‘गोहो’को गोहो

आइतवार, बैशाख ८, २०७६

- योगेश घिमिरे



नेपाली कथा क्षेत्रमा खडेरिले अचेटेको समय हो यो । नेपाली साहित्यमा अहिले आख्यानले व्यापारिक हिसाबमा आफुलाई सबैभन्दा बलियो तुल्याए पनि आफुलाई श्रेष्ठ तुल्याउन भने सकेको छैन । कला र विषयवस्तुको उत्कृष्ट समिश्रण सहितको कथा पढ्न अझै पनि हामीलाई धेरै पछाडी (३०-४०को दशक) फर्किनु पर्ने बाध्यता रहि आएको छ । पछिल्लो समय (विशेषत: सत्तरिको दसक) मा उपन्यास र कथा तीव्र रुपमा बजारमा आए पनि पाठकको प्यास तृप्त पार्न नसकेको गुनासो आईरहन्छ । आलोचित भैइरहन्छ यो बिधा । कहिले विषयबस्तुमा चिप्लेको कहिले कला पक्षमा लडेको आरोप खेपिरहन्छ । यसै समयमा कथा संग्रह लिएर आउने साहस गरेका छन्, जिके पोख्रेलले ।

साहस यस्तो ‘जिनिस’ हो जसले मानिसलाई उठाउन पनि सक्छ र गिराउन पनि । आफ्नो शक्ति सामर्थ्य र कमजोरी नबुझी गरिएको साहसले मान्छेलाई उल्टो दिशातर्फ लै’जान्छ । लगभग एक दशक भन्दा बढी नेपाली साहित्य प्राध्यापक तथा सम्पादकको हिसाबले काम गरेका उनले यी सबै नबुझी साहस गरेका त पक्कै छैनन् ।

पछिल्लो समय आख्यानका कारण पाठकमा बढ्दै गएको निराशाको ओखती बनेर आएको छ “गोहो”। गोहोले विषयवस्तुको हिसाबमा आफुलाई अब्बल दर्जामा उभ्याउन सफल भएको छ । १० वर्षे द्वन्द, त्यसले निम्त्याएको सकस र क्रुर सामाजिक यथार्थलाई जस्ताको तस्तै पस्केको छ यसले । माओवादी नामैले त्रसित हुनुपर्ने त्यस समयमा नाम बेचेर गरिएका अतिवादी घटनाहरुको दस्तावेज हो गोहो।

विषयवस्तु
******
विषयवस्तुलाई आधार बनाएर हेर्ने हो भने गोहो अत्यन्तै सुन्दर पुस्तकको सूचीमा पर्छ । सामाजिक उत्पिडन, मनोविज्ञान, द्वन्दकालका घटना र त्यसपछिका सकसहरुलाई निकै सुन्दर तरिकाले प्रस्तुत गरेकाछन्, जिके पोख्रेलले । द्वन्दले निम्त्याएको सकस, माओवादीको नाम भजाएर हुने दादागिरीले त्रसित जिन्दगी र घाईतेको मनोविज्ञानलाई ‘आनन्दपुर’ र ‘गोहो’ कथा मार्फत अघि ल्याएका छन कथाकारले । ‘भैंस’ कथा मार्फत तराईका दुख र कोशीको त्रास बोलेका छन्, कथाकार । ‘मोचनघाट’ मार्फत पुरुष अभिमान र महिला अहंकारको लडाईमा जेलिएको सम्बन्ध र अन्ततः त्यसले निम्त्याएको परिणाम दर्शाएका छन् ।

द्वन्दकालका कथाहरु पढ्दै गर्दा विध्वंसको चित्र नाच्दछ आँखा अगाडि । तर यो प्रश्न पनि उठ्न सक्छ- द्वन्द अन्त्य भएको एक दशक भन्दा बढी भइसक्दा पनि यो कथाको आवश्यकता के छ ? लेखिनुपर्ने लेखि सकिएन र ? कथाले यसको उत्तर सहजै दिन्छ । कथाले कारुणिकता मात्र नभइ सामाजिक र मनोवैज्ञानिक पाटोलाई अंगालेको छ । द्वन्दको तुस कसरी गडेर बसेको छ समाजमा त्यसलाई उजागर गरेको छ । देशको एउटा सिंगो कालखण्ड हो शशस्त्र द्वन्द । देशको ईतिहास हो । इतिहासको लेखन र पुनर्लेखन जरुरी रहन्छ – हमेसा । लेखिनुपर्थ्यो । लेखियो । गजब भयो ।

तर पढ्दै गर्दा पछिल्ला केही कथाहरुमा चाहिँ लेखकले हतार गरेका हुन कि जस्तो महसुस हुन्छ । कथामा नयाँपन दिन खोज्दा कता कता चिप्लन लागेको हो कि जस्तो । अलि हतारमा लेखिएको कथा जस्तो ।

भाषा/शैली 
******
सामान्यतया आख्यान लेखनमा प्रयोग गरिने भन्दा फरक भाषाशैली प्रयोग गरेका छन् लेखकले । सामान्य बोलिचालीका भाषाहरु, रिसमा, मायामा बोलिने शब्दहरु टिपेकाछन । नयाँ र पृथक बिम्बहरुको प्रयोग गरेका छन्, कथामा लेखकले । यसले कथालाई अझै मीठो बनाएको छ । तर कतै कतै चाहिँ बिम्बको प्रयोग अलि बढी नै भएको पो हो कि जस्तो पनि लाग्ला ।

पढ्दै गरेको कुरा दृष्य झैं मस्तिष्कमा नचाउन सक्नु लेखकको बलियो पक्ष हो । तर यति हुदा हुँदै पनि सम्पादनको मामिलामा कहिँ कहिँ चुकेको चाहिँ साँचो हो ।

उदाहरण :
१. पेज नं २ : पंक्ती नं १
पृष्ठ १ मा : बाङ्गे खोलो साँच्चै बाङ्गे खोलोजस्तै थियो ।
पृष्ठ २ मा : उता तालभञ्ज्याङ पनि तालभञ्ज्याङ जस्तो थिएन । (हुनुपर्ने यस्तो थियो सायद : उता तालभञ्ज्याङ भने/चाहिँ तालभञ्ज्याङ जस्तो थिएन।)

२.पेज नं ३ : पंक्ती नं १०
त्यो समाचार गाउमा फैलिएपछिको अर्को बिहान । आनन्दपुर स्कुलमा बिहानको घण्टी लाग्ने वेला भएको थियो । (बिहान पछि पुर्णविरामको प्रयोग ???)

३.पेज नं १९ : पंक्ती ३ आदि ।
उसको शरिरबाट निस्केको रगत उत्तिसको फेदमा वरिपरि ढिक्का जमिसक्यो । शरिरबाट अझै रगत बग्न छोडेको थिएन । (जमिसक्यो कि जमिसकेको थियो ?)

लेखक आफैं पनि साहित्य सम्पादक भएको नाताले यस्ता स-साना कुराहरुमा पनि ध्यान पुर्याउनु पर्थ्यो । यस मामिलामा भने लेखक र सम्पादक दुवै चुकेका हुन कि ?

तर यती भनिरहँदा यो किताबले नेपाली कथा विधामा धेरै समयदेखि रहेको कमजोरिलाई केही हदसम्म पुर्ने काम चाहिँ गरेको छ । सिधा सिधा भन्दा नेपाली कथा क्षेत्रमा एउटा उदाहरणीय पुस्तक निकालेका छन्, जिके पोख्रेलले । यसले आम पाठकलाई निराश पक्कै बनाउने छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata