन्ड कन्फ्लिक्ट इन नेपाल: रियालिटिज् एन्ड पोटेन्सियल्स् फर एग्रेरियन ट्रान्सफरमेसन’ नामक पुस्तकमा जगत बस्नेतले रेग्मीको उक्त पुस्तकलाई उदृत गर्दै ‘पश्चिम नेपालका पहाडमा हिंसात्मक झडपहरू भएको’ लेखेका छन्।

त्यस्ता विरोधीहरूलाई तह लगाउन ‘सरकारले कडा रवैया अपनाएको र विरोध गर्नेहरूका नाइकेलाई हतकडी लगाएर काठमाण्डू ल्याइएको’ उक्त पुस्तकमा उल्लेख छ (पृ. २४)।

रेग्मीको पुस्तक उदृत गर्दै बस्नेत लेख्छन्, “सन् १८०५ (विसं. १८६२ ) मा पश्चिम पहाडका ब्राह्मण बिर्तावालाहरूले गरेको विरोध यत्ति तीव्र भयो कि सरकारले उनीहरूलाई राहदानी नलिइकन काठमाण्डू प्रवेशमा रोक लगायो।”

तर कतिपय इतिहासकारहरू बिर्ताहरण विरोधी गतिविधि बढेपछि काठमाण्डू आउन त्यसबेलाको सरकारले राहदानी लिनुपर्ने व्यवस्था गरेको भनिएको कुरासँग सहमत छैनन्।

उनीहरूका अनुसार त्यस्तो व्यवस्था काठमाण्डूबाट बाहिर जाने र काठमाण्डूमा आउने दुवैका लागि गरिएको थियो र यो बासठ्ठीहरणसँग मात्र सम्बन्धित छैन।

‘राजाकी डाइभर्नी’ भनेर चिनिने रामदेवी काठमाण्डूको वृद्धाश्रममा बस्दै आएकी छन्।

कति जग्गा हरण गरियो?

रणबहादुर शाहका बेलामा कति बिर्ता र गुठी हरण गरियो भन्नेबारे इतिहासकार महेशचन्द्र रेग्मीले विवरणहरू सङ्कलन गरेको पाइन्छ। उनले प्रकाशित गर्ने ‘रेग्मी रिसर्च सिरिज’को सन् १९७९ डिसेम्बर १ मा प्रकाशित अङ्कमा त्यसको विस्तृत विवरण उपलब्ध छ।

उक्त विवरण अनुसार नेपालका विभिन्न स्थानमा गरेर कुल ७ लाख ७४ हजार ८४ मुरी धानखेत बराबरको बिर्ता र गुठी सरकारले हरण गरेको थियो।

काठमाण्डू उपत्यकाभित्र मात्र गुठी र बिर्ता गरि ३३ हजार १ सय ९० मुरी धानखेत हरण भएको थियो। त्यसमध्ये बिर्ताको २३ हजार ४ सय १३ र गुठीको ९ हजार ७ सय ७७ मुरी धानखेत हरण भएको तथ्याङ्क छ।

त्यस्तै काठमाण्डू पूर्व सिन्धुपाल्चोकतर्फ, तामाकोशी-दूधकोशी क्षेत्र, दूधकोशी-अरूण क्षेत्र अर्थात् माझकिराँत, नुवाकोट क्षेत्र, त्रिशुली-गण्डकी क्षेत्र, गण्डकी-दरौँदी क्षेत्र, मर्स्याङ्दी क्षेत्रलगातयमा पनि बिर्ता र गुठी हरण भएको उक्त विवरणमा उल्लेख छ।

रेग्मीले कतिपय जिल्लाहरूको भने जिल्लागत विवरण समेत त्यसमा समावेश गरेका छन्।

-बीबीसी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata