वायुमण्डलमा हरित गृह ग्यासको परिमाण अहिलेसम्मकै उच्च

मङ्लबार, मंसिर १०, २०७६



एजेन्सी । पछिल्लो समय वायुमण्डलमा कार्बनडाइअक्साइड र अन्य हरितगृह ग्यासको मात्राले कीर्तिमान कायम गरेको छ । विश्व जलवायु संगठनका अनुसार गत दशकको औसत वृद्धिभन्दा यस दशकमा हरितगृहको मात्रा बढी वृद्धि देखिएको हो ।

सन् २०१८ मा पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइड तथा अन्य हरित गृह ग्यासको परिमाण अहिलेसम्मकै बढी देखिएको हो । सन् १९९० यता लामो समयदेखि वायुमण्डलमा रहेका हरित गृह ग्यासका कारण उत्पन्न तापमान वृद्धिको असर करिब ४३ प्रतिशतले बढिरहेको छ ।

विश्व जलवायु संगठनले उत्सर्जनभन्दा पनि वायुमण्डलमा त्यस्ता ग्यासका परिमाण अध्ययन गरेको थियो ।सामान्यतया उत्सर्जित कार्बनमध्ये करिब एक चौथाइ समुद्रले सोस्छ भने सोही परिमाणमा जमिन र जंगलले सोस्ने गर्छन् ।

राष्ट्रसंघअन्तर्गतको सो संगठनका अनुसार गत वर्ष कार्बन डाइअक्साइडको परिमाण सन् २०१७ को तुलनामा झण्डै १ प्रतिशत बढेको छ। संगठनका महासचिव पेट्टेरी तालसका अनुसार जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताका तमाम प्रावधानका बाबजुद हरितगृह ग्यासको उत्सर्जन घट्नुको साटो बढ्ने क्रम जारी छ। उनका अनुसार अहिलेको स्तरमा देखिए जति परिमाणको कार्बन डाइअक्साइड यसअघि ३० देखि ५० लाख वर्ष पहिले मात्र थियो ।

सो समयमा समुद्री सतह अहिलेकोभन्दा २० मिटर माथि पुगेको थियो । वैज्ञानिकहरूले वायुमण्डलमा बढ्दो ग्यासका कारण विश्वव्यापी रूपमा बढिरहेको तापमानप्रति चिन्ता व्यक्त गरेका छन् ।

कलकारखानाबाट निस्किएको धुवाँ, माटरगाडीको धुवाँ, धुलो तथा वनजङ्गलको विनाशका कारणले गर्दा वायुमण्डलमा कार्वनडाइअक्साइड तथा अन्य प्रदूषक ग्यासको मात्रामा वृद्धि हुन्छ । यो वृद्धिले गर्दा सूर्यको पृथ्वीमा परेको ताप परावर्तित हुने प्रक्रियामा रोकावट हुन्छ । जसले गर्दा काँचको हरियो घरमा प्रकाश भित्र जाने तर बाहिर नआउने हुनाले तातो भएजस्तै पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । यसलाई हरितगृह प्रभाव (अङ्ग्रेजी Green House Effect) भनिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata