पद गएपनि पराजुलीलाई सर्वोच्च अदालतले छाडेन
सोमवार, चैत्र १९, २०७४

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीबारे विभिन्न तीन संवैधानिक निकायबाट भएको कामकारबाहीको कागजात झिकाउने आदेश दिएको छ ।
न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले दुई दिनअघि यस्तो आदेश दिएको हो । पदबाट मुक्त भइसकेपछि प्रधानन्यायाधीशका हैसियतले पराजुलीले नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई शपथ गराउनु संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।
सर्वोच्चले पराजुलीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्ले गरेको सिफारिसको निर्णय र उनको उमेरबारे न्याय परिषद्बाटै भएको निर्णय झिकाउन आदेश दिएको हो । पराजुलीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्दा संवैधानिक परिषद्ले गरेको निर्णय पनि झिकाउन आदेश दिएको छ ।
आदेशमा भनिएको छ, ‘पराजुलीले प्रधानन्यायाधीशको हैसियतले राष्ट्रपतिलाई चैत १ गते दिएको राजीनामाका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट भएको कारबाही एवं पत्राचारबारे राष्ट्रपतिको कार्यालयबाट जवाफ लिनू ।’
72 पटक पढिएकोप्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments