सातामा डेढ सय किलो सुन तस्करी

बिहिबार, बैशाख १३, २०७५



काठमाडौं  । सुनचाँदी व्यवसायी भन्छन्– बजारमा दैनिक ४० केजी सुनको माग छ । तर, नेपाल राष्ट्र बैंकले २० किलो सुन मात्र आयात गर्ने अनुमति दिएको छ । यसरी दिनमा २० किलो र सातामा करिब डेढ सय किलो सुन तस्करीबाट आएको अनुमान छ ।  भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा चार हजार सात सय ५० केजी सुन आयात भएको छ । जसको मूल्य २० अर्ब ३५ करोड ७७ लाख रुपैयाँ पर्छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो । आव ०७३-७४ को आठ महिनामा १ अर्ब ५६ करोड ९२ लाख मूल्यबराबरको तीन हजार ६ सय ५० केजी सुन आयात भएको विभागको तथ्यांक छ।

समीक्षा अवधिमा सरकारले सुन आयातबाट एक अर्ब ९९ करोड ५० लाख रुपैयाँ भन्सार राजस्व उठाएको छ । अघिल्लो वर्षको सोही अवधिमा सुन आयातबाट १ अर्ब ५३ करोड ३० लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो । अहिले सुन आयातको भन्सारदर प्रति १० ग्राम ४ हजार २ सय रुपैयाँ छ । सरकारले अघिल्लो वर्षदेखि सुनको कोटा बढाएर दैनिक २० केजी आयात गर्ने व्यवस्था गरेपछि गत आवको पछिल्ला महिना र चालू आवमा सुन आयात बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए । त्यसअघि प्रतिदिन १५ केजी सुन आयात गरिन्थ्यो ।  नयाँपत्रिकाबाट

‘मागको ६० प्रतिशत मात्रै आपूर्ति’
वाणिज्य बैंकहरूले आलोपालो नियममा रहेर दैनिक २० किलो सुन आयात गर्छन् । तर, औसतमा यो मागभन्दा करिब ६० प्रतिशत मात्रै रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन बताउँछन् । यति सुन देशभर रहेका २२ हजार व्यवसायीका लागि पर्याप्त नहुने उनको भनाइ छ । अफसिजनमा आयात भएको सुनको स्टक, ग्राहकले बिक्री गर्ने सुन र साटफेर गरेर जेनतेन बजारको माग धान्ने गरेको उनले बताए ।

२० किलोले धान्छ : राष्ट्र बैंक
राष्ट्र बैंकले भने दैनिक २० किलो सुनले नेपाली बजारको माग धान्ने गरेको पटक–पटक बताउँदै आएको छ । त्यसो भए तस्करी भएर भित्रिने सुन कहाँ जान्छ त ? व्यवसायी र बैंकका अधिकारीहरूको जवाफ एउटै छ । तस्करी भएको सुन भारततर्फ जाने गरेको अनुमान दुवै पक्षको छ । यो सुन स्वदेशी बजारमा आपूर्ति नभएको व्यवसायीहरूको दाबी छ ।

पञ्चायतदेखि नै सुन र शक्तिको सम्बन्ध

सुन तस्करीसँग ठूलाबडा नेपालीको साइनो पुरानो छ । पञ्चायतकालमै दरबारसम्म सुनका साथै लागुऔषधको साइनो गाँसिएको देखिन्छ । राजा महेन्द्रकै पालामा मनाङवासीको ‘जीवनस्तर उकास्न’ भन्सार छुटको सुविधा दिइयो । यससँगै सर्वसाधारण नेपालीको पनि विदेशसँग पहुँच कायम भयो । यहाँ अकुत नाफा गर्न सकिने वस्तु ल्याएर बिक्री गर्ने धन्दा फस्टायो । मनाङे साहुको भरिया भएर हङकङबाट तीनवटा जिन्स पाइन्ट लगाई मोटा–मोटा गहना लगाएर फर्किएको विषय हरिवंश आचार्यले आत्मकथा ‘चिना हराएको मान्छे’मा लेखेका छन् ।

४० को दशकमा नै नेपाल सुनको ‘ट्रान्जिट’ बनिसकेको थियो । दरबार सर्वशक्तिमान् भएका वेला दरबारिया कनेक्सन नभई सुन तस्करी सम्भव पनि थिएन । राष्ट्रिय पञ्चायत सदस्यका रूपमा सुर्खेतबाट निर्वाचित चन्द्रबहादुर बुढा र लमजुङबाट निर्वाचित नरबहादुर गुरुङ हङकङबाट सुन ल्याउँदाल्याउँदै विमानस्थलमा समातिए । बुढालाई विमानस्थलमा तत्कालीन इन्स्पेक्टर कुवेरसिंह राना (पछि महानिरीक्षकबाट सेवानिवृत्त)ले साढे २२ किलो सुनसहित समातेका थिए । जहाजबाट झरेर अध्यागमनतिर आउँदै गरेका बुढा सुनको भारीले लच्किएका थिए । जिउबाट सुनका बिस्कुटै बिस्कुट बरामद भएपछि चन्द्रबहादुर बुढाको सुन बुढा भएको थियो ।

100 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank