कथा सुनाउनु न हजुरबुवा !

कविता

शनिबार, बैशाख १४, २०७६

- प्रज्वल अधिकारी



उहिले को कुरा हो….

यो देशको सरकार बाहेक
यो देश नै हल्लाउने ठूलो भुकम्प आयो

भुकम्प आउनु भन्दा पनि पहिले
जनआन्दोलन नामको आँधी आयो
जनआन्दोलन भन्दा पनि पहिले
जनयुद्ध नामको भ्याम्पायर आयो

जनयुद्द, जनआन्दोलन, भुकम्प
यी सबैले मान्छे खान्थे

जनआन्दोलनमा भ्याम्पायरहरूको जीत भयो ।

उनीहरूले राजा खाए र राजा बने

अहिले तिम्रो पालामा सरकारमा भएका
दाहाल वंश, भट्टराई बंश, ओली वंश, यादव वंश
देउवा वंश, कोइराला वंश,पौडेल वंश, महतो वंश
शाह वंश खाएर जन्मिएका भष्माशुरका वंश हुन् ।

यो वंशले मेलम्ची खायो, जुट मिल खायो, टनकपुर खायो
चिनी मिल खायो, जलस्रोत खायो, खेत खायो,
हिमाल खायो, मधेस खायो, बन खायो
सबैभन्दा बढी सुख दिने आशामा
हाम्रो निद, चैन, र दैनिकी खायो

सरकारको रुप धारण गरेर
राक्षसहरू राजधानी छिरेपछि
यिनिहरूले खाए –
रानीपोखरीको कला, बसन्तपुरको रौनक
खुलामञ्चको आवाज, बसपार्कको थकान
ललितकलाको मौलिकता, मन्दिरको दर्शन
बिश्वबिद्धालयको चेतना, बालुवाटारको मिथ..

वाक कलामा बढो निपुर्ण थिए यिनिहरू
जस्तो पहिला हुने गर्दथे….
धनुर्विद्‍यामा निपुर्ण, कुटनितीमा निपुर्ण
राजकाजमा निपुर्ण, तलवारमा निपुर्ण
अहँ यिननीहरू यस्तोमा केही थिएनन
यिनीहरू थिए त….
भ्रस्टाचारमा निपुर्ण, अनैतिकतामा निपुर्ण
कुशासनमा निपुर्ण, नातावाद/ कृपावादमा निपुर्ण

जनतालाई विदेश पठाएर रगत चुस्थे उनीहरू
जनतालाई कार्यकर्ता बनाएर पसिन चुस्थे उनीहरू
जनतालाई पार्टीको ट्याग लागाएर भिडाउथे
जात हरायो भन्दै जातकै नाराले चुनाब जित्थे
धर्मकै नाममा काटमार मच्चाउथे
चुनावमा जनतालाई जाँडमा सुताएर
कहिले मतपत्र च्यात्थे त कहिले मतपेटी जलाउथे

यो देशकै क्रान्तिले निलेको हो-तिम्रो बालाई
यो देशकै व्यवस्थाले लुटेको हो- तिम्रो आमालाई
यो देशकै नितीले चुटेको हो- हाम्रो घरलाई

भोलीपर्सि….
तिम्रो नातिले पनि कथा भन्न लगायो भने
यी राक्षसहरूको कथा नसुनाउनु
सुनाउनु –
विकासको कथा, सुशासनको कथा
अमन चैन र न्यायको कथा !
जुन कथाहरू तिमी आफैले लेख्नुपर्ने छ !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank