३३ किलो सुन काण्डमा नखोतलिएको पाटो

मङ्लबार, बैशाख २५, २०७५



काठमाडौं  ।  तस्करीको सुन कारोबारमा प्रत्यक्ष संलग्न भनिएका भुजुङले बयानका क्रममा हाडीगाउँस्थित चूडामणि उप्रेतीको सुन तस्करी गर्ने कोठाबारे बताएका छन्। तर उक्त कोठा कहाँ छ?

अहिले छ कि छैन भन्नेबारे समितिले खोतलेको छैन। त्यो कसको घरको कोठा हो र केका निम्ति उपयोग हुन्थ्यो वा उक्त कोठा बन्द भइसकेको छ भन्नेबारे बयानका क्रममा कसैले बताएका छैनन्, न समितिले नै त्यसबारे खोतल्ने काम गरेको छ।

समितिसँगको बयानका क्रममा भुजुङले विमानस्थलबाट बाहिरिएको सुन हराएपछि आफूहरूले खोज्ने पहल थालेको, सुन खोज्न चूडामणिलाई दबाब दिएको र सुन खोज्नकै लागि सांग्रिला होटलमा सालो भन्ने डेबिटर डाक्टर भन्ने छिरिङ वाङगेल घले र उनका सवारीचालक फाल्दुङ गुरुङ, चूडामणि र अन्य व्यक्ति बसेर छलफल गरेको बताएका छन्। तर समितिले फाल्दुङ गुरुङ को थिए र उनीसँग उक्त बैठकमा के कुरा भएको थियो भन्नेबारे बयान लिएको देखिँदैन।

एलबी भन्ने लालबहादुर मगरले पनि बयानका क्रममा सुन तस्करी गर्नेबारे २०७४ पुस २० गतेतिर भएको बैठकमा भुजुङका भान्जो पर्ने फाल्दुङ पनि उपस्थित हुने गरेकोबारे बताएका छन्। चन्दन भन्ने वीरेन्द्रमान श्रेष्ठले पनि बयानका क्रममा फाल्दुङको बारेमा बताएका छन्। उनले विभिन्न समयमा आफुले फाल्दुङले भनेका मान्छेहरूलाई भेटेर तस्करीको सुन दिने गरेको बताएका छन्।

हराएको भनिएको सुन तस्करीमा एउटी केटी पात्रको भूमिकाबारे चूडामणि उप्रेती, महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलले समेत चासो राखेको देखिन्छ। मृतक सनम शाक्यको काठमाडौं बस्ने गर्लफ्रेन्ड निशा सेन ठकुरीसँग समितिले बयान लिएको छ। सुन हराएपछि सनम खुसुक्क काठमाडौं आएर गर्लफ्रेन्डसँग बसेको पनि खुलेको छ तर हराएको सुनबारे महानगरीय अपराध महाशाखाले उनको कोठा खानतलासी गर्दा केही भेट्टाएन।

समितिसँग बयानका क्रममा निशाले बताएकी छिन्, ‘मेरा साथी रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमलाई लुटने योजना बनाएका रहेछन्।’ समितिले भने निशाको बयानअनुसार सुन लुट्ने योजना बनाएकाहरूलाई शंकाको घेरामा राखेको देखिँदैन। समितिका एक सदस्य निशाले उक्त सुन लुटने घटना यो ३३ किलोको घटनासँग सम्बन्धित नरहेको र अरू नै प्रसंगमा भनेकाले शंकाको सुई त्यता नसोझ्याइएको बताउँछन्।

हराएको सुन खोज्न समितिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखासँग समेत सहयोग लिएको देखिँदैन। सुनको खोजीमा समितिले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागसँग समन्वय गरेको देखिन्छ।

तर अहिलेसम्म हराएको भनिएको सुन कहाँ छ भन्ने प्रश्नको उत्तर समितिसँग छैन। हराएको भनिएको सुनमा भारतीय लगानीकर्ता रहेको र लगानीकर्ताबीचको बेमेलका कारण सुन लुटिएको हुन सक्ने आशंका गरिए पनि त्यसलाई पुष्टि गर्ने आधार फेला परेको छैन। कान्तिपुरबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank