मन्त्री अधिकारीले गुमाएको सुनौलो अबसर !

नेपालपाटी टिप्पणी

बिहिबार, पुस २६, २०७५

- भूपेन्द्र शाह



भनिन्छ, जव मानिस चर्चित बन्छ । तब नसोचेको समस्या पनि आइलाग्छ । विगतमा कसले र किन यस्तो विचार पोख्न विवश भए थाहा नभए पनि वर्तमान समयमा मन्त्री अधिकारीको जीवनमा ठ्याक्कै मेल खाएकाे छ ।

चियापसल देखी संसदसम्म चर्चामा रहेका पर्यटन तथा संस्कृती मन्त्री रविन्द्र अधिकारी छोटो समयमा नेपाली राजनीतिक मञ्चमा उदाउन सफल हुँदा उनले नसोचेको अनुपयुक्त झमेलामा फस्न पुगेका छन् ।

नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी जहाज प्रकरणमा उनको पदीय जिम्मेवारी किटान गर्ने संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगत निर्माण गरिएको उपसमितिको प्रतिवेदनलाई मानिएको छ ।

वाइडबडी जहाज खरिद प्रकरणमा ठुलो रकमको चलखेल भएको चर्चा चुलिएसँगै संसदको सार्वजनिक लेखा समितिले चासो राख्न बाध्य भएको समितिको बैठकमा मन्त्री अधिकारीले ब्यक्त गरेका विचारसँग महालेखाले असहमति राखेसँगै उनको राजनीतिक धारणा, प्रतिबद्धता, व्यवहार र शैलीमा अकस्मात प्रश्न चिन्ह खडा हुन पुगेको छ ।

नेकपा राजनीतिमा ठूलो सम्भावना बोकेर उदाएका मन्त्री अधिकारी पर्यटन मन्त्री बनेसँगै मुलुकको एक मात्र राष्ट्रिय ध्वजावहाक विमान सेवाले नयाँ जीवन पाउने आसा शुरुवाती दिनमा सकारात्मक सन्देश दिन सफल भए कै हो ।

दिंवगत प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला सरकारको पर्यटन मन्त्री तारुणी दत्त चटौत मार्फत रोगी बन्न शुरु भएको नेपाल वायु सेवा निगम मन्त्री अधिकारीको कार्यकालमा पुराना समस्या नदोहोरिने आसा माथि संकट आइलागेको छ ।

करिब मृत प्राय अबस्थामा रहेको नेपाल वायु सेवा निगमलाई जीवनदान दिने उद्धेश्यले पूर्ववर्ती सरकारले ठुला एयरबस ल्याउने निर्णयलाई मन्त्री अधिकारीले तदारुकता साथ अगाडी बढाउँदै जहाज ल्याए । बाजा बजाए । अत्यन्त हँसिलो मुद्रामा सामाजिक संञ्जाल र मिडियामा प्रस्तुत पनि भए ।

वाइडबडी विमान मुलुक भित्रिए सँगै नेपाल वायु सेवा निगमको कायापलट हुनेमा आम मानिस र मन्त्री अधिकारीका प्रशंसकहरु समेत उपसमितिको प्रतिवेदन सार्वजनिक भएसँगै समय र विषयले कोल्टे फेर्दैछ ।

विगतमा जस लिन तम्सीने मन्त्री अधिकारी सामु उपसमितिको प्रतिवेदन सँगै निस्केकोे कालकुट विष पिउन आनाकानी गर्दा जन्मिएका साइड इफेक्ट पछि रक्षात्मक बन्दै पत्रकार सम्मेलन मार्फत आफुले जहाज नल्याएको विगत सरकारले गरेको निर्णय अनुसार जहाज खरिदको निम्ती निकासा दिदैं रकम डुब्न बाट बचाएको दलिल पेश गर्न बाध्य भए ।

प्रजातन्त्र प्राप्ती सँगै मुलुकको वायु सेवाले भोगेको धमिजा,लाउडा,चेजएयर सँगै वाइडबडी सम्म घटाइएको अनियमितताको घटनामा रविन्द्र जस्ता चतुर व्यक्ति कसरी फस्न पुगे ?

प्रजातन्त्र प्राप्तीसँगै मुलुक भित्र देखा परेको तमाम भ्रष्टाचार काण्डको विरोध गर्दै सडकमा देखिएका युवा विद्यार्थी नेता रविन्द्र अधिकारी आज मुलुकको यो स्थानमा पुग्नुको कारण उनले विगतमा जनता सँग गरेका वाचा, प्रतिवद्धता र क्रियाकलाप हुन भन्ने नबुझिने विषय थिएन ।

सडकबाट सधैंभरी नैतिक राजनीतिको दुहाई दिने कमरेड रविन्द्र पदमा पुगे सँगै आफु माथि लागेको आरोपलाई पखाल्न पनि नैतिकताको मिसाल कायम गर्ने छन् भन्ने उनको समर्थकहरुको धारणामा पानी हाल्न कसरी तयार भए ?

आखिर कुर्सीसँग के त्यस्तो जादुमय शक्ति छ ? जसले रविन्द्र जस्ता मानिसलाई समेत अल्मल्याउन सक्छ । आफ्नै आँखा अगाडि अग्नी परिक्षा पास गरेकी प्रिय धर्मपत्नी सीतालाई राजधर्म पालन गर्दै राजा रामले त्याग गर्न तयार भए ।

त्रेता युगको कहानी भलीभाती बुझेका मन्त्री अधिकारी तुच्छ मन्त्री पदको निम्ती प्राप्त अवसरलाई किन गुमाउन राजी हुदैछन् ?  नैतिकता र सुशासनको राजनीतिले सधैं सम्झिराख्ने अबसरबाट विमुख हुन पुगेका अधिकारीको आँखा खुल्दा बागमतीमा धेरै पानी बगिसक्ने छ ।

पदमा बस्दै आफु निर्दाेश रहेको बताइरहेका मन्त्री अधिकारी विचित्र ढंगबाट चिप्लिएको पुष्टि उनका आफ्नै अभिव्यक्तिले गरिरहेका छन् । उनी भन्छन् , आफुले एक रुपैयाँ लाभ नलिएको, लिएको प्रमाणित भए राजनीतिबाट सन्यास लिने छु ।

विगत सरकारका मन्त्रीले तय गरेका भाषा, बाटो र व्यवहारबाट प्रभावित बन्दै पदीय मोहमा फसेका मन्त्री अधिकारी आफ्नो राजनीतिक जीवनमा प्राप्त सुनौलो अबसर किन गुमाउँदै छन् ?  उनका कार्यकर्ता र समर्थकले नबुझेको विषय बन्दैछ ।

लोकतन्त्र प्राप्ती र मुलुक निर्माणको आन्दोलनमा होमिदा कुनै पदीय लालसा नपालेका एक होनहार युवा नेता यति छिटो तुच्छ पदलाई त्याग्न किन अल्मलिदै छन् ?  आफु निर्दाेश भएको प्रमाणित गर्न पद मै बस्नु पर्ने उनको बाध्यताले थप शंकाकोे जन्म लिदैं छ ।

मुलुक र लोकतन्त्रलाई नयाँ आसा र भरोसा सहितको व्यवहार प्रस्तुत गर्दै आफुलाई लान्छित गर्ने निकाय र तप्कालाई चुनौती दिने अबसर गुमाउँदै छन् ।

नेपालमा भ्रष्टाचारको स्केल कुन हद सम्म पुगेको छ । सामान्य जनताले पनि बुझ्ने अबस्था सिर्जित भएको छ । नखाएको विष लाग्दैन भन्ने नेपाली उखानलाई प्रमाणित गर्न चुकेका मन्त्री अधिकारी नेपाल वायु सेवा निगम भित्रको सत्य तथ्य जनता माझ ल्याउँदै आफ्नो र नेकपाको अनुहारमा दल्न खोजिएको दागलाई किन अन्देखा गर्दैछन् ?

अनुपयुक्त जालझेल र शक्ति केन्द्रको दायाराबाट फुत्कीन धेरै ढिला भएको मन्त्री अधिकारीले बुझ्नु पर्ने छ । अन्यथा कुर्सीको चुम्बकीय शक्तिले समाप्त गरिएको राजनीतिक भविष्य हेर्दै वाइडबडी सम्झेर बस्नु पर्ने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank