कविता- विश्व बनाउने मजदुरहरूलाई शुभकामना !!!

शुक्रबार, बैशाख १९, २०७७

- सीता ओझा



आज १३१ औँ
अन्तर्राष्ट्रिय मजदुर दिवस

विश्वका श्रमजीवीको
एकता र समृद्धिको
कथा पढ्दै,
भला कुसारी गर्दै
कर्म र मर्म
सुन्ने र सुनाउने दिन

सङ्गठित र असङ्गठित
क्षेत्रका मजदुरहरूको
आवाज जोड्ने दिन
दुख र सुख बुझ्ने र बुझाउने दिन

दुनियाँ भरका
श्रमिक मनहरूले
एक छिन भए पनि
परिवारसँग रमाउने
साथीहरूसँग
चिया चमेनामा जुट्ने दिन
गरी खानेहरूको शुभ साट्ने दिन

जीवन जिउने परिपाटी
खोज्दै मन रमाउने
स्वतन्त्रता खोज्दै
जुलुस र र्‍यालीमा
अनेकौँ प्रकारको भेषमा
देखिन मन पर्ने दिन
यो विश्वभरका मजदुरको दिन

बल्लतल्ल भेटेका
अलि पहिलेदेखि मिलेका
नयाँ र पुरानाहरू बिच
स्मार्ट मोबाइलबाटै भए पनि
तस्बिर आँट्ने र साट्ने दिन
त्यसैले त अन्तर्राष्ट्रिय श्रमिक दिवस
यो वर्ष त
अन्तर्राष्ट्रिय दिवस आउनु भन्दा
अगावैदेखि , लाखौँलाख मजदुरहरू
श्रम मेटेर,रोजगारी रेटेर
विश्व कोभिड- १९ प्रतिकूलताबाट
बच्न, एक छाक खाएर भए पनि
जुधेका जुध्यै छौँ
अहिले मजदुरहरूको रोजगारी
विश्व मानवको स्वास्थ्य सङ्कटसँग
जोडिएको देखिन्छ
यस्तो प्राकृत हो या मानव निर्मित
यो स्वास्थ्य सङ्कटले
कार्यस्थलका मानव श्रोतको शक्ति
रोजीरोटीको सङ्कटको भुमरीमा छ
त्यसैले त
सरोकारवालाले बुझ्नुपर्छ
विश्व बनाउने मजदुरहरूको
मानवीय संवेदना र रोजगारीसँग
रोटीको सम्बन्ध जोडिएको छ
त्यसैले पनि
रोटीको व्यवस्थापनको चेत खुल्नु पर्छ

१३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको
सबैलाई शुभकामना

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments