सरकारको देखिने रहर !

नेपालपाटी टिप्पणी

बुधबार, मंसिर १२, २०७५

- भूपेन्द्र शाह



यहि मंसिर ११ गते बिजुलीको पोल र बजारमा देखिने छापा पत्रीका मार्फत सरकार देखियो । केवल संसदीय अंकगणितको भरमा शासन गरिरहेको सरकारलाई अचानक देखिने रहर जागेको बेला आम मानिसले नसोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्रीले भने , हामी देखिन चाहान्छौं । प्रमुख प्रतिपक्षीले कतै नदेखेको हुनाले उनीहरुलाई देखाउन कै निम्ती सरकारले केही करोड रकम खर्च गरेरै भएपनी सरकार देखिन चाहयो । आफु नौं महिना नहराएको बरु जनताको समस्या समाधान गर्न दिन रात खटेको देखाउन आँतुर सरकार “नयाँ युगको शुरुवात ” कार्यक्रम घोषणा मार्फत देखियाे । सामाजिक सुरक्षा कार्यक्रम शुरु गरिनु आफैमा राम्रो काम हुँदाहुँदै सरकारको शैलीले आलोचना खेप्न बाध्य हुनुले वर्तमान सरकार कहिं कतै भडकिएको मान्न करै लाग्छ ।

  घोषणा गरे कै भरमा बिकास र समृद्धि आउँदैन भन्ने कुरा प्रधानमन्त्रीलाई थाहा छैन भन्न मिलेन । सरकारले मुलुकको समस्या नै चिनेको रहेनछ भन्दै फेसबुकमा कसैले लेख्यो भने सरकारले सबै देखेको , भोगेको र चिनेको जवाफ दिन तम्सिने प्रधानमन्त्रीलाई बिगतमा राजा र सरकार प्रमुखहरुले गरेको घोषणा किन कार्यान्बयनमा आउन सकेन ?  पञ्चायती सरकारको एशियाली मापदण्ड , शोषण रहित समाजको परिकल्पना , प्रजा बिकास कार्यक्रम मात्र हैन दिवंगत राजा बिरेन्द्रको शान्ती क्षेत्र प्रस्तावले मुलुक किन समृद्ध भएन ? एक पटक राम्रो सँग प्रधानमन्त्रीले ध्यान दिन बिशेष आग्रह छ ।

अत्यन्त राम्रो कामको शुरुवात गर्दै गर्दा आफ्नो पुरानो शैली छोडन नसकेका प्रधानमन्त्रीले आगामी दिनमा आफ्नो घोषित कार्यक्रमलाई सफल बनाउन कसरी उनीहरुसँग सहकार्य गर्ने हुन ? तत्काल कुनै जवाफ खोज्नु मनासिव हुँदैन । मेलम्चीले काठमाण्डौं पखाल्न चाहाने दिवंगत पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले प्रजातन्त्र प्राप्ती सँगै देखेको सपना आज सम्म पुरा नभएको अवस्थामा मेलम्ची आइपुग्नै लाग्यो । हामी सडक पखाल्छौं भन्ने बाध्यता सिंहदरवारलाई लाज लाग्न पर्ने हो । नाै महिना पछि कलंकी नागढुङ्गा सम्झिने प्रधानमन्त्री फेरी पनि सबै काम हुन्छ । काठमाण्डौं सफा गरिन्छ । धुलो हटाइन्छ । बाटो बनाइन्छ भन्दै जनतामा देखिने जमर्को गर्दै छन । सर्वसाधारण मानिसले पनि बुझ्ने कुरा हो । ढिलो चाँडो यी काम हुन्छन । तर कहिले ? भन्ने कुरा महत्वपुर्ण हो भन्ने भुल्दै छन ।

देशमा ब्याप्त भ्रष्टाचार र बलात्कारको घटनाले सरकारको उपस्थीती नदेखिएको आम मानिसको धारणा रहिआएको छ । निर्मला बलात्कार पछी भएको हत्या काण्ड र वाइडबडी जहाज खरिद प्रकरणमा अरबौं रुपैयाँको चलखेलको आसंका अर्थ समितीले गरे सँगै सरकार बिगतमा कता हराएको थियो ? भन्ने आधार भेटिन्छन । सामान्य काममा सरकार देखिन नरुचाउने , आम मानिसले तत्काल देख्न सक्ने स्थानमा सरकार जान नचाहाने , ठुला ठुला सपना मात्र देख्ने रोगले गर्दा सरकार कहिकतै नदेखिएको प्रतिपक्षी आलोचना एक हद सम्म सही मानेको भए सरकार कै आँखा खोल्न सहयोगी हुने थियो ।

 मन्त्रीहरुको मार्कसिट बनाउने तयारी कै बीच आफ्नो कार्यक्षमता र कार्यकुशलता माथी उठन सक्ने सवालको कारण सरकार जनतामा कम देखिने एउटा कारण बन्यो । बलात्कार र हत्या जस्तो जघन्य अपराधमा सरकारको लाचारीको नमुना पस्कँदै सामान्य प्रहरीलाई कारबाही गर्दै बिश्राम लिने , प्रधानन्यायाधीशमा अयोग्य बनाउने अनि फेरी प्रधानन्यायाधीश बनाउन सिफारिस गर्ने , कसैले सवाल उठाउने बित्तिकै अघिल्लो सरकारले गरेको भन्ने तर  बिगतका त्रुटी सच्याउन कुनै कदम नचाल्ने केवल अरुलाई दोष देखाएर पन्छिने , चिनीकाण्ड , सिण्डीकेट काण्ड , सुनकाण्ड पछी सरकार कतै नदेखिने अवस्था पुग्दै गरेको आम जनताको सोचाई बन्दै थियो ।

आम जनता सरकारलाई देख्न चाहान्थे । तर “बिज्ञापन सरकार ” को रुपमा हैन । सपना र घोषणामा हैन । सरकारकाे उपस्थिती ब्यबहारमै खोज्दै थिए । गरीबको झुपडी , स्वास्थ्य , शिक्षा , रोजगारी , महङ्गी नियन्त्रण  र सुशासन लगायत जन जीविकाको सवालमा सरकारको उपस्थिती खोजिदै थियो । बिडम्बना , सरकारको देखिने रहर पञ्चायती पाराको भएको महशुस झल्किँदै गएको देखिन्छ ।

राम्रा राम्रा कार्यक्रम घोषणा गरिदिने तर कार्यान्वयनमा आँखा चिम्लीदिने सिंहदबारको पुरानो रोगबाट यस पटकको घोषणा अपवाद बन्न सके सरकारको देखिने रहरले सार्थकता पाउने थियो कि ? अनुपयुक्त तामझाममा अल्झिदै  बिराएको बाटोबाट तत्काल फर्किन सके  सरकार जनताको मन मन्दिरमा बस्न सफल हुनेछ ।

1290 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank