इरानी तेल ट्यांकर जफत गर्न अमेरिकाद्वारा पक्राउ पुर्जी जारी

आइतवार, भदौ १, २०७६



एजेन्सी । बेलायतको स्वशासित क्षेत्र जिब्राल्टरमा गत महिनादेखि नियन्त्रणमा रहेको इरानी तेल ट्यांकर पक्राउ गर्न अमेरिकाले पक्राउ पुर्जी जारी गरेको छ । तेल ट्यांकरलाई घर फर्कने अनुमति दिने एकजना न्यायाधीशको निर्णय आएको भोलिपल्टै अमेरिकाको न्याय मन्त्रालयले ट्यांकर जफत गर्न पक्राउ पुर्जी जारी गरेको हो ।

ग्रेस–वान नामक सो ‘सुपर ट्यांकर’ लाई गत ४ जुलाईमा जिब्राल्टरमा नियन्त्रणमा लिइएको थियो । तेल बोकेको सो ट्यांकर अवैध रूपमा सिरियातर्फ जाँदै गरेको आशंकामा नियन्त्रणमा लिइएको थियो ।

अमेरिकाले सो ट्यांकरलाई नियन्त्रणमा लिन अन्तिम कानुनी प्रक्रिया अपनाउँदै गर्दा जिब्राल्टरले बिहीवार त्यसलाई अस्वीकार गरिदिएको थियो । इरानले ट्यांकर नियन्त्रणमा लिने कार्य अवैध अवरोध भएको बताएको छ ।

ग्रेस–वानलाई नियन्त्रणमा लिइएको दुई साता पश्चात् गत १९ जुलाईमा इरानले बेलायती झण्डावाला एउटा ट्यांकर स्टेना इम्पेरियोलाई स्ट्रेट अफ हर्मुज भनिने क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।

इरानी समुद्री जहाजले अन्तर्राष्ट्रिय सामुद्रिक नियमलाई तोडेको दाबी गरे पनि सो कार्यलाई जिब्राल्टरमा आफ्नो ट्यांकर पक्राउको प्रतिउत्तरका रुपमा लिइएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata