गोलभेंडा २ रुपैयाँ किलो

शुक्रबार, फाल्गुन ६, २०७३

loading...

काठमाडौं । यहाँका किसानले गोलभेडा प्रतिकिलो २ रुपैयाँमा बिक्री गर्न थालेका छन् । भारतीय गोलभेडा भित्रिएपछि स्थानीय उत्पादनले भाउ नपाएको हो ।

एक दशकयताकै सस्तो मूल्यमा किसानले यस वर्ष गोलभेडा बेचेका छन् । खर्चिलो र निकै मिहिनेतले उत्पादन हुने गोलभेडा बेचेर लागतसमेत उठाउन नसकेको किसानको गुनासो छ । किसान बिन्देश्वर महतोले गोलभेडा बेचेर टिप्ने र ढुवानी गर्ने खर्चसमेत नपुगेको बताए । ‘खेतमै जानु बेकार भइसक्यो,’ उनले भने, ‘टिप्ने र ढुवानी गर्नेलाई दिन पनि पुग्दैन ।’ यस वर्ष सुरुदेखि नै गोलभेडाले भाउ पाएन । रोप्ने बेला असोजमा पानी परेर यस वर्ष उत्पादन नै ढिला भएको थियो ।

भारतीय गोलभेडा बजारमा आएपछि स्थानीय उत्पादन सुरुदेखि नै सस्तो हुन पुगेको उनले बताए । किलोको ५० रुपैयाँसम्म सजिलै बिक्री हुने गोलभेडा सस्तिएर किलोको २ रुपैयाँमा झरेको छ । सर्लाहीबाट दैनिक १ लाख किलोभन्दा बढी गोलभेडा काठमाडौंलगायतका ठूला सहरमा पुग्छ ।

गोलभेडाको भाउ घट्दा किसानलाई दैनिक लाखौं घाटा हुन्छ । ‘किलोमा एक रुपैयाँ घट्दा पनि किसानले पाउने रकममा १ लाख घाटा हुन्छ,’ महतोले भने, ‘हजारौं किसानको रोजीरोटी र जीवनसँग जोडिएको खेती हो । उल्टै घाटा खाएपछि त किसान टाट पल्टिने अवस्था आयो ।’ गोलभेडाका थोक व्यापारी रामदरेश चौधरीले भारतीय उत्पादन भित्रिएका कारण नै यस वर्ष भाउ बिग्रिएर किसानलाई घाटा भएको बताए । ‘भारतीय गोलभेडाले नै बजारमा भाउ घटायो,’ उनले भने, ‘यस वर्ष किसानलाई गोलभेडा खेतीबाट निराशा मात्र हात लाग्यो । लगातार भाउ घटेकाले व्यापारी पनि घाटामा परे ।’

सिँचाइ सुविधा नभए पनि जिल्लाका उत्तरी भेगमा ठूलो परिमाणमा गोलभेडा खेती हुन्छ । गोलभेडा खेतीले किसानको जीवनस्तर उकासेको थियो । यस वर्ष भाउ घटेपछि किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ । नवलपुरका व्यापारी शम्भु चौधरीले व्यापार सुरु गरेको १३ वर्षमा पहिलोपल्ट गोलभेडा यति सस्तो भएको बताए । ‘किसान र हामी व्यापारी पनि घाटामा परेका छौं,’ उनले भने । उनले भारतीय गोलभेडा भित्रिन रोक्नुपर्ने सुझाए । कान्तिपुरबाट

247 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv