गोला बारूदको खेल

बिहिबार, पुस २४, २०७६



हत्या होइन सदैव हाँसेर जिउन चाहन्छौ
निन्दा गरेर होइन प्रशंसा भित्र मर्न चाहन्छौ

आगो होइन पानीले जीवन सधैँ जोगाउँछौ
गोला फालेर शान्तिको अब गीत बनाउँछौ

मिसाइलको घाउ अब मित्रता गाँसेर बनाउँछौ
गोला फालेर फेरि मानवताको मित लगाउँछौ

गुण र रसको भाव जोडिएको मानव शरीर हो
एकछिनको इख राखेर नमार मानव शरीर त्यो

गोलाबारूदको खेल प्रथम र दोस्रो युद्धमा थियो
अब त मित्रताभित्रको एकताको सद्भावमा रह्यो

आतङ्क होइन जीवनमा नित्य धैर्य देख्न चाहन्छौ
युद्ध होइन भूमिमा सधैँ शान्ति पो मन पराउँछौ

ठुला चलेर होइन बोलेर माझिएको देख्न मन पराउँछौ
बलले होइन है अब जगतको मतले बाच्न चाहन्छौ

तिमी हामीको विभेद शक्तिको खेल र मदले जन्मछ
अदमको क्रीडा प्राय धनवान् भएपछि उधुम मौलाउँछ

सत्ता र शक्तिको खेलमा जनता जुवाको गोटी बन्दछ
राज्यको चर्को अहमको रापले हिंसा शक्ति झैँ मौलाउँछ

शासकले दम्भ पालेपछि निहत्थाले ज्यान गुमाउँछन्
सत्ता स्वार्थले क्रुद्ध शासकले अत्याएर जन मार्दछ

– सीता ओझा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments