माइतीघर मण्डलामा दोस्रो जनआन्दोलनको झल्को !

बिहिबार, असार ५, २०७६



विवादित ‘गुठी विधेयक’ को विरोध गर्दै आएका काठमाडौं उपत्यकाका नेवार समुदाय र अभियन्ताको आह्वानमा बुधबार राजधानीमा विशाल खबरदारी सभा सम्पन्न भएको छ ।

चर्काे दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिएको भोलिपल्ट पूर्वनिर्धारित कार्यक्रमअनुसार विशाल खबरदारी सभा गरिएको हो । माइतीघर मण्डलामा आयोजना गरिएको खबरदारी सभामा दोस्रो जनआन्दोलनको झल्को दिने गरी मानव सागर ओर्लिएको थियो । काठमाडौं उपत्यकाका चोक चोक र गल्ली गल्लीबाट स्वतस्फूर्त रुपमा खबरदारी सभामा स्थानीय सहभागी भएका थिए ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको आयोजनामा सभा आयोजना गरिएको हो । शुरुमा विरोध सभा आह्वान गरिएकोमा सरकारले तत्कालका लागि गुठी विधेयक फिर्ता लिएको घोषणा गरेपछि खबरदारी सभाका रुपमा परिणत गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै समितिका संयोजक गणपतिलाल श्रेष्ठले सरकारकै हठका कारण आन्दोलन गर्नुपरेको बताए । जनताले पहिचानका लागि लड्ने समय आएको बताउँदै उनले गुठी सञ्चालन गरेर जात्रा, पर्व र परम्परालाई जीवन्तता दिने गुठियारलाई हटाएर सरकारले धर्म, संस्कृति र परम्परा मास्न खोजेको आरोप लगाए ।

उनले भने, ‘गुठियार सम्पदा हुन्, सरकारले बालुवाटारको जग्गा बेच्यो, अब गुठीमा आँखा लगाएको छ । यो तीन करोड नेपालीको मुद्दा हो, नेवार समुदाय मात्रको होइन ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata